सहकारी प्रकरणको छानबिन समितिको टीओआर तयार पार्न कार्यदलको बैठक बस्दै – Nepal Press

सहकारी प्रकरणको छानबिन समितिको टीओआर तयार पार्न कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदलको बैठक बस्दैछ । समितिको टीओआर बनाउन आज बिहान साढे ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । उक्त कार्यदलले आज टीओआर बनाउनेछ ।

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् । उक्त कार्यदलले आज टीओआर बनाउनेछ ।

संसदको गत्यावरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका थिए ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान पनि कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर