चलचित्रमा पहिले जस्तो समय छैन, अब विधाले राज गर्छ : आर्यन सिग्देल – Nepal Press
नेपाल टक

चलचित्रमा पहिले जस्तो समय छैन, अब विधाले राज गर्छ : आर्यन सिग्देल

काठमाडौं । ‘हिफाजत’, ‘किस्मत’, ‘कसले चोर्‍यो मेरो मन’, ‘मेरो एउटा साथी छ’ जस्ता हिट चलचित्रहरु गरिसकेका अभिनेता आर्यन सिग्देल नेपाली सिने क्षेत्रमा कुनै नौलो नाम होइन । अहिलेका पुस्ताका लागि उनी दोस्रो पुस्ता हुन्, तर उनको क्रेज अहिले पनि उस्तै छ ।

उनका पालाका कति कलाकार पलायन भइसके त कतिले सिने क्षेत्रबाट विश्राम लिएका छन्, तर आर्यन अहिले पनि उहीं जोसका साथ सिने नगरीमा छाइरहेका छन् । अहिलेका पुस्ताका अभिनेत्रीसँग उनी जोडीको रुपमा स्क्रिन शेयर गरिरहेका छन्, रोमान्स गरिरहेका छन् ।

आर्यनले चलचित्र ‘किस्मत’ बाट डेब्यु गरेका थिए, जुन चलचित्र नै हिट भयो । त्यसपश्चात उनी झनै जोसका साथ आफ्नो कर्ममा निरन्तर लागिरहे । दर्शकले विशेषतः आर्यनलाई ‘चकलेटी र रोमान्टिक हिरो’ को रुपमा चिन्छन् । थुप्रै रोमान्टिक चलचित्र गरिसकेका आर्यन यस पटक भने केही फरक अवतारमा देखिएका छन् । रोमान्टिक अवतारमा देखिरहेका दर्शकले उनलाई यसपालि गम्भीर सामाजिक विषयवस्तु उठान गर्ने पात्रको रुपमा देख्नेछन् । उनलाई दर्शकले आफ्नो प्रेम पाउन जातीय छुवाछूतविरुद्ध लडिरहेको एक पात्रको रुपमा पर्दामा हेर्न पाउनेछन् ।

आर्यन रिल लाइफमा जति रोमान्टिक देखिन्छन्, रियल लाइफमा त्यति नै खुला मनका छन् । उनी केही हक्की स्वभावका छन् । आफ्नो मनमा लागेको कुरा उनी नहिचकिचाइ फ्याट्ट भन्दिहाल्छन् । पूजा-पाठ र अध्यात्ममा खासै रुचि नराख्ने आर्यनले यही जेठ १० गते रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’ मा पुजारको भूमिका निभाएका छन्, जुन उनको लागि पनि एक फरक अनुभव हो । उनी यस चलचित्रलाई समयको माग मान्छन् । सुरुमा कथा सुन्दा नै रमाइलो लागेको आर्यनलाई अहिले पर्दामा आफूलाई हेरिसकेपछि झनै रमाइलो लागेको बताउँछन् ।

आफूले गरिरहेको विधाभन्दा भिन्नै विधामा काम गर्नुपर्दा कत्तिको गाह्रो हुन्छ ? उनी यस चलचित्रमा कसरी जोडिए ? के अब यो चलचित्रले उनको रोमान्टिक हिरोको छवि मेटाइदिनेछ ? यीलगायत प्रश्नहरुमा अभिनेता आर्यन सिग्देलसँग नेपाल प्रेसकर्मी तपस्या राणाले गरेको कुराकानी-

– तपाईंलाई नयाँ पुस्ताका फ्यानहरुले ‘मैले बच्चैदेखि हेर्दै आएको कलाकार हो’ भन्ने अभिव्यक्ति दिँदा बुढो भएछु भन्ने महसुस हुँदैन ?

हुँदैन । म त झनै खुसी हुन्छु । उहाँहरुले मलाई अहिलेसम्म पनि हेर्नु हुँदोरहेछ भने जस्तो लाग्छ । आफ्ना समकालीनहरुसँग त काम गरियो नै, अहिलेका नयाँ जेनेरेसनका कलाकारसँग पनि उनीहरुकै उमेरको भएर स्क्रिन शेयर गर्न पाउँदा त झनै हर्षित हुन्छु । म त यसलाई प्लस प्वाइन्टको रुपमा लिन्छु ।

– रिलमा र रियलमा फरक हुनुहुँदो रहेछ भनेर कहिल्यै दर्शकहरुले आएर भन्नुभएको छ ?

छ । प्रायः प्रशंसा पाइरहेको हुन्छु । प्रायःले मलाई तपाईं रिलमा भन्दा रियलमा राम्रो हुनुहुँदो रहेछ भन्छन् । म स्क्रिनमा रियलमा भन्दा अलि मोटो देखिन्छु । गाला अलिक ठूलो देखिन्छ । यो फेरि मलाई पनि फिल हुने कुरा हो । सायद त्यही भएर पनि होला, रिल र रियलमा केही फरक देखिएको !

– ‘पुजार सार्की’ले तपाईंको रोमान्टिक हिरोको छवि मेटाउने सम्भावना कति छ ?

त्यो त मेटिँदैन । बरु ‘पुजार सार्की’ले अर्को एउटा छाप छाड्न भने अवश्य सफल हुनेछ ।

– चलचित्रमा कसरी जोडिनुभयो ?

खासमा यस चलचित्रको निर्देशक दिनेश राउत र म प्रायः सँगै नै हुन्छौं । दिनेशको दिमागमा यो चलचित्रको कथा धेरै अगाडि आएको थियो । पहिला दिनेश र यसै चलचित्रका लेखक विकास सुवेदी अर्को प्रोजेक्टको स्टोरी लेख्न कास्कीकोट जाँदा दिनेशलाई यो आइडिया आएको थियो । त्यहाँबाट फर्किएपछि उसले मलाई एकदमै खुसी हुँदै यो गर्दा ठीक हुन्छ होला है भनेर यो चलचित्रबारे सुनाएको थियो । मैले पनि ठीक हुन्छ भन्ने प्रतिक्रिया दिए, तर त्यो समय यो कुरा यतिमै स्थगित भयो ।

त्यसपछि दिनेश अर्कै प्रोजेक्टमा लाग्यो । म अन्तै व्यस्त भएँ । पछि यो प्रोजेक्टबारे पुनः कुरा हुन थालेपछि दिनेशले मलाई प्रदीप पनि इन हुने भयो, त्यसैले तिमी पनि साइन गर्न आउ भनेर बोलायो । म साइन गर्न गएँ । भरे त्यहाँ पुगेपछि पो थाहा भयो, प्रदीपको त पहिल्यै साइन भइसकेछ । दिनेश र मेरो कुरा भैइरहन्थ्यो । त्यसैले मलाई मेरो रोल पुजारको हो भन्ने अगाडि नै थाहा थियो, तर चलचित्रमा साइन गरेर आधिकारिक रुपमै पहिलो इन्ट्री चाहिँ प्रदीपको भएको हो ।

– आफूले गरिराख्ने पात्रभन्दा भिन्न पात्र निभाउन कतिको गाह्रो हुँदोरहेछ ?

चलचित्रमा लुक्सको कुरा चल्दै गर्दा मलाई दिनेशले एक दिन अचानक फोन गरेर ‘तिम्रो ड्याडीको पुरानो पुरानो फोटो पठाउ त’ भन्यो । मैले पनि पठाएँ । ती फोटोहरु रिफेरेन्सको लागि रहेछ । यो चलचित्रमा पुजारको लुक्स मेरो बुवाको लुक्सबाट लिइएको छ । म पूजा-पाठबाट पर रहे पनि मेरो बुवा भने पुजारी हो ।

त्यसैले हामीले लुक्सको लागि मेरो बुवाको रिफेरेन्स लिएका थियौं । लुक्समा काम गर्न मलाई एकदमै सजिलो भयो । किनकि मेरो ड्याडी र मेरो फेसकट धेरै मिल्छ । धेरै तोडमोड गर्नै परेन । लुक्सपछि कुरा आयो पात्र निभाउनेबारे । त्यहीको स्थानीय लवच र डाइलगको रिदम पकड्न हामीलाई वर्कशप गराइएको थियो, जहाँ चलचित्रका लेखक विकास सुवेदी स्वयं हुनुहुन्थ्यो । उहाँ पनि उतैतिरको हुनुहुन्छ । वर्कशपका कारण उहाँको बासिन्दाको रिदम पकड्न पनि खासै गाह्रो भएन ।

– यो चलचित्र सत्य घटनामा आधारित हो ?

सत्य घटनाभन्दा पनि कास्कीकोटमा एक जना व्यक्ति हुनुहुन्छ, जसले यसरी नै जातीय विभेदविरुद्ध आवाज उठाउनुभएको रहेछ । त्यहीबाट केही आइडिया लिएर यो चलचित्र बनाइएको हो । यो एउटा जातीय विभेदको द्वन्द्व हो । चलचित्रमा तीनै वटा पात्रले आआफ्नै कारणले द्वन्द्व गरिरहेका छन् । जसको जे कारण भए पनि तीनै जनाको अन्तिम सार भनेको जातीय विभेद हुनुहुन्न भन्ने हो ।

– तपाईं चलचित्रमा लिड रोलमै हुनुहुन्छ । कतिको भार महसुस गरिरहनु भएको छ ?

म चलचित्रको लिड क्यारेक्टर होइन, टाइटल क्यारेक्टर हुँ । चलचित्रमा अरु चार जना उस्तै राम्रो काम गर्ने कलाकार हुनुहुन्छ । त्यसैले जसले आफ्नो प्रस्तुति र अभिनयले लिड गर्नुहुन्छ, उहाँ नै लिड क्यारेक्टर हो । चलचित्रको नाम भएकै पात्रले सदैव चलचित्र लिड गर्छ भन्ने छैन । कहिलेकाहीँ सानो १५ सेकेन्डको पात्रले पनि चलचित्र लिड गरेर लैजान सक्छ । एक वाक्यमा भन्नुपर्दा हामी सबैजना नै लिड हौं । यति हो, जुन पुजार सार्कीको पात्र मैले निभाउने मौका पाएको छु, त्यसलाइ दर्शकले आत्मसात गरिदिनु हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

– अरु बेला खासै मिडियामा आउनुहुन्न । कन्ट्रोभर्सी सिर्जना हुन्छ भनेर डराउनुहुन्छ भन्ने सुनिन्छ । सत्य हो ?

हैन । म सिनेमा रिलिजको बेला प्रायः हिँडिरहेको नै हुन्छु । विनाकाम चाहिँ मलाई मिडियामा खासै आइराख्न औचित्य लाग्दैन । म अलिकति स्पेस चाहने मान्छे हो । भोलि पुजार सार्की रिलिज हुन्छ । रिलिजपछि केही समय मैले मिडिया यताउता सबै छाडेर आफूलाई पनि स्पेस दिनुपर्‍यो । त्यति हो, त्यस्तो डराउने होइन ।

– चलचित्रको छायांकन कति दिनसम्म चल्यो ?

४९ दिन, तर सबैजना सँगै भने त्योभन्दा अगाडिदेखि नै भइयो । किनकि छायांकनअघि एक महिना वर्कशप पनि भएको थियो ।

– कास्कीकोटको माहोल बुझ्ने मौका कतिको पाउनुभयो ? त्यहाँ अहिले पनि जातीय विभेद छ ?

