तरुण अध्यक्ष गुरुङको माग- गृहमन्त्रीज्यू ! सहकारीपीडितलाई न्याय दिनुस्
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारी प्रकरणबारे छानबिन तथा पीडितहरूको न्यायको माग गरेका छन् ।
मंगलबार शान्तिवाटिकामा नेपाल महिला संघले आयोजना गरेको गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि दबाब दिनुपर्ने बताए ।
उनले भने, ‘पसलमा जाँदा ग्राहकहरू छैनन् । यो देशका व्यापारी, मजदुरहरू सडकमा छन् । सीमित नेपालीहरूको बैंकलगायत विभिन्न सेक्टरमा पहुँच होला । नेपालका खुद्रा पसलेहरू । मजदुर, किसानहरूको बैंक सेक्टर छैन । नेपालका विभिन्न शहर, साना शहरहरूमा खोलिएका पसलहरूमा सहकारीहरू छन् । जहाँ नेपालीहरूको आफ्नो धितो राख्ने जग्गाहरू छैन । त्यही सहकारीमार्फत यो मुलुक । र, मुलुकका किसानको निक्षेप छ’, उनले भने ।
सहकारीमात्रै डुबेको नभई निमुखा जनता पनि डुबेको गुरुङको भनाइ छ । उनले गृहमन्त्री लामिछानेलाई जीबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे ।
‘गृहमन्त्रीज्यू आकाशमा होइन पातालमा होइन । जीबी राई मलेसियामा छन् । गएर ल्याएर आउनुस्’, उनले भने ।
उनले भने, ‘गृहमन्त्रीज्यू तपाईंलाई हाम्रो प्रश्न छ । यो मुलुकको सहकारीको ठग यदि जीबी राई हो भने तपाईँ १५ प्रतिशतको हिस्सेदार हो । तपाईँ पनि सहकारी ठग हो । तपाईँले जीबी राईलाई कारबाही गर्ने कि नगर्ने ? तपाईँलाई कारबाही गर्ने कि नगर्ने ? कांग्रेसले संसदीय छानबिन समिति माग गरेको छ । तपाईँले सहयोग गर्ने कि नगर्ने ?’
यसैबीच, तरुण दलले बुधबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म भोलि मध्यान्ह १२ बजे गृहमन्त्रीविरुद्ध प्रदर्शनको तयारी गरेको छ ।