विश्वासको मतको प्रक्रिया अवरोध नगर्न सभामुखको आग्रह – Nepal Press

विश्वासको मतको प्रक्रिया अवरोध नगर्न सभामुखको आग्रह

काठमाडौं । प्रधानमन्त्रीको विश्वासको मतको कार्यसूची साथै सदन सुचारुलगायतको विषयलाई लिएर कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले संसदमा भएका मतभेदलाई ध्रुवीकरण नभई सहकार्य गर्दै अघि बढ्न सत्ता र प्रतिपक्षलाई आग्रह गरेका छन् ।

‘अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ । आज सहकार्य गरौं । संसदमा मतभेदहरू हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ’, सभामुखले भने ।

केही बिजनेसलाई लिएर सत्ता र प्रतिपक्ष एकठाउँमा आउनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको विश्वासको मत दिने प्रक्रियामा अवरोध नगर्न आग्रह गरे ।

‘केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं । प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो । एक सातापछि नै बजेट ल्याउँदैछौं । मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनुहुँदैन । संसदको नेतृत्वको हिसाबले मैले यसको व्यवस्थापन गर्नैपर्दछ । यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराउँदछु’, सभामुखको भनाइ थियो ।

‘आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो । त्यसले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट पनि भनिन्छ । हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ । आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँदछ’, सभामुखले थपे ।

संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भएकाले सहजीकरण गरेर जान उनको आग्रह थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर