वेदना पोख्दै माधव नेपालले भने- सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं (भिडिओ) – Nepal Press

वेदना पोख्दै माधव नेपालले भने- सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं (भिडिओ)

'हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? भन्ने भइरहेको बताए ।

नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा अहिले नै आजभोलि नै के हुन्छ भन्ने कुराले प्रभावित पारिरहेको छ, सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? आजको सदनमा कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिने, राष्ट्रपतिले बाचन गरेपछि टेबुल गर्ने र छलफल गरेपछि पास गर्ने कुरा हुन्छ । यी सबै कुरामा जटिलता आउनसक्छ, सरकारले कसरी हेरिरहेको छ ? सत्ताधारी र विपक्षी दलहरूले कसरी आफ्नो कुरा अगाडि बढाइरहेका छन्, हामीले जानकारी लिनुपर्छ ।’

उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने/नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय गनुपर्ने हुनसक्ने संकेत गरे ।

‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, संसद चल्ने/नचल्ने विषयमा हुने वार्ता हामीले पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ, हामीलाई जानकारी पनि गराइँदैन । यी सबै पीडा र वेदना आफ्ना ठाउँमा छन् । यी पीडा र वेदनाले हामीलाई कहाँ पुर्‍याउने हो ?’, नेपालले भने, ‘सत्ताको निम्ति मरिहत्ते गरेर बस्ने हो कि ! स्वतन्त्र स्वाभिमानलाई ध्यान राखेर अगाडि बढ्ने हो ? भनेर हामीले सोच्नुपर्ने अवस्था छ । यसका लागि दिनदिनको परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने हिसाबले अघि बढ्नुपर्ने हुन्छ ।’

उनले सरकारको नीति तथा कार्यक्रम निर्माणमा पनि आफूहरूलाई कुनै जानकारी नगराइएको गुनासो गरे ।


प्रतिक्रिया

One thought on “वेदना पोख्दै माधव नेपालले भने- सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं (भिडिओ)

  1. राज्य सत्ता पाटी सत्ता सबैतिर हालीमुहाली गरेको मान्छे संधै गुनासो र घुर्की मात्रै पोख्छ्न यस्तै नेताहरुको व्यबहारले हो लोकतान्त्रिक ब्यबस्था माथी जनताको बिश्वास घट्दै गएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर