‘युगद्रष्टा’ दिवाकर ज्ञवाली, जसलाई आफू बाँचेको समाजले नै चिन्न सकेन
विसं १९९२ मा गुल्मीमा उदय भएर २०४१ सालमा देहान्तरण गर्नुभएका दिवाकर ज्ञवालीको जीवन र व्यक्तित्व समेटिएको स्मृतिग्रन्थको लोकार्पण गएको वैशाख १५ गते बुटवलमा भयो । स्मृतिग्रन्थमा दिवाकर ज्ञवालीलाई युगद्रष्टाको उपाधि दिइएको छ । ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ को लोकार्पण गुल्मी जिल्लाको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र सोही क्षेत्रका पूर्वसांसद् एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त रुपमा गर्नुभयो ।
को हुन् दिवाकर ज्ञवाली ?
दिवाकर ज्ञवालीको भौतिक शरीर यतिखेर हामीबीच छैन । उहाँको महान व्यक्तित्वका बारेमा अहिलेका धेरैजसो युवाहरुले त्यति धेरै बुझेका पनि छैनन् । हुने विरुवाको चिल्लो पात भने झैं दिवाकर ज्ञवाली सानै उमेरदेखि नै कुशाग्र बुद्धि, विवेकी र महान हुनुहुन्थ्यो । उहाँ आदर्शवादी शिक्षक, राजनीतिक चिन्तक, विकासप्रेमी र समाज परिवर्तनका स्वप्नद्रष्टा हुनुहुन्थ्यो ।
दिवाकर ज्ञवाली पूर्वीय एवम् पाश्चात्य सांस्कृतिक सभ्यताका ज्ञाता एवम् व्याख्याता हुनुहुन्थ्यो । अध्यात्मवाद र भौतिकवादका सम्यक द्रष्टा हुनुहुन्यो । उहाँका दर्शन र चिन्तन मानव समाजका बृहत्तर हितमा समर्पित रहेका छन् ।
बाल्यकाल र शिक्षादीक्षा
दिवाकर ज्ञवालीको जन्म विसं १९९२ सालमा तत्कालीन लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको ग्वादी कोलौदीमा भएको हो । बुबा पुरुषोत्तम र आमा नर्मदा ज्ञवालीका ५ सन्तानमध्ये उहाँ तेस्रो सन्तान हुनुहुन्थ्यो । उमेरले पुरुषोत्तम ज्ञवाली जेठो भए पनि करिब ७-८ वर्षको उमेरमा बर्माबाट बसाइँ सरी आएकी कन्या नर्मदा ज्ञवालीसँग कान्छी श्रीमतीको रूपमा विवाह भएको थियो । नर्मदा ज्ञवालीको कोखबाट दिवाकर ज्ञवालीको जन्म भएको थियो ।
दिवाकर ज्ञवालीले घरमै सामान्य अक्षर आरम्भ गरे पनि भञ्जिपोखराका गुरु होमनाथसँग केही संस्कृतका कुरा सिकी उहाँ अर्घाखाँची खिदिममा प्रारम्भिक शिक्षा लिन जानुभएको थियो । करिब ११ वर्षको उमेरमा दिवाकर ज्ञवालीले कर्मकाण्ड, रुद्री, चण्डी अमरकोष र वेदको सार जानिसक्नु भएको थियो । आमा नर्मदासँग अर्घाखाँची खिदिममा पढ्न नसक्ने बताएपछि दिवाकर ज्ञवालीलाई अध्ययनका लागि भारतको गोरखपुर, हरिद्वार र बनारस पठाइएको थियो ।
बनारसबाट शास्त्री एवम् आईए परीक्षा दुवै एकैसाथ उत्तीर्ण भएपछि उहाँले हंसपुरस्थित गोरखपुर विश्वविद्यालयमा संस्कृतमा आचार्य प्रथम वर्ष र अङ्ग्रेजीतर्फको ब्याचलर प्रथम वर्षको अध्ययन गर्नुभएको थियो ।
पढाइमा अब्बल भएकै कारण उहाँले भारतीय कलेजमा प्रथम श्रेणी हासिल गरी तक्मा र छात्रवृत्तिसमेत प्राप्त गर्नुभयो । तर, विदेशी विद्यार्थीलाई गोल्ड मेडल दिन नमिल्ने भनी प्रत्येक कलेजले प्रत्येक पटक निर्णय गर्दा उहाँले निकै अप्ठेरो महसुस गर्नुपरेको थियो । उहाँले संस्कृतमा आचार्यसम्म र अङ्ग्रेजीबाट बीए बीएड गर्नुभएको थियो । विदेशी विद्यार्थीलाई गोल्ड मेडल दिन नमिल्ने भनेपछि उहाँमा भारतप्रति वितृष्णा जाग्यो र नेपालमै केही गर्ने अठोटले स्वदेश फर्किनुभयो ।
शैक्षिक र सामाजिक व्यक्तित्व
दिवाकर ज्ञवालीले विसं २०२१ साल वैशाखदेखि रुरुक्षेत्र रिडीमा अवस्थित हाइस्कुलको प्रधानाध्यापकको जिम्मेवारी लिई शैक्षिक सेवा प्रारम्भ गर्नुभयो । विषयगत रुपमा उहाँ अङ्ग्रेजी विषयको शिक्षक हुनुहुन्थ्यो । तर, सबै विषयमा उहाँको विशेष दख्खल थियो । रिडी हाइस्कुलमा रहँदा दिवाकर ज्ञवालीले आफूलाई एक वैचारिक, शैक्षिक र सामाजिक अभियन्ताको रुपमा स्थापित गरिसक्नु भएको थियो ।
सानै उमेरमा बाबु गुमाएका दिवाकर ज्ञवालीमा शारीरिक रूपले तन्दुरुस्ती, मानसिक रूपमा परिपक्वता थियो । उहाँ बौद्धिक रूपमा तीक्ष्ण, मिलनसार, असल, चरित्रवान, शैक्षिक व्यक्तित्व, दृढ विश्वासी, आँट र साहस भएको व्यक्ति हुनुहुन्थ्यो ।
राजनीतिक चिन्तक र परिवर्तनका स्वप्नद्रष्टा
दिवाकर ज्ञवाली रिडी हाइस्कुलको प्रधानाध्यापक र समाज सुधारकको रूपमा आफ्नो गाउँ, समाज, विद्यार्थी र अभिभावकहरूका बीच आदर्श र सम्मानित हुनुहुन्थ्यो । तर, तत्कालीन राज्य व्यवस्था र प्रहरी प्रशासनको बक्रदृष्टिमा भने उहाँ व्यवस्थाविरोधी र विद्रोहीको रुपमा चिनिनुहुन्थ्यो ।
उहाँले संस्कृतमा आचार्यसम्म र अङ्ग्रेजीबाट बीए बीएड गर्नुभएको थियो । विदेशी विद्यार्थीलाई गोल्ड मेडल दिन नमिल्ने भनेपछि उहाँमा भारतप्रति वितृष्णा जाग्यो र नेपालमै केही गर्ने अठोटले स्वदेश फर्किनुभयो ।
समाजमा रहेका असमानता, वर्ग, अन्याय र अत्याचारको अन्त्य गरी समाजलाई अगाडि बढाउनुपर्छ भन्ने दृढ सोच उहाँमा थियो । उहाँ आफ्नो प्रगतिशील सोचाइ राख्दै समाज परिवर्तनका लागि निरन्तर लागिरहनु भएको थियो । तर, उहाँले कुनै राजनीतिक पार्टीको सदस्यता लिएर प्रत्यक्ष रुपमा दलको गतिविधिमा संलग्न भएको भने पाइँदैन । उहाँ द्वन्द्वात्मक भौतिकवाद र पश्चिमी सभ्यताका सवल पक्षहरूलाई सकारात्मक रूपमा लिनुहुन्थ्यो । वैचारिक प्रष्टता, समन्वयकारी क्षमता र सम्मानजनक व्यवहारका कारण प्रशासनिक र अन्य जिम्मेवारीका काम सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुन्थ्यो । तत्कालीन परिस्थितिलाई सूक्ष्म मूल्याङ्कन गर्ने र कसरी स्थानीय साधन र स्रोतलाई गाउँ र समाजको विकासमा लगाउने भनी प्रभावकारी उपायहरूको खोजीमा उहाँ सदैव लागिरहनुहुन्थ्यो ।
विकास निर्माण र समाज सुधारका काम गर्न उहाँ तत्कालीन ग्वादी गाउँ पञ्चायतको प्रधानपञ्च पनि हुनुभयो । सीमित स्रोत, साधन र बजेटबाट गर्न सकिने कार्य इमानदारी र कर्तव्यनिष्ठका साथ गर्नुभयो । ग्रामीण परिवारमा जन्मिएर सादा जीवन, उच्च विचारलाई आफ्नो जीवनको आदर्श बनाएका दिवाकर ज्ञवाली सबैका प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँका उच्च आदर्श, नैतिकता, सदाचार र कर्तव्यपरायणता सबैका लागि मार्गदर्शक बन्न सक्छन् ।
जन्म र मृत्युको अनौठो संयोग
जन्ममिति वा तिथिका आधारमा जन्म र मृत्युको संयोग हुने विश्वका महान व्यक्तित्वहरुमध्ये दिवाकर ज्ञवालीको जन्म र मृत्युको अनौठो संयोग देखिन्छ । दिवाकर ज्ञवाली करिब ४९ वर्ष यस धर्तीमा रहनुभयो । उहाँले करिब २२ वर्षसम्म विद्यालयको नेतृत्व गर्नुभयो । उहाँले राजनीतिक र सामाजिक चेतना बढाउँदै विकास निर्माणका कार्यमा अगुवाइ पनि गर्नुभयो ।
शैक्षिक, राजनीतिक, सामाजिक र विकास निर्माणका कार्यमा अगुवाइ गर्दागर्दै दिवाकर ज्ञवाली विसं २०४१ साउन महिनामा अचानक बिरामी पर्नुभयो । उपचारका लागि गुल्मीबाट पाल्पा अस्पतालमा लैजाँदै गर्दा बाटैमा ४८ वर्ष पूरा भएर ४९ वर्ष प्रवेश गरेकै दिनमा उहाँको निधन भयो ।
विसं १९९२ साउन १९ गते जन्मेका दिवाकर ज्ञवालीको देहावसान २०४१ साउन १९ गते नै भयो । उहाँको जन्म र मृत्युको यो अनौठो संयोग उल्लेखनीय मानिन्छ ।
स्मृतिग्रन्थमा दिवाकर ज्ञवाली
दिवाकर ज्ञवाली बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको बहुआयामिक व्यक्तित्व, सामाजिक र शैक्षिक तथा राजनीतिक योगदानलाई जीवन्त राख्ने उद्देश्यले दिवाकर स्मृति प्रतिष्ठानले उहाँको जीवन र व्यक्तित्वका बारेको स्मृतिग्रन्थ प्रकाशन गरेको छ ।
प्रतिष्ठानले स्व.दिवाकर ज्ञवालीको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णयपछि प्रा.डा.हिरण्यलाल ज्ञवालीको संयोजकत्वमा रुद्र ज्ञवाली र कलाधर अर्याल सदस्य रहेको सम्पादन समिति गठन भएको थियो । पछि सम्पादन समितिमा गुरुदत्त ज्ञवाली र यो पङ्क्तिकारलाई थप गरिएपछि दिवाकर ज्ञवालीको स्मृतिग्रन्थ तयार भयो ।
समीक्षात्मक दृष्टिमा स्मृतिग्रन्थ
‘युगद्रष्टा दिवाकर ज्ञवाली’ नामक यो स्मृतिग्रन्थ जम्माजम्मी ४५६ पेजको छ । फास्ट पिन्टर्स बुटवलमा मुद्रण गरिएको यस ग्रन्थको व्यक्तिगत मूल्य ५०० र संस्थागत मूल्य १ हजार रुपैयाँ राखिएको छ । यस ग्रन्थमा नेपाल सरकारका पूर्वविशिष्ट व्यक्तिहरु, राजनीतिक, शैक्षिक तथा सामाजिक व्यक्तिहरु, उहाँका समकालीन र व्यक्तिहरु, साथीभाइहरु, उहाँका विद्यार्थीहरु र इस्टमित्र र पारिवारिक सदस्यहरु गरी १०३ जनाका विचार, स्मरण र भावना समेटिएका छन् ।
स्मृतिग्रन्थमा प्रधानमन्त्री पुष्पकमल दाहालको शुभकामना सन्देश छ । त्यसैगरी गुल्मी जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, रुरु गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र दिवाकार ज्ञवालीको जन्म भएको वडाका अध्यक्ष घनश्याम अर्यालको शुभकामना सन्देश पनि छापिएको छ ।
दिवाकर ज्ञवाली रिडी हाइस्कुलको प्रधानाध्यापक र समाज सुधारकको रूपमा आफ्नो गाउँ, समाज, विद्यार्थी र अभिभावकहरूका बीच आदर्श र सम्मानित हुनुहुन्थ्यो । तर, तत्कालीन राज्य व्यवस्था र प्रहरी प्रशासनको बक्रदृष्टिमा भने उहाँ व्यवस्थाविरोधी र विद्रोहीको रुपमा चिनिनुहुन्थ्यो ।
स्मृतिग्रन्थमा ज्ञवालीका छात्र एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको लेख पनि छ । यस स्मृतिग्रन्थमा दिवाकर ज्ञवालीका समकालीन, शिक्षक, विद्यार्थी, राजनीतिक तथा सामाजिक अभियन्ता र नागरिक अगुवाहरूका विचार, स्मरण र अनुभूतिका आलेखहरू समेटिएका छन् ।
स्मृतिग्रन्थका आठ खण्ड
यस स्मृतिग्रन्थमा परिशिष्टसमेत गरी आठ खण्ड छन् । हार्डकभर पेजको पछाडि दिवाकर ज्ञवालीद्वारा रचित ‘मेरो रेडियो बजेन’ शीर्षकको अत्यन्तै महत्वपूर्ण कविता छापिएको छ । जुन कविता रिडी हाइस्कुलको मुखपत्र रुरु पत्रिकामा विसं २०२५ सालमा छापिएको थियो । जसका सम्पादक स्वयम् दिवाकर ज्ञवाली नै हुनुहुन्थ्यो ।
स्मृतिग्रन्थको पहिलो खण्डमा जीवनीमूलक लेखरचना समावेश छन् । यो खण्डले दिवाकर ज्ञवालीको समग्र जीवनका विविध आयाम उजागर गरेको छ । यस खण्डमा उहाँकै ज्येष्ठ सुपुत्र डा. मेघराज ज्ञवालीले आफ्ना बुबा दिवाकर ज्ञवालीको समग्र जीवनका बारेमा अत्यन्तै सारगर्भित लेख लेख्नुभएको छ । संस्कृत श्लोकबाट सुरु गरिएको यो लेखको शीर्षक नै ‘युगद्रष्टा दिवाकार ज्ञवाली’ रहेको छ । आफ्नो अनुभव र अनुभूतिसहित अत्यन्तै सूक्ष्म अध्ययन र विश्लेषण गरी लेखिएको यो जीवनीमूलक लेखको शीर्षक ‘युगद्रष्टा दिवाकार ज्ञवाली’ लाई नै स्मृतिग्रन्थको मूल नाम दिइएको छ ।
यस खण्डमा स्मृतिग्रन्थकै सम्पादक रुद्र ज्ञवालीको ‘कर्मयोगी दिवाकर ज्ञवाली’ शीर्षकको लेख अत्यन्तै ओजपूर्ण र स्तरीय रहेको पाइन्छ । अत्यन्तै सूक्ष्म अध्ययन र विश्लेषण गरी लेखिएको यस लेखले दिवाकर ज्ञवालीको बहुआयामिक र प्रतिभाशाली व्यक्तित्वलाई सटिक रुपमा उजागर गरेको छ ।
यसै खण्डमा दिवाकर ज्ञवालीका माइला छोरा वेदराज ज्ञवाली, नेपाल सरकारका पूर्व विशिष्ट व्यक्तिहरु प्रेमनिधि ज्ञवाली, तीर्थराज शर्मा ज्ञवालीलगायत १० जनाका जीवनीमूलक लेख रहेका छन् । ती लेखहरुमा दिवाकर ज्ञवालीको समग्र जीवनका विविध पक्षका बारेमा उल्लेख गरिएका छन् ।
दोस्रो खण्डको शीर्षक ‘अनुभूतिमा दिवाकर ज्ञवाली’ राखिएको छ । यस खण्डमा उहाँका बारेमा लेखिएका अनुभूतिमूलक लेख-रचनाहरु समावेश छन् । यसै ग्रन्थका सम्पादक एवम् वरिष्ठ साहित्यकार गुरुदत्त ज्ञवाली, पशुपति ज्ञवाली, कृष्ण ज्ञवाली, साहित्यकार भागीरथी श्रेष्ठलगायत ३९ जनाका अनुभूति यसमा समावेश छन् ।
तेस्रो खण्डलाई ‘राजनीतिज्ञका दृष्टिमा दिवाकर ज्ञवाली’ शीर्षक दिइएको छ । यसै खण्डमा दिवाकर ज्ञवालीका छात्र एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको लेख पनि छापिएको छ । यो लेख अत्यन्तै महत्वपूर्ण र उत्कृष्ट छ । प्रदीप ज्ञवालीले आफू दिवाकर ज्ञवालीको विद्यार्थी रहेको र उहाँको व्यक्तित्वको अमिट छाप परेको कुरा लेख्नुभएको छ । दिवाकर ज्ञवाली नेपालको समग्र राजनीति र समाजका लागि प्रेरणाको स्रोत भएको उल्लेख पूर्वमन्त्री प्रदीप ज्ञवालीले यस लेखमा गर्नुभएको छ ।
यसै खण्डमा दिवाकर ज्ञवालीका सहोदर भाइ स्व. केशव ज्ञवालीको पूर्वप्रकाशित लेख पनि छापिएको छ । यो लेख अत्यन्तै गहकिलो छ । राजनीतिज्ञ युवराज ज्ञवाली, कमल श्रेष्ठ, टङ्क पोखरेल, सञ्जीव गौतम, तेजप्रसाद कँडेल, लीलाबहादुर केसीलगायत ११ जनाले दिवाकर ज्ञवालीको राजनीतिक दृष्टिकोण र योगदानका बारेमा चर्चा गर्नुभएको छ ।
चौथो खण्डलाई ‘पारिवारिक स्मृतिमा दिवाकर ज्ञवाली’ शीर्षक दिएर उहाँको परिवारका सदस्यहरुका स्मृतिलाई स्थान दिइएको छ । यस खण्डमा उहाँका परिवारका सदस्यहरुले आआफ्ना स्मरण, भावना र अनुभूति लेखेका छन् । यो पारिवारिक खण्डले पाठकलाई अत्यन्त भावुक बनाइदिन्छ । खास गरी कान्छो छोरा शिव ज्ञवालीले लेखेको ‘टोपी झिकिएको त्यो दिन’ भन्ने आलेखले धेरैजसोको हृदयलाई छुन्छ । आफ्ना बाबाको मृत्यु भएको समेत अवगत नभएको अबोध बालकको टोपी अचानक कसैले झिकिदिँदाको हृदयविदारक अनुभूति उनले यस लेखमा उल्लेख गरेका छन् ।
यस खण्डमा विष्णु ज्ञवालीको स्मरण, प्रमिना भट्टराई ज्ञवालीको स्मृति र शर्मिला घिमिरे ज्ञवालीका अनुभूति, डा.मञ्जु ज्ञवालीका स्मरण र शान्ता ज्ञवाली गौतमको बुबालाई सम्झिँदा भन्ने लेखहरु अत्यन्तै मार्मिक र हदयस्पर्शी छन् । वेदराज ज्ञवाली, भोजराज ज्ञवाली, दिव्यराज ज्ञवाली र रुन्दता नेपाललगायत परिवारका सबैजसोका भावनात्मक लेखले पाठकको मन-मस्तिष्कलाई पगालिदिन्छ ।
परिवारका सबैजसो व्यक्तिमा उत्कृष्ट लेखनशैली रहेको, रचनात्मक क्षमता भएको र विद्वता रहेको उनीहरुले लेखेका लेखहरुमा पाउन सकिन्छ । यो गुण र क्षमता उनीहरुमा देखिनु सायद दिवाकर ज्ञवालीकै व्यक्तित्वको प्रभाव हो कि भन्ने प्रमाण प्रशस्त मात्रामा भेटिन्छ ।
कलाधर अर्याल, विजय सापकोटा, कोपिला ज्ञवाली र शान्तिदेवी घिमिरेका स्मरण लेखहरु अत्यन्तै भावुक, हदयस्पशी र स्तरीय छन् । डा.अनुपा ज्ञवालीको अङ्ग्रेजी भाषामा लेखिएको कविताले अत्यन्तै गहन भाव व्यक्त गरेको छ । युवा पुस्ता सन्देश ज्ञवाली र सुजित ज्ञवालीद्वारा अङ्ग्रेजी भाषामा लेखिएका भावनात्मक अनुभूति र स्मरण नयाँ पुस्ताका लागि अनुकरणीय छन् ।
परिवारका सबैजसो व्यक्तिमा उत्कृष्ट लेखनशैली रहेको, रचनात्मक क्षमता भएको र विद्वता रहेको उनीहरुले लेखेका लेखहरुमा पाउन सकिन्छ । यो गुण र क्षमता उनीहरुमा देखिनु सायद दिवाकर ज्ञवालीकै व्यक्तित्वको प्रभाव हो कि भन्ने प्रमाण प्रशस्त मात्रामा भेटिन्छ ।
पाँचौं खण्डलाई ‘शैक्षिक/सामाजिक जागरणमा दिवाकर ज्ञवाली’ शीर्षक दिइ उहाँले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानसँग सम्बद्ध सामग्री राखिएको छ ।
‘गीत-कवितामा दिवाकर ज्ञवाली’ शीर्षक राखिएको छैटौं खण्डअन्तर्गत उहाँका बारेमा सिर्जित गीत-कविता जस्ता पद्य लयात्मक सामग्री राखिएको छ । यसै खण्डमा स्मृतिग्रन्थका प्रधान सम्पादक प्रा.डा. हिरण्यलाल ज्ञवालीको कविता समावेश छ । अनुष्टुप छन्दमा लेखिएको यो कविताले दिवाकर ज्ञवालीको बहुमुखी प्रतिभाको वर्णन गर्दै उहाँ साँच्चिकै गगनको उज्ज्वल भास्कर वा सूर्य नै भएको पुष्टि गरेको छ । यसै खण्डमा ग्रन्थका सम्पादक गुरुदत्त ज्ञवालीको गीतले दिवाकर ज्ञवालीको महानता र व्यक्तित्व झल्काएको छ ।
सातौं खण्डमा उहाँका बारेमा अंग्रेजी भाषामा लेखिएका सामग्री समावेश छन् । प्रोफेसर के.एस. गैरै, देवीराम ज्ञवालीलगायत ४ जनाका अंग्रेजी भाषामा लेखिएका विविध लेखमा उहाँको बहुमुखी व्यक्तित्वलाई प्रस्तुत गरिएको छ ।
आठौं खण्डका रुपमा परिशिष्टअन्तर्गत उहाँका तस्बिरहरुका साथै अन्य उपलब्ध सामग्रीहरु राखिएका छन् । यसै खण्डको परिशिष्टाङ्कमा उहाँका पारिवारिक फोटाहरु र उहाँ सम्बद्ध उपलब्ध सामग्रीहरु पनि समावेश छन् । दिवाकर ज्ञवाली आफू बाहिर रहँदा घरमा पठाएको एउटा चिठी, शिक्षकको पहिलो नियुक्तिपत्र, उहाँको हस्ताक्षरसहितको हाजिरीपुस्तिका र उहाँको निधनमा रिडी माविले छपाएको हार्दिक श्रद्धाञ्जली र समवेदनालाई स्क्यान गरी राखिएको छ ।
यस स्मृतिग्रन्थमा कतै-कतै भाषिक त्रुटि भने भेटिन्छन् । तथापि यस ग्रन्थमा अन्य पुस्तकहरुभन्दा तुलनात्मक रुपमा भाषिक शुद्धाशुद्धीलाई बढी महत्व दिइएको पाइन्छ ।
सम्पादकीयको ओज र गहनता
स्मृतिग्रन्थको सम्पादकीय अत्यन्तै गहन र ओजपूर्ण लाग्छ । सम्पादकीय अत्यन्तै सूक्ष्म अध्ययन, गहन विश्लेषण र कडा मेहनत गरी लेखिएको प्रतीत हुन्छ । गहकिला र सुन्दर शब्दहरुको संयोजनमा लेखिएको सम्पादकीय समग्र ग्रन्थको एकमुष्ट सार खिच्न सफल भएको छ ।
सम्पादकीयमा युगद्रष्टा भनिएका दिवाकर ज्ञवालीको बारेमा लेखिएको छ, ‘दिवाकर ज्ञवालीका व्यक्तित्वका बहुआयामिक पक्षहरू छन् । दिवाकर ज्ञवाली यथास्थितिका विरोधी र सकारात्मक परिवर्तनका पक्षपाती हुनुहुन्थ्यो । उहाँले प्रत्यक्षतः कुनै राजनीतिक दलको सदस्यता लिएको नदेखिए पनि राजनीतिक विचारका हिसाबले उहाँ वाम पक्षधर हुनुहुन्थ्यो भन्ने कुरा केही आलेखहरूमा दाबी गरिएको छ ।’
