गगनले स्वीकारे रविको चुनौती- आरोप पुष्टि गर्न नसके राजनीति छाड्न तयार (भिडिओ) – Nepal Press

गगनले स्वीकारे रविको चुनौती- आरोप पुष्टि गर्न नसके राजनीति छाड्न तयार (भिडिओ)

रविको जवाफ- कीर्ते कागज र काइते तर्क नगर्नुस्, डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी!

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच टकराव बढेको छ।

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै संसदीय छानविन समितिको अडान राख्दै सदनदेखि सडकसम्म चर्काएपछि दुई नेताहरुबीच टकराव बढेको हो।

रवि र गगनबीच चर्को टकराव परेको हिजो बसेको प्रतिनिधि सभाको बैठकमा पहिलो पटक होइन। यसअघि दुई नेताबीच सम्बन्ध राम्रो भएपनि कांग्रेसले सहकारी प्रकरणलाई लिएर छानविन समितिको अडान राखेपछि दुई नेताबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा महामन्त्री थापाले गृहमन्त्रीले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको आरोप लगाए। गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गरे।

उनले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ?रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’

गगनको यो अभिव्यक्तिपछि सदनबाट बाहिरिएर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपा सभापति समेत रहेका लामिछानेले आफूमाथि लगाइएको आरोप पुष्टि भए राजनीति चुनौती दिए।

उनले भनेका थिए, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

उनले संसदीय समिति सामान्य कुरा भएको उल्लेख गर्दै पहिला आफूले सदनमा बोल्द पाउनुपर्ने तर्क गरे। रवि लगत्तै बोलेका महामन्त्री थापाले आफूले रविको चुनौती स्वीकारे।

उनले भने, ‘म त छोडिदिन्छु भनिसके त। यो पुष्टि भएन भने म छोड्दिन्छु भनिसके, उहाँले कहिले काठमाडौं क्षेत्र नं। ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस्। बागमतीमा नुहाउँछु भन्नुभयो, नुहाउनुस्। छोडदिनुस् भने छोडिदिन्छु। यो त मेरो मात्रै कुरा छैन। चुनौति त मैले स्वीकार गरिहालेँ। मैले यसलाई प्रमाणित गर्नै पर्दैन। सञ्चारमाध्यमा आइरहेको यीनै कुराहरु काफी छन्।’

संलग्न नभए किन भागेको ? भन्दै कांग्रेसले उठाइरहेको एजेण्डलाई झूट सावित गर्न चुनौती दिए।

उनले भने, ‘हामीले प्रमाणसहित यत्रो कुरा गरिसकेपछि हात्ति आयो हात्ति आयो पुष्सा भयो भने मत छाडेर गइहाल्छु, कांग्रेसलाई कत्रो अफ्ठ्यारो पर्ला, किन यतिधेरै माया गर्नुभएको ? ममाथि पनि आरोप लगाइन्छ कहिलेकाहीँ मेरो बारेमा पनि गृहमन्त्रीले बनाइदिए कति मजा आउँथ्यो’ , ‘त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिंगो नेपाली काँग्रेस पार्टीलाई त्यसले कति क्षति पुर्‍याउला ? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठुलो विश्वसनीयताको प्रश्न आउँला ? सिंगो नेपाली काँग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतिको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन।’

उनले छानबिन समिति बनाएपनि गृहमन्त्रीको राजीनामा नमागेको बताए। उनले गृहमन्त्री भएर सबै प्रमाणहरु लुकाउने काम गरिसकेको दाबी गरे। उनले योमा सरकारले पेल्न खोजेको भन्दै सदनमा मात्रै नभएर सडकमा पनि कांग्रेस जाने चेतावनी दिए।

गगनले रविको चुनौती स्वीकारेपनि गृहमन्त्री लामिछाने रोकिएनन्। गगनले आरोप लगाए जस्तो आफूले खुद फारम भरेर सहकारीबाट ऋृण मागेको /लिएको प्रमाणित गर्न भन्दै किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन नपाइने बताए।

उनले गगनविरुद्ध फेसबुकमा लेखेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋृण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार होरु किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीतिसँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी।’

उनले एक पटक बोल्न त दिए संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुने जवाफ दिए।

गृहमन्त्री लामिछानेले भनेका छन्, ‘तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। ममाथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्नेरु दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने ?अझ डरायो भन्नेरु यहि हो कांग्रेसको लोकतन्त्र ?’

उनले पार्टीका नेता र समर्थकहरुलाई शिर ठाडो राख्न भन्दै आफूले अहिलेसम्म कसैलाई नठगेको जिकिर गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर