शेयरकाे मूल्य बढाउन यसरी हुन्छ चलखेल – Nepal Press

शेयरकाे मूल्य बढाउन यसरी हुन्छ चलखेल

कौडीको भाउमा पाइन्छ दुई दर्जन कम्पनीको शेयर

काठमाडौं । कहिले घट्ने र कहिले बढ्ने शेयर बजारको स्वाभाविक प्रवृत्ति हो । तर, पछिल्लो लामो समयदेखि शेयर बजारले अपेक्षित गति लिन सकेको छैन । बजार घटे पनि कहिले कुन समूह त कहिले कुनमा लगानीकर्ता झुम्मिएको तथ्यांक नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा देखिन्छ ।

कतिपय सन्दर्भमा कमजोर वित्तीय अवस्थाका कम्पनीको शेयर मूल्य पनि उचालिएको हुन्छ । आखिर यस्तो किन हुन्छ ? बजार कुनै समूहले होइन, मिश्रित कम्पनीले लिड गर्नुपर्ने होइन र भन्ने प्रश्न पनि उठ्नसक्छ । तर, शेयर बजारमा समूह विशेषले एक दिनको कारोबारलाई लिड गरेको हुन्छ ।

यसको उदाहरणको रुपमा बैशाख २० मा बजार घट्दा पनि लघुवित्त समूहमा लगानीकर्ता आकर्षित भएको देखियो । बजार बढ्ने उत्कृष्ट दशको सूचीमा लघुवित्त कम्पनी नै रहे । योमात्र होइन कहिले जलविद्युत त कहिले बैंकिङलगायतका समूहले बजार लिड गर्छन् ।

यसअघि फाइनान्स समूह बढ्यो, यसबाट ट्रेडरहरुले नाफा बुक गरे । त्यसपछि विकास बैंक समूहमा आकर्षण देखियो । यसमा पनि नाफा बुक गर्दै अहिले लगानीकर्ता माइक्रोफाइनान्स समूहमा आकर्षित भएको देखिन्छ । यस्तो हुनुमा लगानीकर्ताहरुको चलखेलले भूमिका खेल्ने बताइन्छ ।

नेप्सेका एक अधिकारी पनि सेक्टरवाइज शेयर मूल्य बढाउन लगानीकर्ताहरुले चलखेल गर्ने स्वीकार्छन् । कतिपय अवस्थामा ठूला लगानीकर्ताहरुले अर्डर धेरै गरेको गरेयै गर्ने र शेयर मूल्य बढाउने, कतिपय अवस्थामा समूहमा आज यसको मूल्य बढाऔं भनेर सोहीअनुसार रणनीति बनाउने र कतिपय अवस्थामा सामाजिक सञ्जाल वा मिडियामार्फत अफवाह फैलाएर बजार बढाउने वा घटाउने चलखेल हुने ती अधिकारी बताउँछन् ।

निहित स्वार्थ बोकेका समूहले शेयरमा चलखेल गर्ने परम्परा नेपालमा मात्र नभएर विश्वभरकै पूँजी बजारमा हुन्छ । विश्वभर नै हुने समान चलखेल भनेका इन्साइडर ट्रेडिङ, शेयर कर्नरिङ र अफवाह फैलाउने हुन् । विभिन्न खालका ट्र्याप फालेर पनि बजारमा चलखेल हुने गर्छ ।

मानौं, शेयर बजारमा कुनै एउटा सूचीकृत कम्पनीको शेयरलाई लिएर कुनै एउटा समूहले चलखेल गर्न खोज्दैछ, चलखेल गर्ने कुनै लगानीकर्ता वा कुनै ब्रोकर कम्पनी हुनसक्छ । धेरै पैसा लिएका मानिसहरुले यस्ता चलखेल गर्न सक्छन् ।

‘हामीले अनलाइन मार्केट डेप्थ हेर्छौं, तर सर्वसाधारणले मार्केट डेप्थमा हेर्दैनन्, खालि खरिद र बिक्री चापमात्र हेर्ने गर्छन् । यी दुई कुरालाई मात्र ध्यान दिँदा ट्र्यापमार्फत चलखेल हुनसक्छ । खेलाडीहरुले आफू अनुकूल मूल्य बढाउन वा घटाउन खोजिरहेका हुन्छन्’, विश्लेषक केशव श्रेष्ठ भन्छन् ।

उनी थप्छन्, ‘यदि कसैलाई बिक्री गराउनु छ भने उसले लाखौं कित्ता बिक्री नै नहुने दर अर्थात महँगो मूल्य राखेर टीएमएसमा हालिरहेको हुन्छ । मानौं कुनै कम्पनीको शेयर मूल्य २०० रुपैयाँ बजारमा चलिरहेको छ भने २ प्रतिशतसम्म तलमाथि हुन्छ । यदि कसैले २०४ रुपैयाँमा ५० हजार कित्ता हालिदियो भने त्यो झूट (फेक) भयो । अनि उसले काउन्टर आदेश पनि हाल्छ । आफ्नो कारोबार भएपछि सो रकम स्वाट्ट मेटाउँछ ।’

शेयर बजारका साना लगानीकर्ता यस्ता खालका ट्र्यापका शिकार हुने उनको भनाइ छ ।

कौडीको भाउमै शेयर

शेयर बजारले गति लिन नसक्दा केही कम्पनीको शेयर कौडीकै भाउमा पाइन थालेको छ । विशेष गरी जलविद्युत कम्पनी र वाणिज्य बैंकहरुको शेयर मूल्य निकै घटेको छ । ८ वटा वाणिज्य बैंकको शेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । ८ वटा जलविद्युत कम्पनीको शेयर मूल्य पनि न्यून छ । २०८० असार १८ गते २३६ रुपैयाँ शेयर मूल्य रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य पनि अहिले १९८ रुपैयाँ ६० पैसामा झरेको छ, तर यसको शेयर मूल्य ५०० रुपैयाँभन्दा माथि पुगेको थियो । निफ्राको पहिलो कारोबार नै ३४० रुपैयाँबाट खुलेको थियो, तर अहिले त्यही ओपन रेन्ज बराबर पनि शेयर मूल्य छैन । यसको २०७७ फागुनमा १० प्रतिशतका दरले शेयर मूल्य बढेको थियो ।

आईपीओकै लेभलमा छन् वाणिज्य बैंकको शेयर मूल्य

न्यूनतम ८ अर्ब चुक्ता पूँजी हुनैपर्ने वाणिज्य बैंकहरुको शेयर मूल्य अत्यन्तै न्यून छ । त्यसमा पनि ८ वटा वाणिज्य बैंकको शेयर मूल्य झन कौडीकै भाउमा पाइने अवस्था छ । ग्लोबल आईएमई बैंकको २०८० साउन १ गते २२२ रुपैयाँ १७ पैसा शेयर मूल्य थियो । अहिले यसको शेयर मूल्य १८० रुपैयाँ छ । तेस्रो त्रैमासमा अधिकांश बैंकहरुको नाफामा संकुचन आएको छ, जसले वितरणयोग्य नाफा पनि प्रभावित छ ।

कसको कति छ मूल्य ?

सबैभन्दा कम शेयर मूल्य भएका जलविद्युत कम्पनी

नेपाली पूँजी बजारमा शेयर मूल्य सर्वाधिक उतारचढाव हुने समूहमा पर्छ, जलविद्युत । यो समूहका केही कम्पनीको शेयर मूल्य पनि आईपीओकै लेभलमा छन् ।


प्रतिक्रिया

One thought on “शेयरकाे मूल्य बढाउन यसरी हुन्छ चलखेल

  1. यी सबै शेयरमूल्य घट्नुमा शेयर दलाल कर्नर गर्ने लगानी कर्ता र मन्त्री गभर्नर र सरकारको निति हो सच्चाउनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर