दाेस्राेपटक नेपालकाे विश्वकप यात्रा: घरेलु मैदानमा गरेकाे त्याे `चमत्कार´ !
काठमाडौं । सन् २०२३ नेपाली क्रिकेटका लागि अविस्मरणीय रह्यो । खासगरी फेब्रुअरीदेखि नोभेम्बरसम्मको ९ महिनाको अवधिमा नेपाली टोलीले उल्लेख्य सफलता, चर्चा अनि प्रशंसा बटुलेको थियो ।
विश्वकप लिग- २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नु, एसीसी प्रिमियर कप जित्नु र त्यही कारण एसिया कपमा पहिलो पटक छनोट हुनु तथा १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउनु नेपालका एकपछि अर्को उपलब्धि थियो । यी सबै सफलता नेपालले घरेलु मैदानमा खेल्दै प्राप्त गरेको हो । त्यसको आरम्भ सन् २०२३ को फेब्रुअरीमा नेपालमा आयोजित विश्वकप लिग-२ को श्रृंखलाबाट भएको थियो ।
सन् २०२२ को डिसेम्बरमा नेपाल विश्वकप लिग-२ अन्तर्गतको आफ्नो छैटौं त्रिकोणात्मक श्रृंखला खेल्न नामिबियाको यात्रामा थियो । नेपाल त्यतिबेलासम्म २० खेलबाट केवल १७ अंक जोडेर सहभागी ७ टोलीमा छेटौं स्थानमा थियो । सहभागी टोलीमध्ये शीर्ष ३ टोलीले सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँथ्यो । नामिबियामा घरेलु टोलीसहित नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै थियो ।
नेपालले त्यहाँ खेलेका चारमध्ये ३ खेल हार्यो । एक खेल रद्द भएर अंक बाँड्न पुग्यो । सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि रोहितले पहिलोपटक नेपालको कप्तानी गरिरहेका थिए त्यस प्रतियोगितामा । त्यस श्रृंखलाको नतिजाबाट नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न असम्भव जस्तै बन्यो ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रक्षा गर्न नसकेमा नेपाली क्रिकेट सम्हालिरहेको नयाँ पुस्ताको अगाडिको यात्रा अँध्यारोतर्फ धकेलिने पक्का थियो । पुराना खेलाडीका रुपमा सोमपाल कामी र करण केसीमात्र टोलीमा थिए । अधिकांश खेलाडीले सन् २०१८ यतामात्र नेपालका लागि खेलिरहेका थिए । माथिल्लोस्तरको क्रिकेट प्रतियोगितामा टिकिरहन एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अनिवार्य शर्त थियो ।
त्यसको दुई महिनापछि नेपालले घरेलु मैदानमा विश्वकप लिग-२ को अर्को श्रृंखला खेल्नुअघि नेपाली क्रिकेट सम्हाल्न भारतबाट प्रशिक्षक मोन्टी देसाई आइपुगे । थुनामा रहेका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश गरेपछि उनी पनि राष्ट्रिय टोलीका लागि उपलब्ध भए ।
देसाईको ह्याप्पी ड्रेसिङ रुम अवधारणामा सन्दीपसहितको नेपाली टीमलाई एकताबद्ध हुन समय लागेन । सन् २०२३ को फेब्रुअरी १४ बाट सुरु भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले चारवटै खेल जित्यो । स्कटल्यान्डले सोही श्रृंखलाबाट प्रतियोगिताको विजेता बन्ने पक्का गरेको थियो । सोही टोलीविरुद्ध प्राप्त दुवै जीत नेपालका लागि सामान्य थिएन ।
त्यसपछि नेपालले विश्वकप लिग-२ कै अर्को श्रृंखला यूएई पुगेर खेल्दै त्यहाँ चारमध्ये ३ खेल जितेको थियो । लगत्तै नेपाल फर्किएर विश्वकप लिग-२ कै आफ्नो अन्तिम श्रृंखलामा पपुआ न्युगिनी र यूएईविरुद्ध उत्रियो । यो श्रृंखलामा नेपालले सुरुका दुई खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि निश्चित गरेको थियो । बाँकी दुई खेल जितेर विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनायो ।
