नजिकबाट: सन्दीपको मुद्दामा फैसला गर्ने ‘निर्भिक’ न्यायमूर्ति
स्वर्गीय बुवाको लिगेसीमा टेकर आफ्नो पहिचान बनाइरहेकी अञ्जु चुनौती स्वीकार्न सधैं तत्पर
काठमाडौं । उच्च अदालतमा विचाराधीन सन्दीप लामिछानेको पुनरावेदन मुद्दा निकै पेचिलो बनिरहेको थियो । जे फैसला गर्दा पनि विवादित बन्नसक्ने डरले न्यायाधीशहरु भागाभागको अवस्थामा थिए ।
यसअघि तार्किक कारणविना पटक पटक सुनुवाइ स्थगित गरिएको हुँदा जेठ १ गतेको सुनुवाइ पनि कुनै बहानामा रद्द गरिने आशंकामा थिए सन्दीपका वकिल र समर्थकहरु । बिहान पेसी चढ्यो । मुद्दा पर्यो न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा ।
मुद्दाको पालो एक नम्बरमै भए पनि न्यायाधीशहरुले कुनै बहानामा सुनुवाइ नै नगर्ने वा एउटा आदेश दिएर टार्नसक्ने धेरैले आशंका गरेका थिए । तर, यी दुई न्यायाधीशलाई नजिकबाट चिन्नेहरु भने आश्वस्त भए कि आज सुनुवाइ हुन्छ र सही फैसला आउँछ । भयो पनि त्यस्तै ।
न्याय क्षेत्रमा भट्ट र उप्रेतीका आआफ्नै पृष्ठभूमि र छवि छन् । साथै, उनीहरुबीच केही समानता छन् । दुवै भावनामा बहकिएर होइन, कानूनका दफाहरु हेरेर, तथ्यप्रमाणमा टेकेर फैसला गर्छन् । दुवैको न्यायिक क्षमता निर्विवाद रुपमा स्थापित छ । दुवैलाई बाह्य माहोल र अरु खालको प्रेसरले हल्लाउन सक्दैन । भनसुन र आर्थिक प्रलोभनले दुवैलाई छुँदैन ।
मुद्दा पहिल्यैदेखि स्पष्ट र छ्याङ्ग थियो नै । सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला कायम राख्न सक्नेगरी कुनै तथ्यप्रमाण गौशाला- २६ का वकिलहरुले पेश गरेका थिएनन् । सन्दीपले जबरजस्ती गरेको मात्र होइन, उनीहरुबीच कुनै प्रकारको शारीरिक संसर्ग भएको पुष्टि हुने प्रमाणसमेत थिएन । जिल्ला अदालतले बहकाउमा परेर त्रुटिपूर्ण फैसला सुनाएको न्यायाधीशद्वयले नांगो आँखाले नै देखिरहेका थिए ।
गौशालाको तर्फबाट पेश भएको एउटामात्रै प्रमाण होटलको सीसीटीभी फुटेज थियो, जसमा दुवै जना हात समातेर होटलभित्र पसेको र भोलिपल्ट फेरि हात समातेर हाँस्दै होटलबाट निस्केको देखिन्छ । यही फुटेजका आधारमा जिल्लाका न्यायाधीशले बलात्कार ठहर्याइदिएका थिए ।
यता, गौशाला- २६ नाबालिग नरहेको पुष्टि गर्ने तथ्य प्रमाणहरु मिडियामै छरपस्ट भइसकेको अवस्था थियो । त्यसैले यो घटना दुई उमेर पुगेका युवायुवतीको राजीखुशीपूर्ण ‘वान नाइट स्ट्यान्ड’ मात्र भएको निष्कर्षमा पुग्न न्यायाधीशलाई कुनै समय लागेन । तर, फैसला सुनाउन त्यति सजिलो थिएन । अघिल्लो दिन इजलास सकिएपछि फैसलालाई प्रभाव पार्ने हेतु गौशाला २६ लाई वकिलले न्यायाधीशहरुसामु ल्याएर रुन लगाएका थिए । अर्कोतर्फ महिलावादीहरुको एउटा कित्ता फैसला अदालतलाई दुत्कार्न हतियार तिखारेर बसिरहेको अवस्था थियो ।
दुईमध्ये एकजना न्यायाधीश महिला हुनुको फाइदा उठाउने प्रयास गौशाला- २६ का वकिलहरुले गरेका थिए । तर, अञ्जु त्यहाँ ‘महिला न्यायाधीश’ नभएर ‘न्यायाधीश’ मात्र थिइन् । र, उनले न्यायाधीशमात्रै भएर फैसला गरिन् ।
अञ्जुलाई नजिकबाट चिन्नुअघि उनको पिता स्व. भरतराज उप्रेतीको चर्चा गर्नु उपयुक्त हुन्छ । लामो समय ‘कर्पोरेट लयर’ का रुपमा काम गरेका भरतराज पछि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भए । कर्पोरेट वकिल हुँदाखेरि उनी सुट-पाइन्ट, टाइ लगाएर हिँड्थे, त्यो पनि दिनदिनै फेरीफेरी । न्यायाधीश भएपछि तीन वर्षसम्म दुई जोर दौरासुरुवाल र कोटले चलाए । उनी र प्रकाश वस्ती सर्वोच्च अदालतमा अन्यन्तै इमानदार र निर्भिक न्यायमूर्तिका रुपमा चिनिन्थे । तर, दुवै जना न्याय क्षेत्रको राजनीतिक कोपभाजनमा परे ।
