बिनासूचना एकै दिन २ हजार लाइसेन्सको ट्रायल रोकियो, कहिलेबाट खुल्ने अन्योल
सर्तकता केन्द्रले क्षेत्राधिकार मिचेर आफू खुशी गरेर रोकेको व्यवसायीको आरोप
काठमाडौं । काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आज बिनासूचना ट्रायल रोकिएको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र एकान्तकुनाका ट्रायल सेन्टरहरुमा ट्रायल रोकिएको हो ।
यातायात व्यवस्था कार्यालयले कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले दुख पाए । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले सूचना निकालेका थिए । ट्रायल सेन्टरमा आएर सेवाग्राहीहरुले के कारण ट्रायल रोकिएको भनेर सोधिरहेका थिए ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र राधेराधे भक्तपुरका सूचना अधिकारी जीवनकुमार बस्नेतले आज ट्रायल नहुने सूचना समयमा नै प्रकाशन गर्न नसकिएको बताए ।
उनले भने, ‘हिजोसम्म भोलि ट्रायल नहुने भन्ने कुनै जानकारी थिएन । तर, आज कार्यालय समयमा ट्राफिक कार्यालयले ट्रायलका लागि ट्राफिक नपठाएपछि मात्रै ट्रायल रोकिएको हो । हामीलाई आजको कार्यालय समयभन्दा पहिले ट्रायल नहुने कुनै जानकारी थिएन ।’
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशमा भएको यातायात कार्यालयहरुको नियमन गर्ने गर्दछ । तर, बागती प्रदेशलाई पनि आज ट्रायल रोकिने विषयमा कुनै जानकारी थिएन ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले आजबाट भक्तपुर, चावहेल, गुर्जुधारा र ठूलोभर्याङ यातायात कार्यालयमा ट्रायल रोकिएको बताए ।
उनले भने, ‘राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेको र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो । तर, केन्द्रले के के मापदण्ड पूरा नभएको हो भन्ने प्रतिवेदन हामीलाई दिएको छैन । हामीले मन्त्रालयका प्राविधिकलाई के के मापदण्ड पुरा नभएको हो त्यसको प्रतिवेदन बनाउन भनेका छौं । अब त्यो प्रतिवेदन आज भोलिमा सकिन्छ होला ।’
शुक्रबार ट्रायल हुँदैन भने, शनिबार बिदा हो । आइतबारसम्म अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने उनले बताए ।
डिआइजी पोषराज पोखरेलले ट्रायल सेन्टरहरुले मर्मत गर्नु पर्ने भन्ने कुरा आएकाले नै आज ट्रायलमा ट्राफिक नपठाएको जानकारी दिए ।
उनले भने, ‘आज ट्रायल नहुने विषयमा यातायात व्यवस्था कार्यालयहरुले सूचना निकाल्नु पर्ने हो । सेवाग्राही आएपछि मात्रै ट्रायल नहुने भनेर सूचना निकालेको भन्ने कुरा सुनेको छु ।’
गुर्जुधाराका ट्रायल सञ्चालक माधव अधिकारीले आजबाट उपत्यकाका ४ ठाउँमा ट्रायल रोकिएको बताए ।
उनले भने, ‘ट्रायल सेन्टरहरुलाई बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नियमन गर्ने हो । तर, सेवाग्राहीले गुनासो गरेको भनेर राष्ट्रिय सतर्कता केन्द्रले ५ मिनेट जति ट्रायल सेन्टरको नापजाँच गरेको थियो । हामीले ट्रायल सेन्टर खोल्दा २÷३ दिन लगाएर प्राविधिक हिसाबले ठीक छ की छैन भनेर रिपोर्टमा ठिक छ भन्ने भएपछि मात्रै सञ्चालन गरेका थियौं । प्रदेशको यातायात मन्त्रालय, ट्राफिक र केन्द्र मध्ये कुनलाई मान्ने भन्ने प्रश्न उठेको छ ।’
प्रदेश मन्त्रालयले सबै ठिक छ भनेर प्राविधिक परिक्षण गरेपछि मात्रै सञ्चालनको अनुमती दिएको उनको भनाइ छ । सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा ट्रायल सञ्चालन गरिरहेका ५ वटा ट्रायल सेन्टरमध्ये ४ वटाको मात्रै स्थतलगत अध्ययन गरेको उनले बताए ।
‘एउटालाई किन छोड्यो ? सरकारको सबै मापदण्ड पूरा गरेर ठूलो लगानीमा सञ्चालनमा आएका ४ वटा ट्रायल सेन्टरहरुलाई सतर्कता केन्द्रले ५ मिनेट आएर हेरेको भरमा मापदण्ड पूरा नगरेको भन्न मिल्छ ? केन्द्रले ट्रायल सेन्टरहरुलाई सिधै पत्र पठाउनै मिल्दैन । केन्द्रले प्रदेश मन्त्रालयलाई पत्र पठाएर त्यो पत्र मन्त्रालयबाट ट्रायल सेन्टरमा आउनु पर्ने हो । तर, आफ्नो क्षेत्रधिकार मिचेर सिधै ट्रायललाई पत्र पठाइरहेको छ ।’
आज मात्रै ४ वटा ट्रायल सेन्टरमा २ हजारले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने समय तोकिएको थियो । अब सबै सेवाग्राहीको ट्रायल रोकिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पन्तले ट्रायल रोक्नका लागि कुनै निर्देशन नदिएको बताए ।
उनले भने, ‘हामीले काठमाडौंका ४ वटा ट्रायल सेन्टरमा स्थलगत अध्ययन गरेका थियौं । सो अध्ययनले केही कमजोरी देखाएका छन् । हामीले कानुनको अक्षरस पालन गर भनेका हौं । बागमती प्रदेश सरकारको यातायात मन्त्रालयलाई पनि हामीले ट्रायल सेन्टरहरुलाई अक्षरस कानुनको पालना गर्न लगाउने विषयमा पत्र लेखेका थियौं । तर, प्रदेश सरकारले केही उत्तर दिएन । हामीसँग अध्ययनको प्रतिवेदन मागेको भए दिने थियौं ।’
उपत्यकामा भएका ५ वटा ट्रायल सेन्टरमध्ये ४ वटामा मात्रै किन स्थलगत अध्ययन गरेको भन्ने प्रश्नमा पन्थले फाइल हेरेपछि मात्रै भन्न सकिने बताए । सतर्कता केन्द्रले भक्तपुरमा नै भएको बुढाथोकी ट्रायल सेन्टरमा भने स्थलगत अध्ययन गरेको छैन ।
राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते निर्देशन जारी गरेको थियो । सो निर्देशनमा काठमांडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु संचालनगर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भनेको छ । साथै मनोमानी शुल्क लिएको भन्ने उजुरी आएको बताएको छ ।
नाटक नगरे हुन्छ । याे बिषयमा कहिले सुधार हुन सक्दैन । पैसा चाहियाे काठमाडाैमा तु घर बनाउन पराे नि त ।