इजलासबाट सबै निस्किएपछि वकिलले जब गौशाला २६ लाई दुई न्यायाधीशसामु उभ्याए
काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा गौशाला-२६ का वकिलले न्यायाधीशलाई ‘भावनात्मक दबाब’ दिने प्रयास गरेका छन् । घटना आज बहस सकिएर मुद्दा हेर्दाहेर्दैमा गइसकेपछिको हो ।
उच्च अदालत पाटनमा आजै मुद्दाको छिनोफानो गर्ने तयारी भए पनि त्यो सफल भएन । अग्राधिकार पाएको हुँदा मुद्दाको पालो १ नम्बरमा नै थियो र न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले समयमै इजलास खोलेर सुनुवाइ थालेका थिए । बिहान करिब ११ बजेबाट बहस सुरु भयो ।
सुरुमा जाहेरीकर्ता गौशाला २६ को तर्फबाट दुई सरकारी वकिल रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरे । त्यसपछि सन्दीपका वकिलहरुको बहस सुरु भयो । सन्दीपको पक्षबाट बहस गर्नेमा कहलिएका वकिलहरुको सूची थियो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण बिडारी, मुरारी सापकोटा, कृष्ण सापकोटा र राेशनी पाैडेलले सन्दीपको तर्फबाट बहस गरे ।
त्यसपछि फेरि गौशाला २६ का निजी वकिलहरुको बहस सुरु भयो । गौशाला २६ ले आधा दर्जनभन्दा बढी जना निजी वकिल राखेकी थिइन् । उनीहरुमध्ये तीन जनाले बहस गरे । सन्दीपको तर्फबाट मुख्य वकिल सरोज घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी र वरिष्ठ अधिवक्ता अमिता सैंजुले बहस गर्न बाँकी छ । यसैगरि, गौशाला २६ का तर्फबाट शशी अधिकारी र मोहना अन्सारी लगायत ४ जनाले बहस गर्न पाएका छैनन् ।
आज ७ बजेसम्म बहस सक्ने र ८ देखि साढे ८ सम्म फैसला गर्ने गरी अदालतले योजना बनाएको थियो । त्यही योजनाअनुसार बेलुका ५ बजेपछि पनि बहसलाई निरन्तरता दिइयो । फैसला आज गर्ने तयारी नगरिएको भए ५ बजे नै हेर्दाहेर्दैमा राखिन्थ्यो र इजलास बन्द हुन्थ्यो ।
तर, बहस १० बजेसम्म लम्बिने अवस्था देखियो । फैसला आउँदा मध्यरात हुन सक्थ्यो । अदालत बाहिर भिडभाड पनि थियो । सन्दीपका समर्थकहरु ठूलै संख्यामा जम्मा भइसकेका थिए । उनले सफाइ पाउने आशामा पञ्चेबाजासमेत तयारी अवस्थामा राखिएको थियो । तर, मध्यरातमा फैसला गर्दा गलत सन्देश जाने र जे फैसला आए पनि अवाञ्छित प्रतिक्रिया उत्पन्न हुन सक्ने भन्दै न्यायाधीशद्वयले मनस्थिति बदलेको अदालत स्रोतले बताएको छ ।
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले खासै प्रतिक्रिया नजनाएपछि उनी निस्किएको स्रोतले बतायो ।
यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ ।
एक वकिलले भने, ‘इजलासमा बहस सकिएपछि वकिलले जाहेरीकर्तालाई न्यायाधीशहरुका अगाडि उभ्याउनु र रुन लगाउनुको नियत के हो ? यसअघि पनि पटकपटक यस्ता घटना भएका छन्, जुन न्याययिक प्रक्रियालाई प्रभावित पार्ने चेष्टा हो ।’
योभन्दा अगाडि जिल्ला अदालत काठमाडौंमा पनि यस्तै दृश्य देखिएको थियो । दुवै पक्षले आआफ्नो बहस सकेपश्चात गौशालाले आफू अन्तिममा बोल्न पाउनु पर्ने माग गरेकी थिइन् । न्यायाधीशले पनि अनुमति दिएका थिए । सामान्य तथा वकिलहरुले बहस सकिएपछि फेरि मुद्दाको एउटा पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिइँदैन । तर गौशाला २६ लाई दिइएको थियो । त्यसबेला पनि उनले रुँदै आफ्नो पक्षमा फैसला नआएको खण्डमा सर्वोच्च अदालतसम्म जाने बताएकी थिइन् । जिल्ला अदालतले गौशाला २६ को पक्षमा फैसला सुनाएको थियो ।
आज हेर्दाहेर्दैमा राखिएपछि मुद्दाको फैसला भोलि आउने लगभग निश्चित भएको छ । न्यायाधीशद्वय भट्ट र उप्रेतीले नै फैसला सुनाउनेछन् । दुवे पक्षका वकिलहरुको बहस सकिएपछि दुवै पक्षबाट जवाफी बहससमेत हुनेछ । त्यसपछि फैसलाको प्रक्रियामा जानेछ । भोलि दिउँसोसम्ममा फैसला आउने अपेक्षा गरिएको छ ।
यो फैसला सन्दीपको क्रिकेट करिअर र सिंगो जीवनका लागि निकै महत्वपूर्ण रहेको छ । फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी-२० विश्वकप खेल्ने सपना पनि पूरा हुन सक्नेछ । यदि उच्च अदालतले जिल्ला अदालतको फैसला कायम राखेको खण्डमा सन्दीपको निलम्बन जारी रहनेछ । उनी क्रिकेटमा फर्किन सक्ने छैनन् ।
यदि उच्चले जिल्लाकै फैसला सदर गरेमा सन्दीपसँग अन्तिम विकल्पका रुपमा सर्वोच्चमा पुनरावेदन गर्ने अवसर हुन्छ । पुनरावेदनको फैसला नआउञ्जेल उनी पक्राउ त पर्दैनन्, तर क्रिकेटमा फर्किने अवस्था हुने छैन । यसले उनको क्रिकेट करिअरमा गम्भीर क्षति पुग्नेछ ।
त्यो गौसाला २६ कोहि कतैबाट परिचालितहो।यसले मोज गरुन्जेल ठिीक उसलाई असहज भएपछि बेठिक भन्बौ देखिन्छ।तयस्का ोओकिलहरु पनि महिलाबाउि चिन्तन भएका देखिन्छन्।गल्ति जति सबै पुरुषको देख्ने चिन्तन खतरनाकछ।