बाँके एमालेमा नयाँ नेतृत्वको रस्साकस्सी, त्रिपक्षीय भिडन्त
रुपन्देही । बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि त्रिपक्षीय लडाई चलेको छ । जेठ ४ र ५ गते हुने नवौं अधिवेशनका लागि सबै तयारी गरिसकिएको छ । तीन निर्वाचन क्षेत्र रहेको यो जिल्लामा अधिवेशनका लागि ४५८ जना प्रतिनिधि छनौट भएका छन् । यसबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन हुने हो ।
नेकपा एमाले बाँकेको आसन्न निर्वाचनका लागि प्रतिनिधि छनोट सकिएको छ । शनिबार जिल्लाका ८१ वटै वडा, भातृ संगठन लगायतका प्रतिनिधि छनोटका इकाइहरूबाट जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट सकिएको हो ।
अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष किस्मतकुमार कक्षपति दोहोरिने तयारीमा छन् उनीसँगै पूर्वअध्यक्ष निरक गुरुङ्ग, वर्तमान उपाध्यक्ष डिल्ली बिसी, नेता घननाथ खनाल अध्यक्षका प्रत्यासीका रूपमा लागेका छन् । गुरुङ नेकपाकालमा अध्यक्ष बनेका थिए भने घननाथ प्रदेश कमिटीमा छन् । केही कार्यकर्ताले घननाथले निरकलाई अगाडि सारेर जाने तयारी गरेको अनुमान गरेका छन् ।
प्रतिनिधि छनोटका क्रममा अध्यक्षका प्रत्यासीहरू समूहगत रूपमै सक्रिय भएको कार्यकर्ताले जनाएका छन् । बाँकेमा केन्द्रमा भएको कुनै नेता विशेषको समूह नभएर स्थानीय रुपममै बनेको समूह छन् । प्रतिनिधि छनोटले नेतृत्वलाई स्पष्टता प्रदान नगरेकाले अहिले नै नेतृत्वको आंकलन गर्न नसकिने स्थानीय नेताहरुको बुझाई छ ।
अहिलेका अध्यक्ष कक्षपतिले आफूले पूरा कार्यकाल बिताउन नपाएको र यो समयमा जिल्लामा पार्टीलाई बलियो बनाएकाले आगामी कार्यकालमा दोहोरिने तयारी गरेको बताए । अध्यक्षका अर्को प्रत्यासी डिल्ली बिसीले आफू उपाध्यक्ष बनिसकेकाले अध्यक्षमा जाने स्वभाविक बाटो भएको जनाए ।
‘कम्युनिष्ट पार्टीमा नेतृत्व विकासको आकांक्षा राख्नु स्वभाविक हो, मैले सबै तहका जिम्मेवारी पूरा गरेर अध्यक्षमा आकांक्षा राखेको हुँ, अन्य आकाक्षीहरु एकपटक नेतृत्वमा पुगिसकेका हुनहुन्छ, त्यसैले पनि मैले पाउनुपर्छ भन्ने हो’ उनले भने ।
त्यसो त केही जिल्ला कमिटीमा दाबेदारी गर्नेहरु प्रतिनिधि छनौटमै रोकिएका छन् । मिनबहादुर मल्ल, उषा भण्डारीलगायतका कतिपय अधिवेशनका लागि वडाबाटै प्रतिनिधि छनोट हुन सकेनन् ।
मल्ल र भण्डारी नगर अध्यक्षका आकांक्षी रहेपनि दुवैलाई जिल्ला कमिटीमा ‘समावेश’ गर्ने आश्वासन नेतृत्वले दिएको थियो । जिल्ला नेतृत्वका आकांक्षीहरूले बनाएको समूह हाबी हुँदा कतिपय ठाउँमा प्रतिनिधि छनोट प्रभावित भएको पार्टी नेताहरू बताउँछन् ।
नेतृत्वलाई सर्वसम्मत बनाउन नेताहरु लागेपनि आकांक्षीहरु धेरै भएकाले त्यो संभावना कम रहेको छ । अध्यक्षपछि उपाध्यक्षमा प्रदेशमा मन्त्री रहेका रत्न खत्री र रविन्द्र लम्साल, सचिवमा बलराम भट्टराई, भीम वली, दत्तप्रसाद आचार्य, खिमा भुसाललगायतका नेताहरु तयारीमा छन् । उपसचिवमा भने एक दर्जनले दावी गरिरहेका छन् ।