के हो प्रगतिशील शिक्षा ?
मेरो एउटा साथी हुनुहुन्छ । उच्च शिक्षा हासिल गर्नुभएका उहाँले काठमाडौंका (अझ भनौं विदेशका समेत) तमाम अवसरहरुलाई तिलाञ्जली दिएर लाग्नुभो गाउँतिर कृषि कर्म गर्न । सर्लाहीको पल्लो छेउको गाउँमा एकदिन भेट्न पुग्दा हर्मन हेस्से लिखित ‘सिद्धार्थ’ को गोबिन्द भन्ने पात्र जस्तै लाग्यो मलाई उहाँ । अत्यन्त सामान्य, सरलर मृदुभाषी । उहाँको आँखा र मुहारमा आत्मा सन्तुष्टिको अनौठो चमक देखिन्थ्यो । फार्मका केरा-भुइँकटर आदि जति खाए पनि पाइने, पेट भरिए पनि मन नअघाउने । निकै महँगो पर्लान् जस्तो लागेका त्यो कृषि फार्मका केरा प्रतिदर्जन ३६ रुपैयाँमा बेच्ने गरेको बताउनुभयो साथीले ।
३६ मा बेच्दा घाटा पर्दैन ? तपाईंको फार्ममा त अर्गानिक नै हुन्छ नि होइन र ? अर्गानिक त महँगो पर्नु पर्ने हो ? मैले एकसाथ तीन जिज्ञासा राखें ।
उहाँले सरल उत्तर दिनुभयाे, ‘अर्गानिक त होइन, बरु सबै फलफूलहरु प्राकृतिक चाहीँ हुन्, त्यसैले यसमा कुनै खर्च नै आउँदैन । मल गाईको, बिउ यही फार्मको, श्रमिक म आफैं, बारी आफ्नै । तपाईंले रु. १ दिनुहुन्छ भने पनि शतप्रतिशत नै नाफामा गणना गर्नुपर्ने हुन्छ ।
म अचम्भित भएँ । मजस्ता हजारौं राजधानीवासीले बुझ्न सक्ने कुरो थिएन यो । तर एउटा कुरा चाहीँ बुझ्न सजिलो भयो कि कुनै पनि बस्तु असली हुँदैमा महंगो नै हुनुपर्ने होइन रहेछ ।
तैपनि प्रश्न तेर्स्याएँ, ‘जे भए पनि उत्पादनका साधनको लागत जोड्दा त महँगो नै पर्ला नि ?’
‘हैन’, उहाँले भन्रुभयाे, ‘सबै जोड्दा पनि रु. ३० कट्दैन, तर रासायनिक मल, बिउ, किटनाशक हाल्ने हो भने मैले पनि ८० रूपैयँ भन्दा कममा दिन सक्दिनंँ ।
यहाँनेर दुइ वटा प्रश्न सबैको मनमा स्वाभाविक रुपमा उठ्न सक्छ, पहिलो, के उहाँले पाउनुभएको शिक्षा जीवनोपयोगी शिक्षा थियो ? के उहाँको फार्मका असली फलफुल सस्तो भएजस्तै असली वा जीवनोपयोगी शिक्षा पनि सस्तो नै हुन सक्ला त ?
शिक्षण विधि र पाठ्यक्रममा व्यापक परिवर्तन हुनु पर्यो र शिक्षालाई जिवनोपयोगी र देशको माटो सुहाउँदो बनाउनुपर्यो भनेर आवाज उठेको पनि दशकौं भइसक्यो । हाम्रा युवाहरु विदेशीका कामदार मात्र हुने भए, जसले गर्दा न त समाजलाई र उनीहरुको परिवारलाई कुनै फाइदा भयो । न त उनीहरु स्वयमकाे नै आत्मसम्मान बाँकी रहने भयो । त्यसैले शिक्षा नीति र पेडागोजीमा बदलाव हुन नितान्त जरुरी छ । त्यस सन्दर्भमा प्रगतिशील शिक्षा के हो त? आजको बहस त्यसमै केन्द्रित छ ।
बीबीसी रेडियोले प्रशारण गरेको एउटा अनुसन्धानलाई बिश्वास गर्ने हाे भने दक्षिण एसियाका प्रायजसो देशहरुमा बिद्यार्थीलाई घोकाउने र ग्रेड (नम्बर) मा आधारित पढाईलाई जोड दिने तर खेलकुद र अन्य सृजनशील क्रियाकलापलाई महत्व नदिने भएकोले बालबालिकाको सृजनात्मकता गुम्न गइ उनीहरु भविष्यमा गएर जागिरमुखी र लोसे हुन् पुग्दछन् । दक्षिण एसियामा उद्योग, कलकारखाना ज्यादै कम हुने र बैज्ञानिकआविष्कार समेत नहुनमा यही रटन्ते शिक्षाको दोष भएको त्योअनुसन्धानको निर्क्याेल थियो । सबैले जागिर नै खोज्ने भएपछि दिने चैं कसले ?
यहाँका राम्रा बिद्यालयहरुले समेत विदेश जाने बिद्यार्थीको संख्या गनेर तथा रटेकै आधारमा डाक्टर, इन्जिनियर, सिए, वकिल पढ्नको लागि नाम निकाल्ने बिद्यार्थीको संख्या देखाएर आफ्नो शैक्षिक संस्थालाइ अब्बल भन्ने गरेको समेत त्यो रिपोर्टको आंकलन थियो । त्यसो त ती डाक्टर तथा इन्जिनियरहरु समेत राम्रो रोजगारीको अभावमा विदेशतिरै हानिने गरेको हामीले देखि-जानेकै कुरा हो ।
शिक्षणका ४ तहगत बिधिहरु छन् । १. घोकाउने, पढाउने ३. सिकाउने तथा ४. प्रश्न सोध्ने तथा जिज्ञासु बनाउने । हाम्रो शिक्षा प्रणालीले कुन तह अवलम्बन गरिराखेको छ होला ? तल चर्चा गरिएको अनुसन्धानको निस्कर्षलाई यी पढाइका तहहरुसँग केही हदम्म भए पनि जोड्न सकिन्छ ।
उक्त अध्ययनले जनाए अनुसार, बिद्यालय शिक्षामा भर्ना भएका मध्ये ७०% ले परीक्षा पास गर्नको लागि पढ़दछन् । वा भनौं घोक्छ्न् । तिनीहरुमध्ये कतिपयले त पास समेत गर्न सक्दैनन् र सामान्यतया ती सबैले निर्वाहमुखी र कठिन जीवन बिताउनु पर्ने हुन्छ । अर्को २५% ले पाठ्यक्रममा भएको कुरा बुझ्नको लागि पढ्छन् जसले भविष्यमा गएर राम्रो र स्थाई जागिर पाउँछन् र जीवन तुलनात्मकरुपमा सहज हुन्छ । तर जीवनको बहुआयामिक पक्षलाई उनीहरुले बुझ्नन नपाउन सक्छन र जीवन निरस हुनसक्छ ।
अर्को ४% पढेको कुरालाई आफ्नो जीवनमा अपनाउने खालका हुन्छन्, त्यसैले उनीहरु व्यवसायी र उद्योगी हुन्छन् । उनीहरुको जीवन बढी आयामिक, चुनौतिपूर्ण र स्वतन्त्र हुन्छ । र अन्तिम १% ले पढाइबाट प्राप्त ज्ञानमाथि नै धावा बोल्छन् । किताबमा लेखेका ज्ञान, शिक्षकले दिएका ज्ञान वा ज्ञान प्रवाह गर्ने तौर-तरिका सबैमा उनीहरुको प्रश्नै प्रश्न र शंका हुन्छ । हो, यिनै मानिसहरु पछि गएर दार्शनिक, कलाकार, चित्रकार, बैज्ञानिक, सर्जक, राजनीतिज्ञ (देशलाई उँभो लाउने खालका मात्र ) वा योगी हुन्छन् । दिमाग बढी चल्ने भएकोले दिमागलाई नियन्त्रण गर्न सकेनन् भने कोही-कोही जोगी पनि हुन सक्छन् ।
हिजो–आज हाम्रो जस्तो विकासशील देशमा समेत प्रगतिशील शिक्षा, जीवनोपयोगी शिक्षा, व्यवहारिक शिक्षा, प्रयोगात्मक शिक्षा, निरन्तर सिकाइ शिक्षा वा ‘प्रोग्रेसिभ एजुकेशन’ जस्ता शब्द (जार्गन) को निकै प्रयोग हुने गरेको छ । प्रगतिशील शिक्षाको त्यस्तो सर्वमान्य परिभाषा त छैन तर नेपालमा पनि केही शैक्षिक संस्थाले प्रगतिशील शिक्षा आफुले दिइराखेको बताउने गरेका छन् । यो शिक्षा व्यवहारिक ज्ञान दिने खालको हुने भएकोले निकै महंगो पर्नजाने बताउँदै त्यस्ता विद्यालयहरुमा अन्य विद्यालयहरुमा भन्दा कम्तिमा ३ गुणा देखि दशाैँ गुणासम्म महँगो शुल्क लिने गरिएको छ । तर प्रगतिशील शिक्षा वास्तवमै महँगो पर्न जाने हो त ? यो प्रश्नको उत्तर खोज्न जरुरी छ ।
जिवनोपयोगी शिक्षा वा ‘प्रोग्रेसिभ एडुकेशन’ भनेको आफ्नो जीवन जीउनलाई चाहिने ज्ञान लिने-दिने प्रकृया हो । जस्तो कि बालबालिकालाई कसरी सफा-सुग्घर बस्ने, कसरी खाने,कसरी निरोगी वा स्वस्थ रहने, कसरी ज्ञान, शिप, कला र मिहिनेतबाट जिविकोपार्जन गर्ने, कसरी सिर्जनशील भएर नयाँ नयाँ काम र शृजनाहरु गर्दै आफ्नो जीवन र समाजलाई समेत योगदान गर्ने ? कसरी अरुको भावनामा चोट नपर्ने र सबैलाई बरोबर पर्ने गरी सम्मानजनक व्यवहार गर्ने ?
त्यस्तै जीवनले दिएको कर्म र उपलब्धिलाई कसरीसहज स्वीकार गर्ने ? सँधै खुसी रहन कोही पनि नसक्ला, तर शान्त भएर घटनालाई सहजताका साथ लिन सक्ने कला मात्र पनि शिक्षाले दिनसक्यो भने एक युवाले जीवनको लयलाई सरल र सन्तुलित बनाउन सक्छ ।
मनमा प्रश्र उब्जन सक्छ कि, सँधै सफा-सुग्घरको नै पाठ पढाउने ? सँधै कसरी खाने, सफा बस्नेजस्ता आधारभूत कुरा मात्रै सिकाउने बिद्यालयमा ? जबकि यस्ता कुराहरु त घरमै पनि सिकिन्छ नि ! यही हो त जीवनोपयोगी शिक्षा ?
टक्कै यही त होइन, तर लेखकको बुझाइमा यस्तै यस्तै नै हुनुपर्छ,जिवनोपयोगी शिक्षा । यद्यपि पढाउने तरिका र पाठ्यक्रममा भने बिज्ञ व्यक्ति बसेर अध्ययन अनुसन्धान गरेर तयार गरिनुपर्छ । जस्तो कि कक्षा १ मा आफ्नो पढ्ने कोठा र सुत्ने कोठा कसरी सफा गर्ने भन्ने सिकाउन सकिएला भने कक्षा ५ मा आफ्नो घर र बिद्यालय कसरि सफा राख्रने भन्ने सिकाउनु ठिक होला । त्यस्तै कक्षा १० को पाठ्यक्रममा आफ्नो समाज र देशलाई नै कसरी दिगोरुपमा सफा, स्वच्छ र हराभरा राख्ने भन्ने कुरा सिकाउनु बेस होला ।
यस्ता जीवनोपयोगी कुराहरुको गहिरो ज्ञान प्राप्त गर्न सक्ने मानिसले यिनै कुराबाट सयौं प्रकारका उद्योग, इलम र रोजगारीको सृजना गर्न सक्छ । सन् २०२१ मा सफा सुग्घरको व्यवसायबाट युरोपमा लगभग ४० लाखले रोजगारी पाएका थिए । त्यही सालमा बेलायतमा ६९ हजार भन्दा बढी सफाई सम्बन्धि व्यवसाय थिए । सन् २०१९ मा बेलायतमा सफाइ सम्बन्धि व्यवसायले कुल राष्ट्रिय उत्पादनमा लगभग १ खरब रुपैयाको योगदान गरेको देखिन्छ ।
हामी फ्रुटी खायौं भने त्यसको खोललाइ लात्तीले पड्काएर हिड्छौं । कुरकुरे, लेज, चकलेट होस् वा पिउने पानीको बोतल, खाइसकेपछि सिधै हुँइक्याई दिन्छौं, चाहे अरुको शरीरमै किन नपरोस् । सफाइसम्बन्धी कामले आफ्नै उद्योगमा मात्रै रोजगारी दिने होइन कि अन्य उद्योगलाई समेत निकै ठुलो योगदान दिन्छ । काठमाडौँ सफा र हराभरा हुने हो भने, यहाँका नदीमा ढल नबगेर कन्चन पानी बहन्थ्यो भने कति धेरै पर्यटकयहाँआउथे होलान् ? हस्पिटालिटी र सवारीको व्यवसायमा पनि पक्कै बढोत्तरी हुन्थ्यो होला । नागरिकको स्वास्थ पनि त राम्रो हुन्थ्यो नि ।
जापानको कुरा गर्ने हो भने ‘प्लेग्रुप’ मा भर्ना हुन आएका कलिला केटाकेटीले शुरुको ६ महिनासम्म आफ्नो कक्षा कोठा कसरी सफा राख्ने, सफा र चम्किलो कक्षा कोठा बनाउनको लागि कसरी समुहमा काम गर्ने, भनेर सिकाइने रहेछ । जापानका प्रायजस्तो ‘स्कूल’ हरुमा हरेक ‘क्लास’ मा कक्षाकोठामै खाना बाँड्ने, खाने, भाँडा माझ्ने, बोर्ड सफा गर्ने तथा पुरै बिद्यालय विद्यार्थीले नै सफा गर्ने रहेछन् ।
हाम्रा योजनाकारहरू र नेताहरुले यी कुराहरु स्कूलमै सिकेका भए आफैंले शासन गर्ने कान्तिपुर नगरीका अध्यात्मिक नदीहरुलाई ढलमा तब्दिल भएको टुलुटुलु हेरेर बस्न पक्कै सक्दैनथे होला ।
अनि खाना सम्बन्धि पनि त व्यवहारिक शिक्षा हुन्छ नि । जस्तो कि सानो कक्षामा स्वस्थ खाना कस्तो हो र खाना कसरी खाने भन्नेसम्म सिकाउन सकिएला तर बिस्तारै खानाले कसरी हाम्रो स्वस्थ जीवन र राम्रा बिचारको निर्माणको लागि योगदान गरिराखेको हुन्छ भन्ने जान्न जरुरी होला । कृषिको तहसम्म नै गएर, कसरी ठुलो परिमाणमा स्वास्थ्यवर्द्धक खाना उत्पादन गर्ने र कसरी भोजन तयार गर्ने जस्ता कुराहरु पनि बिस्तारै माथिल्ला कक्षाहरुमा बुझ्दै गएर, कुन कुन खानाले हामीलाई सबल र तन्दुरुस्त राख्छ र कस्तो खानको मिश्रणले हामीलाई हानी गर्छ भन्ने पनि जान्न आवश्यक छ । यो सब सिकेको पुस्ताले नाफाखोर हुनको लागि मानिसको स्वास्थमा नकारात्मक असर गर्ने खालका रसायन खेतबारी र खानामा पार्दैनथ्यो कि ?
‘खाना प्रसोधन तथा प्याकेजिंग’ उद्योगले विकसित देशहरुको अर्थतन्त्रको एउटा ठूलो हिस्सा ओगट्छ । धेरै नेपालीहरुले बिदेशमा गएर सोही उद्योगमा रगत पसिना बगाएको धेरै सुनिन्छ । सन् २०२२ मा युरोपमा खाना तथा पेयसम्बन्धि उद्योगमा ४६ लाख मानिसले रोजगारी पाएका थिए भने यो उद्योगले युरोपमा ११ खरब युरो ( १५४०खरब रुपैया) को कुल कारोबार गरेको थियो ।
हामीलाई यो सब कथा जस्तो मात्र लाग्छ । हाम्रो देशमा यो कत्ति पनि सम्भव हुँदैन जस्तो लाग्छ । किन यस्ता उद्योग खुल्दैनन् यहाँ ? किनकि हामी हाम्रा बिद्यालयमा यस्तो उद्यमशीलताको बारेमा कहीँ कतै पनि पढाउदैनौ । ‘चौधरी चाचाको चाउचाउ छँदैछ त !’ भन्ने पुस्ताको हातमा देश हुँदासम्म शिक्षा प्रणाली बदलिने छाँट देखिंदैन ।
अमेरिकामा कति सफा छ त हामीले हाम्रा युवालाई पक्कै बतायौं तर नेपाललाई कसरि सफा र सुन्दर राख्ने कुरा बताउन सकेनौ । त्यसैले त्यही सफा र सुन्दर खोज्दै लागे उनीहरु उतैतिर ।
मेरो एकजना मित्रले अमेरिकामा जैविक फोहोरबाट कसरी विद्युत, जैविक मल र इन्धन (बायो इनर्जी ) निकाल्न सकिन्छ भन्ने कुरामा बिद्यावारिधि गर्नु भयो । के हामी उहाँलाई नेपाल फर्काउन सक्छौं त ? वहाँको जरुरत नेपालमा बढी छ कि अमेरिकामा छ ? वहाँ नेपाल फर्कनु हुन्न किनकी हामीले त्यो पढाएनौं वा चाहेनौं। फेरी विद्वानहरुलाई नेपालमा फर्काउने बातावरण बनाउनु पनि त भएन नि ? उनीहरु फर्के भने त काम गर्न खोज्छन् नि ली क्वान युले सिंगापुरमा जस्तो ।
