रविबारे कांग्रेसलाई ओलीको प्रश्न- आफ्नो पछि लागेर प्रधानमन्त्री हुन्न भन्नासाथ भ्रष्टाचारी हुन्छ ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रधानमन्त्री अफर अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्रीविरुद्ध खनिएको आरोप लगाएका छन् । काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले पनि विभिन्न शक्तिहरुले यो समीकरण भत्काउने प्रयास गरिरहेको बताए ।
उनले भने, ‘हामीले सत्ता समीकरणमा रुचि राखेका थिएनौं, पहिला पनि भनेको थिएँ, तर गठबन्धन चार वर्ष चल्न दिएको भए देश बर्बादीमा जाने भयो । गठबन्धनले अनेक प्रकारका देशलाई घात गर्दै आयो । देश अप्ठेरोमा जाने भएपछि समीकरण फेरिएको छ । यो समीकरण बन्न नदिन र बन्ने बित्तिकैदेखि हटाउन अनेक प्रकारका कोसिस भए । अच्चमको कुरा नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बन्दिनुस् भन्न जान्छ, डेढ वर्षको लागि कागज लिएर सम्झौता गरौं भन्न जान्छ । कांग्रेसको पछि लागेको भए त्यो मान्छे प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो भ्रष्टाचारी ।’
ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नभइ सत्ता स्वार्थमा डुबेको पार्टी भएको दाबी गरे ।
उनले भने, ‘सदन चल्न दिँदैन । आफू बोल्छ, आरोपित मान्छेले जवाफ दिन्छु भन्दा बोल्न दिँदैन । संसदमा आरोप लगाएपछि बोल्न नदिने यस्तो लोकतन्त्र हुन्छ ? यस्तो लोकतान्त्रिक शक्ति हुन्छ ? सत्ता स्वार्थमा डुबेको छ, न्यायको पक्षमा छैन ।’
उनले एमालेले चौतर्फी घेरबन्दी तोडेर अहिले सबैभन्दा लोकप्रिय पार्टी बनेको बताए ।
ओलीले थपे, ‘सिध्याउँछौं भनेको पार्टी सबैभन्दा प्रभावशाली पार्टीको रुपमा उदय भएको छ । प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई पराजित गरेर हामी अगाडि बढेका छौं । एमाले सिध्याएर सिद्धिने पार्टी होइन भन्ने स्थापित भएको छ । यो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ ।’