‘बोरा’: आमालाई त्याज्य बनाउने नेपाली एलिटहरुको कथा
काठमाडौं । झापामा आमाले सिमेन्टका बोरा बोकेर पढाएर डाक्टर भएका असल शर्माले बिहे गरेपछि ६८ वर्षकी आमालाई बोरामै हालेर चाबहिल गोपीकृष्ण हल अगाडिको पुलमा छोडिदिन्छन् । काठमाडौंकी रैथाने परिवारमा जन्मेर डाक्टर भएकी निर्जला अधिकारी आफैं भने रुढीवादी छिन्, सासूआमा यमुनालाई बोक्सी उपमा दिन्छिन् । आफ्नी आमा जमुनाको ठाउँमा सौता भएर कमलीकान्त शर्मा अर्ज्यालकी कान्छी श्रीमती भएकी मुनाले सौताकी छोरीलाई सौताको व्यवहार गर्दिनन् । बरु सँगै विद्रोह गरेर देउनिया किनारमा दुःखजिलो गर्छिन् । छोरी यमुनाको कन्यादान गरिन्छिन् ।
धनकुटा, झापाको सुरुङ्गा, महारानी झोडा, चद्रगढी, देउनिया, इटहरी, विराटनगर हुँदै काठमाडौंसम्म फिँचारिएको लेखक तथा सम्पादक अखण्ड भण्डारीको उपन्यासका पात्रको चरित्र परस्पर विरोधी छ, रोचक छ । आज मातातीर्थ औँसीको दिन पढ्न भनेर सिफारिस गर्न लायक छ उपन्यास ‘बोरा’ ।
दशक अगाडि ‘मलाया एक्सप्रेस’बाट आख्यान बजारमा प्रवेश गरेका भण्डारीको आफ्नो ताजा उपन्यासमा पनि पहिलो जस्तै केही समान कुरा गरेका छन् । जस्तैः पहिलो उपन्यासको कथाको क्षेत्रफल कोशी किनारमा फैलिएको थियो । भोजपुरको जरायोटार, इटहरी तथा विराटनगरसम्म फैलिएको कथा थियो ‘मलाया एक्सप्रेस’ । बोराको क्षेत्रफललाई पनि उनले पूर्वी नेपालमै केन्द्रमा राखेका छन् । लेखकले कोशीदेखि मेची क्षेत्रसम्म ‘बोरा’को कथा क्षेत्रफल तन्काएका छन् । ‘मलाया एक्सप्रेस’मा जस्तै उनको उपन्यासको सुखान्त गरेका छन् । निराशालाई आशामा चुलाएर मैजारो गरेका छन् ।
नेपालीहरुको आप्रवासी कामदार भएसँगै जोडिएका दुःखसुखको उपन्यास थियो ‘मलाया एक्सप्रेस’ । ‘बोरा’ भने फरक छ । आप्रवासन त यहाँ पनि छ । तर, त्यो एक पात्र रश्मि नेपालीमै सकिन्छ । उनी अमेरिका काममा होइन, पढ्न जान्छिन् । आप्रवासन उनको फरक छ ।
‘बोरा’ उपन्यास नेपाली एलिटहरुले आमालाई त्याज्य बनाएको मार्मिक कथाहरुको सुन्दर श्रृङ्खला हो । गाउँदेखि शहरसम्मका आमाहरुलाई भिन्नभिन्न कारणले कसरी छोराबुहारीहरुले त्याज्य बनाए भन्ने कथा ‘बोरा’मा छ । जस्तैः धनकुटा जीतपुर क्षेत्रको हुनेखाने परिवारको रुद्रप्रसाद दाहालले प्रेमपत्र लेखेर बिहे गरेको थियो यमुनालाई । पछि चनौटी नामकी विद्याथीसँग बिहे गरेर आमा रुक्मिणीलाई हेप्छ रुद्रप्रसाद ।
नेपाली आमाहरुका दर्दनाक कथाहरुको संग्रह हो ‘बोरा’ । कथा काल्पनिक पनि होइन, सत्य भएको किताबमै लेखिएको छ । भनिएको छ, ‘यो सत्य घटनामा आधारित उपन्यास हो ।’ तर, उपन्यास बनाउने क्रममा पात्र तथा परिवेशमा भने हल्का काल्पनिकता जोडिएको छ ।
यमुनाकै आमा जमुना पनि झापा सुरुङ्गाका धानचामल बेच्नी घराना साहु कमलिकान्त शर्मा अर्ज्यालले सुत्केरी समयमै घर निकालामा परेकी हुन्छिन् । स्वयं आमा भएपछि यमुनाले छोरा असलबाट असल बानी पाउँदिनन् । उनलाई बुहारीको अरनखटनमा लागेर छोराले बोरामा हालेर मिल्काउँछ । बुहारी निर्जलाले पाहुनालाई सासू नभनेर घरेलु कामदारको रुपमा चिनाउँछिन् । यस्ता चित्रण र चित्कार ‘बोरा’मा यत्रतत्र छन् ।
