पाल्पामा जीप दुर्घटना हुँदा बालकसहित दुई जनाको मृत्यु, १३ घाइते
रूपन्देही । पाल्पामा बलेरो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ।
नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटना हुँदा पाल्पा निस्दी ४ का राजिव सुनारीको मृत्यु भएको हो । दुर्घटनामा १४ जना घाइते भएकोमा अर्को एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइते हुनेमा जिल्ला पाल्पा निस्दी ४ बस्ने वर्ष २० को तेजन सोमई, सोही स्थानका वर्ष २७ की धामिसरा सुनारी, बर्ष २८ की कुसुम सारु थापा र बर्ष ७४ की माया खड्का रहेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी अन्य घाइतेमा सोही स्थानका गाडी चालक बर्ष २८ को नुरेस खाम्चा, बर्ष २४ की ईसानी गाहाको छोरी वर्ष १ की सहिरा गाहा, वर्ष ४० की गरीमा मश्राङ्गी, वर्ष २० की हिरा खड्का, वर्ष ४३ की बनि सुनारी, बस्ने वर्ष ३१ को सुर बहादुर सोमई, कुसुम सारु थापाको छोरी वर्ष २.५ की मनिका सारु, वर्ष १७ की हेमसरी घर्ती र वर्ष ६६ को खुम बहादुर सोती रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बुधबार साँझ घटना भएको स्थानीयले बताएका छन्। घाइतेहरुको नवलपुरको मध्यबिन्दुका अस्पतालहरुमा उपचार भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।