दक्षिण कोरिया, सिंगापुर, चीन वा अहिलेको भारत नै किन नहोस, कि बिदेशी लगानी कि बिदेशी सीप सिकेका आफ्ना प्रवासी नागरिकलाई आकर्षित गरेर नै आफ्नो देशको विकासको जग हालेको देखिन्छ । तर हामीले न त आफ्ना नागरिकलाई आफ्नो देश बनाउने महान कार्यमा स्वदेश बोलाउन सक्यौं न त लगानी गर्न बाकसमा पैसा बोकेर आउने विदेशीलाई नै विश्वासमा लिन सक्यौं । अनि यो बिषयमा संवेदनशील र चनाखो भएर योजना तर्जुमा गर्ने र कार्वान्यन गर्न सक्ने नागरिक तयार पार्ने काम पनि उपर्युक्त शिक्षा प्रणालीबाट नै हुने होइन र ?
तर हामीले विदेशबाट फर्काएका नागरिकको सानो सर्वेक्षण गर्यौं भने के कुरा देखिन्छ भने उनीहरु योजना बनाउन वा देशको लागी दिर्घकालिन योजना बुन्नभन्दा दिएका कामहरु गर्नमा बढी प्रभावकारी देखिएका छन् । यो कुरा नेपाल र भारतमा विदेशबाट फर्किएका विद्वानहरु जसलाई जनताले पनि पत्याएर योजना बुन्ने वा निर्णय गर्ने तहमा नै पुर्याए, उनीहरुले त्यति ठुलो धक्का दिन नसकेको देखेर नै बुझ्न सकिन्छ ।
बालबालिकालाई सानैदेखि कसरी अनुसन्धानमुलक शिक्षा दिने भन्ने प्रश्नको उत्तरमा प्रोग्रेसिभ शिक्षाको क्षेत्रमा नाम कमाएको एउटा विद्यालयका प्राचार्य भन्नु हुन्छ कि ‘यदि उनीहरुलाई हामीले गुरुहरु उत्तर ब्यांक होइनन् भन्ने मात्र बताउन सक्यौं भने पनि उनीहरु आफ्ना जिज्ञासा आफैं शान्त पार्न लाग्छन्, खोज अनुसन्धानको माध्यमबाट ।’
‘कक्षा ३ का बालबालिकालाई प्रदुषण बारेमा पढाउनुपर्यो भने हामी प्रदुषणको परिभाषाबाट शुरुवात गर्छौं तर उनीहरुलाई परिभाषा होइन त्यसको धारणा चाहिएको हो । मानिसले उत्सर्जन गर्ने धुवाँ, मलमुत्र, फोहोर पानी आदि–आदि नै प्रदुषणका श्रोतहरु हुन् । पानी, हावा वा माटो प्रदुषित भयो भने वातावारण प्रदुषित हुन्छ । त्यो कुरा उनीहरुले आफैंले अवलोकन गरेर वा गुगल गरेर पनि पत्ता लगाउन सक्छन् तर उनीहरुलाई खोज्ने र स्वअध्यन बानीको लागि स्कूलले काम गरे पुग्छ ।’
प्रोग्रेसिभ शिक्षाका बारेमा ठुलै बहस चलाउन जरुरी छ । यसै बिषयमा थप छलफल पछिल्ला अंकमा पक्कै गरौंला । यस छलफलमा विद्वान पाठकहरुले पनि भाग लिनुभयो भने अझ जीवन्त र प्रभावकारी हुने देखिन्छ ।
कति गजब लेख ! यो लेख सबै नीति निर्माताले पढ्ने र नीति बनाउने अनि सबैले लागू गर्नुपर्छ ! यति गर्न सके शिक्षाका धेरै उद्देश्य पूरा हुन्छन् ।