अनुभव, कार्य सम्पादन र क्षमताको दृष्टिकोणले स्थायी न्यायाधीशको हकदार थिए उप्रेती र वस्ती । यदि स्थायी भएको भए प्रधानन्यायाधीश बन्ने लाइनमा हुन्थे । तर, उनीहरु दुवैलाई अन्यायपूर्वक लखेटियो । यो दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश हुँदाको समय हो । उच्चबाट चोलेन्द्रशमशेर राणा, गोपाल पराजुली, दीपकराज जोशी जस्ता विवादितलाई सर्वोच्च तानियो र उनीहरु अन्ततः सर्वोच्चको सर्वोच्च पदमा पुगे ।
यसरी सर्वोच्चबाट बाहिर धकेलिएपछि विक्षिप्त बन्न पुगेका थिए भरतराज । पूर्वन्यायाधीश भएका कारण उनी फेरि वकालत पेशामा फर्किन सकेनन् । अरु कुनै ठाउँमा नियुक्ति पनि पाएनन् । यही कारणले डिप्रेसनमा पुगेपछि २०७२ सालमा भरतराजले आफ्नै घरभित्र डोरीको पासो लगाएर आत्महत्या गरे । आत्महत्याअघि उनले सुसाइड नोटमा आफ्नो शव नजलाइकन शिक्षण अस्पतालका विद्यार्थीहरुलाई अनुसन्धानका लागि दिन भनेका थिए ।
उनै भरतराजकी छोरी अञ्जुले आफ्नो बुवाको पदचिन्ह पछ्याइन् । पेशामा मात्र नभएर आचरणमा पनि । उनी पनि सुरुमा कर्पोरेट वकिल नै थिइन् । स्वर्गीय सुवास नेम्वाङले अनामनगरमा खोलेको पायोनियर ल फर्ममा आवद्ध रहेर उनले वकालत गरेकी थिइन् । २०७६ सालमा उनी उच्च अदालतको न्यायाधीश नियुक्त भइन् । सुरुमा वीरगञ्ज उच्च अदालतमा रहेकी उनी केही समयअघि पाटन उच्च अदालत आएकी हुन् ।
न्याय सम्पादनमा निष्पक्षता र निर्भिकताका लागि चिनिन्छिन् उप्रेती । उनी चुनौती मोल्न हिच्किचाउँदिनन् । महिलाका मुद्दामा उनी यथेष्ट संवेदनशील छिन्, तर ‘पुरुष सधैं गलत र महिला सधैं सही’ हुन्छन् भन्ने उग्रवादी सोचबाट ग्रसित छैनन् । ‘संसारका सबै पुरुष बलात्कारी हुन्’ भन्ने खालको दूषित मनोग्रन्थी उनमा छैन ।
अर्का न्यायाधीश भट्टले इमानदार र सादगी श्रीमानको छवि बनाएका छन् । अञ्जु जस्तै उनी पनि निष्पक्ष न्याय सम्पादनका लागि प्रख्यात छन् । सानोतिनो हुण्डरीले उनको न्यायिक निष्ठा हल्लिँदैन । भट्ट जिल्ला न्यायाधीश हुँदै उच्चमा आएका हुन् । यसअघि उनी पनि वीरगञ्ज उच्च अदालतमा थिए ।
उनको सादगीपनको एक उदाहरण दिँदै विगतमा सँगै काम गरेका एक कर्मचारीले सुनाए, ‘श्रीमानज्यू वीरगञ्ज उच्च अदालतमा हुँदा कहिले पनि अफिसको गाडी लिएर कञ्चनपुर (घर) जानुभएन । गाडी अफिसमा नै छोडेर सार्वजनिक यातायात चढेर जानुहुन्थ्यो ।’
यो देशमा अरुपनि यस्तै न्याय मुर्ति भएमा मात्रै पिडितले न्याय र पिडकले सजाय पाउँछ अनि मात्रै यो देश न्याय नमरेको देश हुँनेछ।
We’re truly thankful for judges like you. Your honesty and loyalty make a difference, ensuring that ordinary people like us receive justice. 👍
आत्महत्या कसरी गरेको भनेर लेख्न जरुरी छैन। प्रोटोकल फलो गरौं।
नेपाल मा न्याय मरेको रहेनछ भन्ने कुरा को उदाहरण हुन यी दुई न्यायाधीश 🙏🙏
माननीय न्यायाधीश सुदर्शन देव भट्ट को बिषयमा अपुष्ट समाचार प्रकाशित भएको छ, वहाँ को पृष्ठ भुमि थाहा नपाएर समाचार लेख्नु भएको छ।वहाँ जिल्लान्यायाधीश बाट होइन कानुन ब्यवसायी बाट सिधै उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो।