अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, यस्तो छ मुलुकको आर्थिक ऐना (पूर्णपाठ) – Nepal Press

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, यस्तो छ मुलुकको आर्थिक ऐना (पूर्णपाठ)

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा मुलुकमा १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नाघेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रूपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २५.४ प्रतिशतले बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड थियो त्यो बढेर चैत मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड रूपैयाँ कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यता चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता १ अर्ब ३५ करोडले बचतमा रहेको छ । यस्तै अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर