मदन भण्डारीको ३१औं स्मृतिमा बुटवलमा राष्ट्रिय खुला हाफ म्याराथन हुने (भिडिओ)
रुपन्देही । मदन भण्डारीको स्मृति दिवस पारेर यही जेठ ३ गते बुटवलमा राष्ट्रिय खुला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मदन भण्डारीको ३१औं स्मृति दिवसको अवसरमा ५ वटा विधामा दौड प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा भाग लिन देशभरबाट धावकहरु बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । उनका अनुसार हाफ म्याराथनको दूरी २१ किलोमिटर रहनेछ । हाफ म्याराथनमा १०० बढी धावकले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताए ।
हाफ म्याराथनका विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार तथा चौथो, पाँचौं र छैटौं हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै १० किलोमिटर (कलेजस्तरीय खुला छात्र र खुला महिला) दौडको विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, चौथो तथा पाँचौं र छैटौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
५ किमि (विद्यालयस्तरीय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार तथा चौथो, पाँचौं र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तैगरी ३ किमि (विद्यालयस्तरीय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार तथा चौथो, पाँचौं र छैटौं हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ । विद्यालयस्तरीय १० वर्षसम्मका छात्रछात्रा (१०० मिटर) दौड र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुका लागि वाल्कथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरिएको एकेडेमीले जनाएको छ ।
प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेले हाफ म्याराथन र रोड रेसको तयारी पूरा भएको बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । म्याराथनका खेलाडीहरुको बुधबार कालिका मानवज्ञान माविमा स्वास्थ्य परीक्षण गरिने उनले बताए ।