यी दुइटै सफलताले नेपाली टोली उच्च मनोबलमा देखियो । सोही वर्षको अप्रिल अन्तिम साता घरेलु मैदानमै आयोजना भएको एसीसी प्रिमियर कप नेपाली टोलीले जितेर पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो । यही सफलताले भारत र पाकिस्तान जस्ता टीमका पहिलो रोजाइका खेलाडी सम्मिलित राष्ट्रिय टोलीसँग खेल्न पाउने नेपाली खेलाडीको सपना पूरा भयो । सन्दीप प्लेयर अफ दी सिरिज घोषित भएका थिए ।
त्यसको ६ महिनापछि नेपालले आईसीसी टी-२० विश्वकपको एसियाली छनोट खेल्नुपर्ने थियो । सन् २०१४ मा पहिलो पटक यो प्रतियोगिता खेलेको नेपाल त्यसयता छनोट हुन सकेको थिएन । यसपटक नेपालले छनोट प्रतियोगिता पनि घरेलु मैदानमै खेल्न पाउँदै थियो । एसियाली छनोटको शीर्ष दुई टीम सोझै विश्वकपमा पुग्ने भएकाले नेपाललाई विगतभन्दा सहज थियो । ८ टीम सहभागी प्रतियोगितामा नेपालले सुरुका दुई खेल जितेर सेमिफाइनलमा स्थान बनायो । अन्तिम खेलमा ओमानसँग पराजित भएकाे नेपालसामु विश्वकपमा स्थान बनाउन सेमिफाइनलमा यूएईलाई हराउनुपर्ने चुनौती तेर्सियो ।
मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पहिला ब्याटिङ गरेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो । कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिएका थिए । यस्तै सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चिएर २ विकेट हात पारे । आसिफ शेखको ६४ र रोहित पौडेलको ३४ रन योगदानमा नेपालले १७ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो । आसिफ प्लेयर अफ दी म्याच भएका थिए ।
त्यसको एक वर्षअघि ओमानमा आयोजित विश्वस्तरको छनोटमा नेपालले यूएईसँग हार व्यहोरेर विश्वकपमा स्थान बनाउन चुकेकाे थियाे। तर, त्यसपछि नेपालले हरेक पटक निर्णायक घडीमा यूएईलाई नै हराएर सफलता हात पार्ने संयोग बनिरहेको छ । घरेलु मैदान नेपालका लागि सन् २०१४ को विश्वकपमा पनि छनोट हुने आधार थियो ।
सन् २०१३ मा नेपालमै आयोजित एसीसी टी-२० कपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यही फाइनल यात्राले नेपाल विश्वस्तरको छनोटमा पुगेको थियो । विश्वस्तरको छनोटमा १६ टोली सहभागी भएकामा नेपाल ८ टोली सहभागी आफ्नो समूहमा तेस्रो भएको थियो । त्यसपछि क्वाटरफाइनलमा हङकङलाई हराएर विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
विश्वस्तरको छनोटबाट ६ टोली विश्वकपमा पुग्छन् । नेपालले पहिला ब्याटिङ गरेको हङकङलाई १४३ रनमा सीमित गरेको थियो । जीतेन्द्र मुखियाले ३ र अविनाश कर्णले दुई विकेट लिएका थिए । नेपालले अन्तिम बलमा विजय रन प्रहार गर्दै विश्वकपमा ठाउँ बनाएको थियो ।
प्लेयर अफ दी म्याच पारस खड्काले ४६ र ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । सागर पुनले २२ र सुवास खकुरेलले १६ रन जोडेका थिए । शरद भेषावकरले ७ बलमा जोडेको १३ रन निर्णायक थियो । अन्तिम ओभरमा नेपाललाई जीतका लागि १३ रन चाहिएका बेला शरदले सुरुका दुई बलमा छक्का र चौका प्रहार गरेका थिए । अन्तिम बलमा उनैले एक रन जोडेपछि नेपाल विश्वकप पुगेको थियो ।
सन् २०२४ मा नेपालले अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । घरेलु मैदानमा आयोजित विश्वकप लिग-२ को पहिलो श्रृंखलामा चारमध्ये तीन खेल हार्यो भने ओमानमा आयोजित एसीसी प्रिमियर कपमा यूएईसँग सेमिफाइनलमा पराजित भएर एसिया कपमा छनोट हुन असफल भयो ।
वेस्ट इन्डिज र अमेरिकामा आगामी महिना हुने विश्वकपमा सहभागी हुन प्रस्थान गर्नुअघि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’सँग ५ खेलको टी-२० श्रृंखला खेलेको थियो । नेपालले श्रृंखला हारे पनि २ खेल जितेर अनुभवी खेलाडी र टीमसँग खेल्न आफूलाई तयार गरेको छ ।