नेपाली आमाहरुका दर्दनाक कथाहरुको संग्रह हो ‘बोरा’ । कथा काल्पनिक पनि होइन, सत्य भएको किताबमै लेखिएको छ । भनिएको छ, ‘यो सत्य घटनामा आधारित उपन्यास हो ।’ तर, उपन्यास बनाउने क्रममा पात्र तथा परिवेशमा भने हल्का काल्पनिकता जोडिएको छ । त्यसबारेमा पनि किताबमै भनिएको छ, ‘पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ ।’
नेपालमा वर्गीय खाडल हुँदा देखापर्ने सकस र त्यसमा पारानोइड पर्सन्यालिटी डिसअर्डर (पीपीडी) भएकाबाट अरनखटन हुँदाका समस्या सामाजिक, वर्गीयदेखि चिकित्सकीय कोणमा देखाइएको छ । मूल उपन्यासको कथाको मियो आमा जमुना र छोरी यमुनाको पीडाका पहाडहरुमा डुल्छ । त्यसमा अरु कथाका मिठासहरु पनि आएका छन् ।
जस्तैः प्रेम राई र ठूलीमाया राईसँग जमुना र उनका पिता मुरलीधर पाध्याको दुई सभ्यताको सेतु रोचक रुपमा देखाइएको छ । वैदिक सनातनी जमुना तथा मुरलीधर पण्डितको परिवार र किराँत सभ्यताका प्रेम तथा ठूलीमायाको पारिवारिक तथा भावनात्मक अनि सांस्कृतिक सहकार्यका रोचक कुरा लेखकले कथाको बीचमा राख्न सफल भएका छन् ।
उपन्यासको सुखद अन्त्य गर्न नाति निर्जलले बोल्ड कदम चालेकाे देखाएर लेखकले उपन्यासलाई चित्ताकर्षक बनाएका छन् । निर्जलको त्यो बोल्ड कदम के थियो ?
उपन्यासको सुखद अन्त्य गर्न नाति निर्जलले बोल्ड कदम चालेकाे देखाएर लेखकले उपन्यासलाई चित्ताकर्षक बनाएका छन् । निर्जलको त्यो बोल्ड कदम के थियो ? ‘बोरा’मा फालिएकी हजुरआमा यमुनालाई ससम्मान घरमा ल्याएर उद्धार गर्दै आमा निर्जला र बाबु असललाई सबक कसरी सिकाए भन्ने पूरा बुझ्न भने यहाँ भन्नु भन्दा उपन्यास पढ्दा नै मज्जा आउँछ ।
उपन्यास कमजोरीरहित भने छैन । जस्तैः पेज १६ र १७ मा चिया खाइरहेको पात्रलाई लेखकले बिर्से जस्तो गरेर अर्को सवालमा कफी भनेका छन् । एक ठाउँमा ‘चियामा सरावरी आँसु मिसाइ’ भनेका लेखकले त्यही सवालमा अर्कोतिर भनेका छन्, ‘कफीले लतपत्याएको लिपिस्टिक सम्याई ।’ २०२० सालको दशक अर्थात आजभन्दा आधा शताब्दी अगाडिको संवादमा नआउने जस्ता शब्द उनले ठाउँ ठाउँमा राखेका छन् । जस्तैः पेज १३४ मा राधिका आन्टी भनिएको छ । काकी भन्ने युगमा आन्टी भनेको सुहाउँदो छैन ।
यस्तै पेज १५२ मा ‘फिल्म हेरे जस्तै लागे’ भनिएको छ । २०२६ ताकाको कथामा फिल्मभन्दा बिजुली पनि गाउँमा नभएर कुपी देखाइएको युगमा त्यति सुहाउँदो देखिँदैन । यस्तै पेज २०० मा २०२० सालको दशकको प्रेमीले ‘प्लिज तेसो नभन’ भनेको होस् वा ‘ओके’ भनेको होस्, त्यति पत्यारलाग्दो देखिँदैन । २३७ पेजमा २०२० सालको दशकमा झापामा कक्षा ९ पढेकी यमुनाले धनकुटाको जीतपुरमा विद्यालय पठाउन नपाएको तर उनका श्रीमानले दश पढेर नजिता नआउँदै पनि शिक्षकको जागिर पाएको पनि बलियो कथन देखिँदैन ।
यी र यस्ता केही प्राविधिक तथा युगअनुसारको प्रसंग नमिलेर केही घच्याघुचुक देखिएको उपन्यास ‘बोरा’को बगाई बाँकी कथामा सलल भएको छ । यसले उठाएको मुद्दा, दिएको सन्देश, जगाएको विद्रोह र मिलाएको एकता सबै सुन्दर छन् । ४७१ पेजको ७०० दामको ‘बोरा’ किन्दा आख्यानका पाठकले खासै पछुताउने ठाउँ छैन । आज मातातीर्थ औँसीको दिन पढ्दा झन रोचक संयोग हुनसक्छ ।