खाली हात घर पठाएपछि कार्यालय सहयोगीलाई पूर्वविद्यार्थीले गरे ४ लाख ६८ हजार सहयोग
खोटाङ । विद्यालयको कार्यालय सहयोगीबाट उमेर हदका कारण अनिवार्य अवकाश भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका परशुराम भुजेललाई पूर्वविद्यार्थी समूहले नगदसहित बिदाइ गरेका छन् ।
छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा ४० वर्ष अस्थायी रुपमा काम गरेका कार्यालय सहयोगी भुजेललाई पूर्वविद्यार्थी समूहले रु चार लाख ६८ हजार ७११ रकमसहित बिदाइ गरेका हुन् ।
विसं २०४१ देखि कार्यालय सहयोगीको काम गरेका भुजेल गत चैत मसान्तदेखि उमेर हदका कारण अनिवार्य अवकाश भएका थिए। अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गरेका भुजेललाई स्थानीय सरकारले खाती हात घर पठाएपछि पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर सम्मानसहित बिदाइ गरेका हुन् ।
बीस वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर सम्मान गरिएको रकम सङ्कलन अभियानका संयोजनकर्ता एवम् पूर्वविद्यार्थी उत्तम खड्काले बताए । विसं २०२१ मा स्थापना गरिएको जनसेवा माध्यमिक विद्यालयमा भुजेलले सुरुको चरणमा मासिक रु एक सय ६५ तलबबाट जागिर सुरु गरेका थिए ।
अवकाश हुनुपूर्व मासिक रु १० हजार तलब बुझ्दै आएका भुजेललाई सरकारले बुढेस कालमा खाली हात घर पठाएपछि चन्दा सङ्कलन गरेर नगद सहयोगसहित बिदाइ गरिएको पूर्वविद्यार्थी खड्काले बताए।
“उमेर रहुञ्जेल हाम्रो सेवामा लाग्नुभयो । अहिले सरकारले खाली हात घर पठाएको छ । उहाँको बाँकी जीवनयात्रामा केही सहज होस् भनेर विद्यालयका दुई सय पाँच जना पूर्वविद्यार्थीले रकम सङ्कलन गरेर प्रदान गरेका हौँ”, खड्काले भने, “विद्यालयका प्रधानाध्यापक कोपिला राई, व्यवस्थापन समिति अध्यक्ष वीरकाजी खड्का लगायतका व्यक्तिहरु पनि रकम सङ्कलन अभियानमा लागेका थिए । सबैले गरेर रु चार लाख ६८ हजार सात सय ११ रकमसहित बिदाइ गरेका हौँ ।”
गत चैत मसान्तबाट अनिवार्य अवकाश भएका भुजेललाई बिहीबार विद्यालयमा औपचारिक कार्यक्रमसहित बिदाइ गरिएको पूर्वविद्यार्थी समूहले जनाएको छ । बिदाइ कार्यक्रममा सहभागी गाउँपालिका प्रमुख लोकेन्द्र राई, छितापोखरीका वडाध्यक्ष मिलन राई लगायतका व्यक्तिले सङ्कलित रकम हस्तान्त्रण गरेका हुन् ।
पूर्वविद्यार्थी समूहले भुजेललाई नगदसहित बिदाइ गरेर उदाहरणीय काम गरेको गाउँपालिका प्रमुख राईले बताए । पूर्वविद्यार्थी समूहले रकम सङ्कलन गरेर अघिल्लो वर्ष उक्त विद्यालयमा सरस्वतीको मन्दिरसमेत बनाएका थिए ।
लाजको पसारो । तिनै जनप्रतिनिधिको हातबाट किन गर्नुपर्यो रकम हस्तान्तरण?