एमबीबीएस र बीडीएस अध्ययनको छात्रवृत्तिमा चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण – Nepal Press

एमबीबीएस र बीडीएस अध्ययनको छात्रवृत्तिमा चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृत्तिमा चलखेल भएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनीहरुले चिकित्सा शिक्षा आयोगले सिफारिस गरेको केहि विद्यार्थीको नाम हटाएर अरुकै नाम राखेर पठाएको र यसका कारण बंगलादेशले केहि विद्यार्थीको नाम सूचीबाट हटाएको जनाएका छन् ।

बंगलादेश सरकारले नेपाल सरकारलाई सन् २०२४ मा १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको थियो । चिकित्सा शिक्षा आयोगले परीक्षा सञ्चालन गरेर १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि सरकारलाई सिफारिस गरेको थियो ।

चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएका नाममध्ये एमबीबीएसतर्फ ९ जना र बीडीएसतर्फ १ जनामा अरुकै नाम हालेर पठाइएको आशंका सांसदहरुको रहेको छ ।

सांसद तोसिमा कार्कीले मेरिट लिष्टमा छानिएका विद्यार्थीहरुकै नाम पठाएको अवस्थामा बंगलादेशमा नाम परिवर्तन गर्नेको खोजी गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् । लिष्ट परिवर्तन गर्ने कामको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यसमा भूमिका खेल्नेलाई कारवाही गर्न उनले माग गरिन् ।

त्यस्तै, समिति सभापति अम्मर बहादुर थापाले सरकारले सिफारिस गरेका व्यक्तिलाई वंगलादेशले भर्ना दिनुपर्ने र लिष्ट भन्दा बाहिरको व्यक्तिको नाम भए रद्द गर्नुपर्ने बताए । यसमा मन्त्रालयले बिशेष चासो दिनुपर्ने उनले बताए ।

बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले बंगलादेश पठाएको २२ जनामध्ये १० जनाको प्रक्रिया नपुगेको भन्दै पत्र प्राप्त भएपछि मन्त्रालयले चासो व्यक्त गरेको जानकारी दिइन् । बंगलादेशको पत्रपछि शिक्षा मन्त्रालयले २२ जनाको प्रक्रिया पुगेको भन्दै पत्र पठाएको उनले बताइन् । यस बिषयमा देखिएको समस्या समाधानका लागि आफुले पहलकदमी लिएको भन्दै उहाले आशंका व्यक्त नगर्न जिकिर गरिन् ।

उनले नेपाल सरकारले अवलम्वन गरेको प्रक्रिया भन्दा अन्य प्रक्रिया बंगलादेशको पत्रमा पनि उल्लेख नभएको दाबी गरिन् । मन्त्री श्रेष्ठले यस बिषयमा वंगलादेशका राजदूतसंग आफुले छलफल गर्ने जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर