भारतीय प्राध्यापक सी राजामोहन भन्छन्- अब काठमाडौंले दिल्लीमा ‘हस्तक्षेप’ सुरु गर्नुपर्छ
काठमाडौं । नेपालका कूटनीतिक हेभीवेट प्राध्यापक यदुनाथ खनाल लेक्चर सिरिजको लागि मंगलबार साँझ प्रमुख वक्ता भएर आएका थिए भारतीय प्राध्यापक तथा विश्व मामिलाविज्ञ सी राजामोहन । नेपाल भारत सम्बन्धबारे बोल्न भारतीय नागरिकको रुपमा आउँदा दुई देशका सम्बन्धका संवेदनशीलताले आफूलाई सुरुमा धक लागेको बताए राजामोहनले । तर, पछि भारतीय प्राज्ञिक क्षेत्रबाट भारतको विदेश नीति, छिमेक नीति र दक्षिण एसियाको विदेश नीतिको लामो समयबाट नियालिरहेकाले आफू आएको उनले खुलाए ।
यदुनाथ खनाल लेक्चर सिरिजमा आउने प्रथम विदेशी वक्ता हुन् राजामोहन । पहिलो संस्करणमा २०७९ जेठ २४ गते बेलायतमा बस्ने नेपाली प्राज्ञ डाक्टर सूर्य सुवेदी आएका थिए । दोस्रो संस्करणमा २०८० असार १० गते पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य आएका थिए ।
अहिलेको विश्वको शक्ति केन्द्रका खेल, चलखेल अनि द्वन्द्वका बारेमा बोलेका राजामोहनले नेपाल भारत सम्बन्धबारे खुलेर बोले । विश्वका ठूला शक्तिहरुको घर्षणले नेपाल तथा दक्षिण एसियामात्रै नभएर विश्वभरका देशहरुलाई आफ्नो आर्थिक र राजनीतिक गुट छनोटको दबाब आउन सक्ने राजामोहनले बताए ।
उनले दक्षिण एसियामा भारत र चीन तथा अमेरिका र चीनको प्रतिस्पर्धाले असर गर्ने भन्दै त्यसबाट राष्ट्रिय हितअनुसार सबै देशहरुले पाइला चाल्न आवश्यक भएको बताए । माल्दिभ्सको भारत प्रथमदेखि भारतीय बहिर्गमनका मुद्दा आएको तथा फिलिपिन्समा दुतेर्तेको समयमा चीनसँग मित्रता तथा अहिले मार्कोसको समयमा शत्रुता भएको भन्दै यस्ता खालका एकै देशका नेताअनुसारका फरक फरक विदेश नीति राम्रो नभएको उनले संकेत गरे ।
एसियामा यस अगाडि नसुनिएका अकस, क्वाड, चिपफोर अलायन्स जस्ता संस्थाहरु जन्मिएको भन्दै राजामोहनले अहिलेको विश्व शक्ति संघर्षमा एसिया सबैभन्दा प्रमुख थलो भएको बताए ।
‘अब नेपालले भारतमा ‘हस्तक्षेप’ सुरु गर्नुपर्छ’
नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न नहुने राजामोहनले बताए । भारतले छिमेकमा हस्तक्षेप नगर्दा छिमेकी देशहरुलाई मात्रै होइन, स्वयं भारतलाई पनि फाइदा हुने उनको भनाइ थियो । दुई देशका समाजबीच ज्यादै गहिरो सम्बन्ध भएकाले हस्तक्षेप गर्न आउने दबाब झेल्न पनि दिल्लीलाई समस्या हुने उनले बताए । यद्यपि, दिल्लीले हस्तक्षेप बन्द गर्नुपर्ने तर काठमाडौंले हस्तक्षेप बढाउनुपर्ने उनले विचार व्यक्त गरे ।
प्रधानमन्त्री कार्यालय, विदेश मन्त्रालय र दूतावास तहमा मात्रै पछिल्ला वर्षमा दुई देशको संलग्नता भएको भन्दै उनले भने, ‘भारतीय समाजसँगको संलग्नता बढाउनु काठमाडौंको हितमा छ ।’
नेपालले भारतीय सेना, भारतीय सशस्त्र बल, नागरिक समाज, मिडिया, राज्य सरकार तथा राजनीतिक दलहरुसँगको सम्पर्क बढाउनुपर्ने उनले सुझाए ।
‘सार्क नचल्दा पनि दक्षिण एसियाली देशहरुको व्यापार सम्बन्धमा असर गर्दैन’
राजामोहनले नेपालमा सार्कको मुख्यालय भएकाले काठमाडौंको सार्कप्रतिको संवेदनशीलता धेरै भएको बताए । तर, सार्क नचल्दा पनि दक्षिण एसियाली देशहरुको व्यापार सम्बन्धमा सकस नभएको भन्दै उनले नेपाल र बंगलादेशको भारतसँग बढ्दो व्यापार सम्बन्धको उदाहरण दिए ।
सार्क नउठ्नुमा एक कारण पाकिस्तान भएको भन्दै राजामोहनले पाकिस्तानको भारतसँगको समस्या नसुल्झाइ क्षेत्रीय आर्थिक गठजोड नहुने सर्त राखेर सार्कमा समस्या भएको उनले बताए । तर, भारतले बिस्मटेक जस्तो क्षेत्रीय संगठन तथा बीबीआईएन जस्तो उपक्षेत्रीय संगठनहरुबाट आफ्नो सम्पर्क बढाउनुपर्ने उनले बताए ।
‘नेपाल-भारत सीमा साँच्चिकै खुला बनाउनुपर्छ’
नेपाल र भारतले आफ्नो खुला सीमाको विरासतको कुरा गरेरमात्रै नहुने भन्दै राजामोहनले सीमामा साँच्चिकै खुला हुनुपर्ने संकेत गरे । खुला सीमामा खुला व्यापार क्षेत्र हुनुपर्ने, पूर्वाधार बलिया हुनुपर्ने तथा दुई देशका प्रहरीहरुबीच समन्वय हुनुपर्नेमा त्यो राम्रोसँग हुन नसकेको उनको भनाइछ । उनले भने, ‘व्यापार प्रवर्द्धन, व्यापार सहजीकरण, भारततर्फको सीमा पूर्वाधारको आधुनिकीकरणका क्षेत्रमा व्यापार काम गर्न बाँकी छन् ।’
नेपाल तथा भारत दुवैतर्फ सीमामा सैन्यकरण गर्नुपर्ने कुरा जानेर र नजानेर आइरहेको भन्दै उनले यसले गम्भीर परिणाम ल्याउने बताए । नेपालको उत्तरी क्षेत्रको बस्ती साना र छरिएका तर, दक्षिणी क्षेत्रका बस्ती ठूला र एकत्रित भएर बसेको भन्दै नेपालले दुईमा कुन छान्ने भन्ने सवालमा नलागेर दुवै सीमाबाट प्राप्त हुने लाभ लिनुपर्नेमा राजामोहनले सुझाए ।
नेपालमा भूपरिवेष्ठित देश भएकोमा चिन्ता गरिएको भन्दै उनले त्यसो गर्न आवश्यक नभएको बताए । विशाल समुद्र तट हुँदाहुँदै पनि सन् १९९० पछि मात्रै भारत भूपरिवेष्ठितभन्दा बाहिर आएको उनले बताए ।
‘काठमाडौं र दिल्लीले बेइजिङबाट व्यवहारवाद सिक्नुपर्छ’
प्राध्यापक राजामोहनले विभिन्न सवालमा चीनको उदाहरण दिए । चीनको ह्वात्तै बढेको आर्थिक क्षेत्र, अमेरिका र चीनको हुनसक्ने अर्को खाले शीतयुद्ध, भारत र चीनको समस्या तथा भारत र चीनको प्रतिस्पर्धाले दक्षिण एसियाली देशहरुमा पर्ने समस्यामा पनि उनले प्रत्यक्ष तथा अप्रत्यक्ष संकेत गरे । दक्षिण एसियामा चीनको उपस्थिति प्राकृतिक भएकोसमेत उनले बताए ।
चीन ल्याटिन अमेरिकामा उपस्थित हुन्छ भने दक्षिण एसिायमा हुनु स्वाभाविक भएको उनले बताए । उनले बेइजिङबाट काठमाडौं र दिल्लीले सिक्ने कुराको पनि चर्चा गरे ।
बेइजिङले आफ्नो हितको लागि विचारभन्दा व्यवहारवादको आडमा आफनो कूटनीति चलाएको उनले उदाहरण दिए । सन् १९५० र २००० को दशकमा रुससँगको चीनको निकटता, सन् १९७०, ८० र ९० को दशकमा अमेरिकासँगको निकटता तथा एसियामा अमेरिकी प्रभावको चीनले विरोध गरे पनि युरोप तथा अमेरिकासँगको आफ्नो सम्पर्क बढाइरहेको भन्दै काठमाडौं र दिल्लीले बेइजिङबाट विचारभन्दा व्यवहार र सिद्धान्तभन्दा स्वार्थ हेरेर काम गर्न सिक्न सकिने बताए ।
कोरियाली युद्धमा चिनियाँ नेता माओका छोराको मृत्यु हुँदा पनि पछि माओले अमेरिकासँग समन्वय गरेको उदाहरण दिँदै राजामोहनले विचारको कैदी नहुन सुझाए । नेपालले विश्वका ठूला शक्तिहरुको प्रतिस्पर्धामा व्यवहारवादी संलग्नता बढाएमा फाइदा लिन सक्ने उनको भनाइ छ ।
‘काठमाडौंमा नेपाल प्रथम नीति तथा दिल्लीमा छिमेकी प्रथम नीतिले दुई देशका जनतामा विकास र मित्रता ल्याउनेछ’, उनले थपे, ‘भारतले धार्मिक संवदेनशीलताको आधारमा तथा बेलायती राजको नोल्टाल्जियाको आधारमा नेपालसँग उत्पादनशील सम्बन्ध बनाउन सक्दैन । व्यवहारवादको सिद्धान्तमा मात्रै भारतले दुई देशको सम्बन्धको आधुनिकीकरण गर्नसक्छ ।’
याे पनि पढ्नुहाेस्।
नेपालले भारत-चीन सन्तुलन गर्ने होइन, आफैं सन्तुलित हुने हो: मधुरमण आचार्य (भिडिओ)