कांग्रेसको मागमा गृहमन्त्री तटस्थ, तर व्यक्ति केन्द्रित छानबिन समिति नबनाउने अडानमा प्रचण्ड-ओली दृढ
कार्यदल बैठक भोलि बोलाइने, सहमति सम्भावना न्यून
काठमाडौं । सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति बनाउने सत्ता र प्रतिपक्षबीच सैद्धान्तिक सहमति जुटे पनि टीओआरमा कुरा नमिल्दा राजनीतिक गतिरोधको गाँठो फुक्न सकेको छैन । टीओआर बनाउन गठित कार्यदलको आज बैठक नै बसेन ।
संसदीय समितिको टीओआरमै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको माग छ । तर, सत्ता पक्षका शीर्ष नेताहरु यसमा सहमत छैनन् । एक जना व्यक्तिमाथि केन्द्रित रहेर संसदीय छानबिन समिति बनाउँदा गलत नजिर बस्ने र राजनीति नै गलत दिशामा जाने उनीहरुको तर्क छ ।
रास्वपा स्रोतका अनुसार लामिछाने स्वयम् भने आफूमाथि संसदीय छानबिनका लागि तयार बनेका छन् । उनले हिजो संसदमा आफूमाथि उठेका प्रश्नबारे जवाफ दिने क्रममा आफूविरुद्ध अन्तर्राष्ट्रियस्तरकै छानबिन समिति बनाए पनि तयार रहेको बताए । आज पनि संसदबाट बाहिरिने क्रममा उनले रास्वपालाई बाहिरै राखेर संसदीय छानबिन समिति बनाउन चुनौती दिए ।
लामिछानेले भने, ‘जस्तो समिति बनाए पनि हुन्छ । रास्वपालाई बाहिरै राखेर बनाउनुस् । हामी तयार छौं ।’
लामिछानेको यो अभिव्यक्तिलाई धेरैले कटाक्षका रुपमा मात्रै बुझेका छन् । तर, निकट स्रोतका अनुसार उनी संसदमा बोल्ने अवसर पाइसकेपछि आफूमाथि छानबिनका लागि तयार भएकै हुन् । यद्यपि, राजीनामाको मनस्थितिमा भने छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली भने व्यक्ति केन्द्रित छानबिन समिति कुनै हालतमा बनाउन नहुने पक्षमा छन् । आज संसद बैठकपछि प्रधानमन्त्रीको च्याम्बरमा तीन नेताहरुबीच छोटो संवाद भएको थियो । लामिछानेले आज कान्तिपुरले प्रकाशित गरेको ‘प्रमाण’ का सम्बन्धमा नेताद्वयलाई बुझाएका थिए । उनले संसदीय छानबिनका लागि पनि आफू तयार रहेको भन्दै छानबिनबाट चोखो निस्किने आत्मविश्वास देखाएको स्रोतले बतायो ।
तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीमाथि नै छानबिन गरिँदा आइपर्न सक्ने राजनीतिक परिस्थितिको बारेमा लामिछानेलाई सम्झाएका थिए । ओलीले पनि त्यसमा सहमति जनाएको स्रोतले बताएको छ ।
स्रोतले भन्यो, ‘लामिछाने गृहमन्त्रीको कुर्सीमै बसेर उहाँमाथि छानबिन हुन सक्दैन । उहाँले मार्ग प्रशस्त गर्नुपर्छ । उहाँले छोड्दा परिस्थिति थप प्रतिकूल बन्ने सम्भावना नेताद्वयले बुझ्नुभएको छ । गृहमन्त्रीले भने हल्का रुपमा लिनुभएको प्रतीत हुन्छ ।’
सत्तापक्ष र कांग्रेस आआफ्नो अडानमा रहेकाले आज कार्यदलको बैठक बस्न सकेन । कार्यदलका संयोजक कानूनमन्त्री पदम गिरीले आज संसद बैठक अगाडि कार्यदलको बैठक राख्न खोजेका थिए । उनले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई फोन गरेर सल्लाह पनि गरे । तर, लेखकले टीओआरमा रवि लामिछानेको नाम उल्लेख गर्ने कुरामा सहमति नभएसम्म बैठक बस्नुको औचित्य नरहेको जवाफ दिएको स्रोतले बतायो ।
गिरीले भोलि बैठक बोलाउने तयारी गरेका छन् । तर, भोलिको बैठक पनि निष्कर्षमा पुग्नसक्ने सम्भावना झिनो रहेको स्रोतको भनाइ छ ।
काँग्रेसले जे भन्यो त्यहि हुनुपर्ने ? दादागिरी देखाउने ? लाज छैन ?
काङ्ग्रेसको तानशाहीपनले सीमा नाघ्यो!