ब्याडमिन्टनमा प्रिन्सले रचे इतिहास, पेरिस ओलम्पिकका लागि नेपालबाट छनोट
काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने भएका छन् । विश्व ब्याडमिन्टन महासंघले पेरिस ओलम्पिकका लागि प्रिन्सलाई छनोट गरेको हो ।
२० वर्षीय प्रिन्स यसअघि जुनियर विश्व वरियतामा पहिलो नम्बरसम्म पुगेका थिए । प्रिन्स युनिभर्सिटी कोटाअन्तर्गत ओलम्पिक खेल्ने पक्का भएको बुझिएको छ ।
ओलम्पिक ब्याडमिन्टनमा हालसम्म नेपालले खेलेको छैन । पेरिस ओलम्पिक खेलेसँगै प्रिन्सले नेपाली ब्याडमिन्टनमा इतिहास बनाउनेछन्। ओलम्पिकमा एथलेटिक्स र पौडीमा हरेक देशलाई कोटा दिइएको हुन्छ भने अन्य खेलमा छनोट चरण वा वाइल्ड कार्डबाट प्रवेश गराइन्छ ।
नेपालमा हालसम्म समर ओलम्पिक खेलकुदमा तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र छनोट चरण पार गरेर खेलेका छन् । आफ्नो नाम ओलम्पिकमा समावेश भएकोमा प्रिन्सले खुसी व्यक्त गरे । ‘ ओलम्पिक खेल्ने सपना थियो । अब पूरा हुँदैछ । नेपाली ब्याडमिन्टनलाई चिनाउन सक्दो प्रयाश गर्ने छु ।’
पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट प्रिन्सको मात्र नाम पक्का भएको छ ।