ओलीको प्रश्न- शीतल निवासको जागिरेलाई विदेशीको बोलीमा लोली मिलाएर देशलाई हेप्ने आँट कसरी आयो ?(भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयपछि विवादित अभिव्यक्ति दिएका नेपालप्रति ओली खनिएका हुन् ।
पार्टी निकट बुद्धिजीवी परिषद्को शनिबार भएको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालले नेपालको नक्सा राखेर नयाँ नोट छाप्ने भयो, आफ्नो देशको नक्सा सधैं झैं राख्ने भयो, अर्को देशलाई टाउको दुख्यो । नेपालले नेपालको नोटमा नेपालको नक्सा किन राख्यो भन्दै अर्को देश । यहाँ राष्ट्रपतिको विज्ञ सल्लाहकार भनिएको एउटा जागिरे यस्तो नक्सा राख्न पाइन्छ भनेर बोलीमा लोली मिलाउँछ । अन्तर्वार्ता दिन्छ नेपाललाई हेप्ने कुरामा ।’
नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिएकोमा उनले आपत्ति जनाए ।
अध्यक्ष ओलीले भने, ‘योभन्दा निन्दनीय अरु के हुन्छ ? कस्ता दलालहरु कुन कुन ठाउँमा पुगेका छन् भन्ने कसरी देखिएको छ ? कहाँ गयो देशभक्ति ? हामीले अर्काको देशको नक्सा छापेका छैनौं नि ! हाम्रो देशको नोटमा हाम्रो नक्सा छाप्छौं । टाउको किन दुख्यो अरुलाई ? अरुलाई त ठीकै थियो, देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयमा गुँड लगाएर, त्यस्तै तत्वहरुले गुँड लगाउने ठाउँ हो त्यो ?’