माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ) – Nepal Press

माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

नेकपा एसको नजरमा अन्य दल- रास्वपा र राप्रपा सामन्ती प्रतिक्रियावादीहरूका सेवक, कांग्रेस लोकतन्त्र र संविधानको रक्षक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा ५७ पेजको राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आगो ओकलेका छन् ।

सोमबारदेखि शुरू भएको पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपालले कांग्रेसलाई लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिबद्ध शक्ति भन्दै एमालेलाई ती दुवै (लोकतन्त्र र संविधान) का लागि खतरा शक्तिका रूपमा औंल्याएका छन् ।

नेपालको राजनीतिक प्रतिवेदनमा एमाले ‘व्यक्ति केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्ड’ मा परिणत भएको दाबी गरिएको छ । त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई स्वेच्छारी, प्रतिगामी र केशरजंग रायमाझीपन्थी भनेका छन् ।

नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ- एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा हुनुपर्ने कुनै पनि गुण केपी ओलीले चलाएको एमालेमा एउटा पनि छैन । एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अंगीकार गरेको छैन । उसले कम्युनिष्ट पार्टी विधि पद्धतिमा चल्नुपर्छ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्छ भन्ने मान्यतासमेत परित्याग गरेको छ । एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्डमा परिणत भएको छ ।

२२ शीर्षकमा समेटिएको राजनीतिक प्रतिवेदनका अधिकांश हरफ र सन्दर्भमा नेपालले एमाले र केपी ओलीको कटु आलोचना गरेका छन् । उनले एमालेबाट आफूहरूले गरेको ‘विद्रोह’ जायज थियो भन्ने पुष्टि भएको तर्कसमेत गरेका छन् ।

नेपालले एमालेबाहेकका राजनीतिक दलहरूको सन्दर्भमा भने राप्रपा र रास्वपाबाहेक अन्यको आलोचना गरेका छैनन् । उनले रास्वपालाई सस्तो लोकप्रियताले सर्वसाधारणमा भ्रम सिर्जना गरेर प्रतिक्रियावादको सेवा गर्ने शक्ति भनेका छन् भने राप्रपालाई पश्चगामी र सामन्ती चरित्रको सेवा गर्ने पार्टी भनेका छन् ।

नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आवश्यक छलफलपछि पारित हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । एउटै सत्ता समीकरणको सबैभन्दा ठूलो दलप्रति यति धेरै आक्रोश र आलोचनासहित अध्यक्ष नेपालले बैठकमा राजनीतिक प्रतिवेदन नै पेश गर्नुले उनको पार्टी सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने अवस्था आउन लागेको संकेत गरेको छ ।

हेर्नुहोस् नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको पूर्णपाठ


प्रतिक्रिया

4 thoughts on “माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

  1. अब नेपाली कांग्रेसका प्रधानमन्त्री माधाव कुमार नेपाल हुने पक्का । पुजीबादी भासमा फसिसकेको संकेत ।

  2. यो मान्छे देख्दा आजभोलि राजनीति भनेको कुन हदसम्म अनैतिक हुनसक्दो रहेछ भनेर अचम्म लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर