सुनकोशी- मरिण डाइभर्सन सुरुङ मार्गको आज ब्रेक थ्रु
काठमाडौं । सुनकोशी मरिण डाइभर्सनको आज सुरुङमार्ग ब्रेक थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रू गर्दैछन्। उनी हिजै सिन्धुली पुगिसकेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।
रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ ।
यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनेछन् ।यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रुपमा हेरिएको छ ।
सुनकोशी-मरिण डाइभर्सनको कुल लम्बाइ १३.३ किलोमिटर रहेको छ ।
सुरुङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले बताए । उनले भने, ‘केही समय भौगोलिक समस्या देखिएर काम रोकिएको थियो । नरोकिएको भए १९ महिनाभन्दा पहिले नै सकिने थियो । सुरुङको ब्रेक थ्रु भए पनि अन्य काम पूरा गर्न अझै करिब १ वर्ष लाग्ने छ ।’
आयोजनाको काम २०७९ असोज २८ गते सुरु भएको थियो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ ।
सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सुरुङको ब्रेक थ्रु हुन लागे पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ । विसं २०८४ असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विद्युत प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोशी(मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई ९०० मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ ।
बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।
सुनकोशी गाउँपालिका-७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा लगिनेछ ।
सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका( २ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ हुनेछ ।
एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर विश्व रेकर्ड राख्ने विषयमा समेत आयोजनाले छलफल गरिरहेको छ । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेकाले रेकर्डको लागि पहल भइरहेको बरालले बताए ।
बरालले भने, ‘जेठमा मात्रै १.२ किलोमिटर सुरुङ मार्ग खनेको र विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ । हामीले विश्वमा यस्तो भौगोलिक ठाउँ भएको स्थानमा यसरी सुरुङ खनिएको छ वा छैन भनेर खोजिरहेका छौं । अहिलेसम्म कुनै देशले यस्तो भौगोलिक संरचना भएको ठाउँमा यति छिटो खनेको पाएका छैनौं ।’
सो आयोजनाको सुरुङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । सो कम्पनीले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गरेका थिए । आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, वृद्धि भएर अहिले ४९ अर्ब ४२ करोड पुगेको बरालले बताए ।
हालसम्म आयोजनामा १३ अर्ब खर्च भएको छ र ३० प्रतिशत भौतिक प्रगति भएको छ । गत आवमा ५ अर्ब ४१ करोड खर्च भएको थियो ।
बागमती सिंचाइ आयोजनाबाट सिंचाइ भइरहेको रौतहट र सर्लाहीको ४५ हजार ६०० हेक्टर र बारा, रौतहट, धनुषा र सर्लाही गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिंचाइ पुर्याउने आयोजनाको उद्देश्य छ । आयोजनाबाट ३१।०७ मेगावाट विद्युतसमेत उत्पादन गर्ने उद्देश्य लिइएको छ ।