तत्कालीन समाजले दिवाकर ज्ञवालीलाई चिन्न नसकेको दाबीसहित सम्पादकीयमा लेखिएको छ, ‘दिवाकर ज्ञवाली निर्भीक, निडर र यथास्थितिवादको विपक्षमा हुनुहुन्थ्यो । उहाँ अत्यन्तै प्रतिभाशाली दार्शनिक र कुशल सामाजिक अभियन्ता हुनुहुन्थ्यो । उहाँ पूर्वीय एवम् पाश्चात्य सांस्कृतिक सभ्यताका ज्ञाता एवम् व्याख्याता हुनुहुन्थ्यो । अध्यात्मवाद र भौतिकवादका सम्यक द्रष्टा हुनुहुन्यो । उहाँका दर्शन र चिन्तन मानव र समाजका बृहत्तर हितमा समर्पित थिए । उहाँमा अन्तरनिहित बहुआयामिक प्रतिभालाई तत्कालीन राजनीतिक परिवेशले चिनेन । उहाँ बाँचेको आफ्नै समाजले पनि उहाँको विलक्षण प्रतिभा र महान व्यक्तित्वलाई चिन्न सकेन ।’
युग परिवर्तित समयको द्योतक हो भने द्रष्टा त्यस युगको मार्गदर्शन गर्न अग्रसर व्यक्ति हो । समाज, समय र सिङ्गो युगलाई उचित मार्गमा हाँक्ने र मार्गदर्शन गर्नसक्ने प्रतिभा नै युगद्रष्टा हो । त्यो विराट प्रतिभा दिवाकर ज्ञवालीमा नै रहेको सप्रमाण पुष्टि हुन्छ ।
सम्पादकीयमा अगाडि लेखिएको छ, ‘तत्कालीन सत्ताका तावेदार, दरबारिया र उनका भरौटेहरूबाट दिएका प्रलोभनमा परेको भए दिवाकर ज्ञवाली पञ्चायती शासनकालमा कम्तीमा पनि अञ्चालाधीश अथवा मन्त्री बन्न सक्नुहुन्थ्यो । अथवा तत्कालीन प्रशासकले विभिन्न माध्यमले दिएका मानसिक यातना या धम्की-त्रासमा परेको भए एउटा औसत शिक्षकको भूमिकामा खुम्चिएर रहनुहुन्थ्यो । तर, स्वाभीमानी उहाँलाई यी दुबै कुरा मान्य थिएन । गाउँको समूल परिवर्तनविना समाज रुपान्तरण हुन सक्दैन भन्ने आफ्नो धारणामा उहाँ सतिसाल बनेर उभिनुभयो । ग्रामीण क्षेत्रका बासिन्दाको सामाजिक, आर्थिक र राजनीतिक चेतनाको स्तर उकास्ने अभियानमा उहाँ जीवनपर्यन्त लागिरहनु भयो ।’
‘दिवाकर ज्ञवालीका जीवनका थुप्रै अध्याय कालीगण्डकीको प्रवाहसँगै बगेर गएका छन् । समाजले उहाँका दार्शनिक तथा बौद्धिक प्रवाहलाई भण्डारण गर्न सकेन । साँच्चै भन्ने हो भने उहाँको बौद्धिक कुशाग्रतालाई चिन्ने क्षमता हामीसँग रहेन । उहाँले यो धराधाम छोड्नुभएको चार दशकपछि बल्ल हामी उहाँको स्मृतिग्रन्थ निकाल्ने सुरसारमा छौं । उहाँका स्मृतिहरू धूमिल हुँदै गएको अवस्थामा हामीले उहाँको स्मृतिका धूमिल दृश्यहरूलाई पुछपाछ गरेर समाजका अगाडि राखिदिने सानो प्रयत्नमात्र गरेका छौं ।’
प्रतिष्ठानका अध्यक्ष भोजराज ज्ञवालीद्वरा लिखित ‘अध्यक्षको कलमबाट’ भन्ने स्तम्भ अत्यन्त स्तरीय छ । प्रतिष्ठानले हालसम्म गरेका काम, स्मृतिग्रन्थ प्रकाशनका लागि भएका प्रयास र भावी योजना यसमा उल्लेख छन् ।
‘युगद्रष्टा’ उपाधिको सार्थकता
यस स्मृतिग्रन्थमा दिवाकर ज्ञवालीलाई युगद्रष्टाको उपाधि दिइएको छ । यो अत्यन्तै ओजिलो, गहन र महान उपाधि हो । यस्तो उपाधि जो-कोही व्यक्तिलाई दिन मिल्दैन । गहन अर्थ दिने युगद्रष्टाको उपाधि दिवाकर ज्ञवालीलाई नै किन दिइयो ? प्रश्न र जिज्ञासा दुबै उठेका छन् ।
युगद्रष्टा युग र द्रष्टाको संयोजनबाट मिलेर बनेको शब्द हो । युग परिवर्तित समयको द्योतक हो भने द्रष्टा त्यस युगको मार्गदर्शन गर्न अग्रसर व्यक्ति हो । समाज, समय र सिङ्गो युगलाई उचित मार्गमा हाँक्ने र मार्गदर्शन गर्नसक्ने प्रतिभा नै युगद्रष्टा हो । त्यो विराट प्रतिभा दिवाकर ज्ञवालीमा नै रहेको सप्रमाण पुष्टि हुन्छ ।
दिवाकर ज्ञवाली अत्यन्तै प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वका बहुआयामिक पक्षहरू छन् । उहाँ बहुमुखी प्रतिभाका धनी व्यक्तित्वमात्रै होइन, समग्र नैपालकै एउटा अनुकरणीय शैक्षिक व्यक्तित्व र कुशल सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो ।
दिवाकर ज्ञवाली गाउँको अवस्थामा सुधार ल्याउनुपर्छ भनेर निरन्तर केही न केही गरिरहनुहुन्थ्यो । चिन्तन गरिरहनुहुन्थ्यो । गाउँमा खानेपानी, कुवा-पँधेराको निर्माण, बाटो गोरेटो र पुल निर्माणलगायत समग्र विकासका विषयमा दूरगामी दृष्टि राख्नुहुन्थ्यो । परिवर्तन, विकास र समृद्धिको सपना देखाउनुहुन्थ्यो । राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रमा अति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बहु-आयामिक व्यक्तित्व, विलक्षण प्रतिभाका धनी दिवाकर ज्ञवाली चेतनाको संवाहक हुनुहुन्थ्यो ।
राजनीतिक र दार्शनिक ज्ञान, दूरदर्शिता, समस्याको पहिचान र समाधानका सूत्र पत्ता ल्याउने क्षमता भएका, नेतृत्व गर्ने कलाकौशल र समाज समयलाई मार्गदर्शन गर्ने क्षमता भएका कारण दिवाकर ज्ञवालीलाई स्मृतिग्रन्थमा दिइएको युगद्रष्टाको उपाधि अत्यन्त उपयुक्त, जायज र सार्थक मान्न सकिन्छ । दिवाकर ज्ञवाली समकालीन समाज र समयको युगद्रष्टा नै हुनुहुन्छ ।
अन्त्यमा
दिवाकर ज्ञवालीको भौतिक शरीर हामीबीच छैन । तर, नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा गरेका योगदानका कारण उहाँ जनजनका मनमा जीवित हुनुहुन्छ । उहाँको सत्चरित्र, परोपकारी, निर्भीक, सेवा, विलक्षण प्रतिभायुक्त व्यक्तित्व र कृतित्वले उहाँलाई अमर बनाएका छन् । दिवाकर ज्ञवाली आकाशमा सधैं चम्किने साँच्चिकै दिवाकर (सूर्य) झैं हुनुभएको छ ।
युगद्रष्टा दिवाकर ज्ञवाली र स्मृतिग्रन्थबारे विद्वतवर्ग, समीक्षक र पाठकहरुको यथोचित प्रतिक्रियाको अपेक्षासहित युगद्रष्टा दिवाकर ज्ञवालीप्रति भावपूर्ण श्रद्धासुमन !