राम्ररी नै बुझ्ने मौका पाइयो । किनकि चलचित्रको छायांकन हुनुपूर्व नै हामी त्यहाँ पुगेका थियौं । काम गर्न सहज हुन्छ भनेर त्यहाँका बासिन्दाको चालचलन र बोलीको लवज बुझ्न हामी केही दिन अगाडि कास्कीकोट गएका थियौं । त्यहाँ पहिलाको जस्तो अहिले विभेदको माहोल त छैन, तर परिवेश, घर, गोठ, आदि भने पहिलाको जस्तै छ । गाउँ ठूलो छ । त्यसैले सबै परिवर्तन हुन समय लाग्छ । सहजताको लागि कोही शहरतिर झर्नुभएको छ भने कोही बाहिर जानुभएको छ, तर गाउँ पहिलाको जस्तै छ, जसले गर्दा हामीलाई छायांकन गर्न सजिलो भयो । मलाई त गाउँभन्दा पनि सबै कुरा भएको स्टुडियो गए जस्तो महसुस भयो । त्यहाँका बासिन्दाले गर्ने स्वागत-सत्कार पनि धेरै राम्रो थियो ।

– तीन जना नायक एकै ठाउँमा हुँदा ‘यसले भन्दा मैले राम्रो गर्नुपर्छ’ भन्ने प्रतिस्पर्धी भावना कति हुँदो रहेछ ?

एउटै पात्र तीन जनाले नै निभाउनु परेको भए, सायद कसले राम्रो गर्ने भन्ने खालको प्रतिस्पर्धा हुन्थ्यो होला । तर, तीन व्यक्तिले तीन छुट्टै पात्र निभाउनु परेकाले प्रतिस्पर्धाको महसुस नै भएन । चलचित्रमा मैतबहादुर, मेघराज र पुजार विल्कुलै भिन्न पात्र हुन् । त्यसैले कसैलाई यसले आफ्नो पात्रमा बबाल गर्‍यो है भन्ने मनमा लाग्यो भने पनि त्यो आफ्नो पात्रमा ढाल्न मिल्दैन थियो । कसैले कसैसँग प्रतिस्पर्धा नै गर्न खोजे पनि फरक फरक पात्र भएकाले त्यो सोच्न पनि सम्भव थिएन । हामी त बरु छायांकनमा उल्टै एक अर्कालाई यस्तो गर्दा चाहिँ कथालाई अझ न्याय मिल्छ होला भनेर प्रोत्साहन गर्थ्यौं । बरु केही थप्दा राम्रो हुन्छ भने यसरी गरौं भन्ने एक-अर्कामा सल्लाहमा हुन्थ्यो ।

– पल र प्रदीपमा सुधार गर्नुपर्ने कुरा के के पाउनुभयो ?

दुई जनै फ्रेन्डली छन्, मेहनती छन् । एक दिन पनि युनिटलाई प्रेसर दिएको देखिनँ । प्रदीप अरु कुरामा व्यस्त हुँदा पनि ४९ दिन त्यही चलचित्रको लागि भनेर बस्यो । प्रदीप एक दिन पनि रिसाएको मैले देखिनँ । कोही मान्छे दिल र दिमागबाटै मात्र काम सोचेर विनास्वार्थ अघि बढ्छ भने उसलाई सफल हुन कसैले छेक्न सक्दैन । त्यस्तो व्यक्तिलाई मैले केही सल्लाह नै दिनुपर्दैन ।

– पल र प्रदीपमा कोसँग बढी नजिक हुनुभयो ?

प्रदीपसँग । किनकि प्रदीपसँग स्क्रिन र टाइम शेयर धेरै भयो । ऊसँग चिनजान पनि पहिलेदेखि नै थियो । सबैजना सारङकोट हुँदा हामी दुई जनामात्र नौडाँडामा एउटै होटलमा, एउटै कम्पाउन्डमा थियौं । त्यसैले अलि नजिक प्रदीपसँगै भएँ ।

– दुई जना सँगै हुँदा कस्ता खालका कुरा बढी भयो ? पारिश्रमिकको बारेमा के कति भन्ने हुन्थ्यो कि हुँदैन थियो ?

त्यस्तो केही भएन । पारिश्रमिकको कुरा त झन हुँदै हुँदैन थियो । सुट सकिएपछि म गाडी लिएर पोखरा घुम्न निस्किन्थें । प्रदीप र पल आफ्नै काममा लाग्थे । फुर्सद हुँदा बढी सँगै भएको प्रदीप र म हो । हामी दुई जनाको फेरि एउटै बानी के छ भने कसैको व्यक्तिगत कुरा नगर्ने । त्यत्रो दिन सँगै हुँदा मलाई प्रदीपको घर कहाँ हो भन्ने त थाहा थिएन । मैले अस्ति भर्खर थाहा पाएको !

चाहे त्यो आफ्नो होस् या अर्काको, मलाई कसैको पनि व्यक्तिगत कुरामा छिरेको मन पर्दैन । प्रदीप र मेरो प्रायः आगामी दिनमा गर्न लागेको प्रोजेक्ट र अन्य कामबारे कुरा हुन्थ्यो । एक त प्रदीप अहिलेको जोसिलो युवा, त्यसमा पनि मार्केटिङ पढेको मान्छे । उसमा नयाँ विचारहरु हुन्छन् । त्यसैले कामका कुरा धेरै हुन्थे ।

– नयाँ पुस्तासँग काम गर्नुभएको छ । पहिले र अहिलेका कलाकार, उनीहरुको अभिनय र अहिलेको सिने क्षेत्रमा के भिन्नता पाउनुभयो ?

पहिला हाम्रो समयमा अहिलेको जस्तो धेरै प्लेटफर्म थिएन । स्क्रिनमा आउन, पर्फम गर्न र अवसर पाउन मुस्किल थियो । अहिले केही सजिलो छ । प्लेटफर्म, मेकिङदेखि सबै कुरामा सहज छ । एउटा सानो मोबाइलमै गरेको पर्फमेन्सले पनि अवसर पाउने समय छ । विकल्प धेरै छन्, जुन पहिला थिएन । हामीले ‘बेस्ट फर्म द वर्स’ गर्नुपर्थ्यो , अहिलेकाले ‘बेस्ट फर्म द बेस्ट’ गर्न पाउँछन् । अहिले मेकरहरु पनि धेरै आउनुभएको छ । त्यहीमाथि सिनेमा पढेर आउनुभएको छ । समग्रमा भन्नुपर्दा हाम्रो पालोमा केही कठिन थियो । अहिले धेरै सहज छ ।

– सिने क्षेत्रमा पहिला झैं अहिले एकक्षत्र राज गर्नसक्ने सम्भावना भएको कलाकारको रुपमा कसलाई हेर्नुहुन्छ ?

अब त्यो समय नै रहेन । धेरै प्लेटफर्म र अवसर भएकाले गर्दा त्यो समय फर्केर आउन गाह्रो छ । अब त आफ्नो विधाले राज गर्ने बेला आएको छ । प्रदीपले आफ्नो छुट्टै पहिचान बनाएर राज गरिरहेको छ, त्यसैगरी अरु कलाकारले आआफ्नो पहिचान बनाउँदै राज गरिरहनु भएको छ । अबको पुस्ता यसरी नै चल्छ ।

– चलचित्र रिलिज भएको भोलिपल्टबाट बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने होडबाजी चलिरहेको बेला ‘पुजार सार्की’ ले भने विषयवस्तुले दर्शकको मन जितोस् भन्ने छ या व्यापारिक हिसाबले सफल होस् भन्ने ?

कसैले चलचित्र प्रदर्शन गर्दैछ र बक्स अफिसमै लगाउँदैछ भने कमाउनुपर्छ भन्ने जसलाई पनि हुन्छ । मेरो चलचित्रले दर्शकको मन जितोस्, तर पैसा नकमाओस् र पछि म अर्काइभ गरेर त्यो चलचित्र घरमा लगेर राख्छु भन्ने कसैलाई मन हुँदैन । त्यसैले दर्शकले चलचित्र मन पराउनु पर्‍यो, सँगसँगै पैसा पनि कमाउनु पर्‍यो, तर पैसा कमाउने होडबाजीमा यति रेर्कड ब्रेक र उति रेकर्ड ब्रेक भन्ने होड चाहिँ नचलोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर