कम्युनिष्टहरुमा अघोषित, तर तीव्र ध्रुवीकरण – Nepal Press

कम्युनिष्टहरुमा अघोषित, तर तीव्र ध्रुवीकरण

निर्वाचन आयोगमा दर्ता भएका र नभएका डेढ दर्जनभन्दा धेरै कम्युनिष्ट नामका राजनीतिक दल अस्तित्वमा छन् । त्यस्तै प्रगतिशील एवं आफूलाई वामपन्थी विचार र राजनीतिको पक्षधर भन्न रुचाउने दलहरु पनि छन्, तर संगठनात्मक रुपमा भने नेकपा एमाले जस्तो भीमकाय संगठनदेखि सानो क्लबसम्मको आकारमा उनीहरुको भिन्न भिन्न अस्तित्व छ ।

बहुलवादमा आधारित दलीय व्यवस्थामा समान विचारका धेरै दलको अस्तित्व र गतिविधि हुने विषय लोकतन्त्रको सुन्दर पक्ष हो, तर राजनीतिक आन्दोलन वा अभियानको क्रममा समान विचारका राजनीतिक दलहरु वा अभियानहरु एकापसमा ध्रुवीकृत हुने वा लोप हुने वा आकारमा घटबढ हुने पनि भइरहन्छन् । जुन हामीले यथार्थमा देखिरहेका छौं ।

पछिल्लो समयमा फेरि एक पटक कम्युनिष्ट, वामपन्थी, प्रगतिशील र देशभक्त राजनीतिक विचारका दलहरुबीचमा अघोषित रुपमा तीव्र ध्रुवीकरणको प्रवृत्ति देखिएको छ । औपचारिक रुपमा पार्टी एकताभन्दा पनि देशव्यापी अघोषित बृहत् अभियानकै रुपमा सो प्रक्रिया अगाडि बढेको देखिन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि दक्षिण एसियामै विशाल कम्युनिष्ट पार्टीको रुपमा उदाएको एमाले २०५४ सालमा विभाजन हुन पुग्यो । विभाजित पार्टी २०५८ सालमा एकीकरण भए पनि पूर्ण एकीकरण हुन सकेन ।

२०५२ सालदेखिको ‘सशस्त्र जनयुद्ध’ मार्फत् उदाएको नेकपा माओवादी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमार्फत् देशव्यापी रुपमा भीमकाय संगठन संरचना भएको एमालेलाई धेरै पछाडि पारेर आफूलाई विशाल पार्टीको रुपमा अगाडि आयो, तर सो पार्टीले आफूलाई ५ वर्ष पनि एकताबद्ध रुपमा राख्न सकेन । २०६९ सालमा नै विभाजन हुन पुग्यो ।

बहुलवादमा आधारित दलीय व्यवस्थामा समान विचारका धेरै दलको अस्तित्व र गतिविधि हुने विषय लोकतन्त्रको सुन्दर पक्ष हो, तर राजनीतिक आन्दोलन वा अभियानको क्रममा समान विचारका राजनीतिक दलहरु वा अभियानहरु एकापसमा ध्रुवीकृत हुने वा लोप हुने वा आकारमा घटबढ हुने पनि भइरहन्छन् ।

माओवादी यसरी विभाजन भयो कि झण्डै आधा दर्जनमा संख्यामा बाँडियो । जसले गर्दा त्यस पछाडिका निर्वाचनमा उसले आफूलाई सत्तापक्ष वा प्रतिपक्ष शक्तिको रुपमा भन्दा पनि पूरक शक्तिको रुपमा मात्रै उभ्याउँदै आएको छ ।

२०४६ साल अघि वा पछि विभाजन भएर फरक अस्तित्व निर्माण गर्न नसकेका धेरै पार्टीहरु अब करिब अन्तिम किनारातर्फ आएको उनीहरुको निर्वाचन नतिजा र संगठनात्मक उपस्थितिले देखाएको छ । समाज विज्ञानको नियमानुसार भोलिका दिनमा नयाँ शक्तिहरु पैदा हुँदैनन् भन्न त सकिँदैन, तर हाललाई भने एउटा शक्तिशाली कम्युनिष्ट केन्द्रको सम्भावना फेरि एक पटक बलियो भएको विषयलाई अस्वीकार गर्न कसैले नसक्ने अवस्था बनेको देखिन्छ ।

ध्रुवीकरणका आधार तथा तथ्यगत संकेत

पहिलो- २०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लिनुपर्ने हुन्छ । सो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा आफूलाई कम्युनिष्ट वा वामपन्थी वा प्रगतिशील कित्ताकै हिमायतीको रुपमा प्रस्तुत गर्न चाहिरहने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एउटा गठबन्धनमा उभिए । एमाले सीमित नगन्य ठाउँबाहेक एक्लै गठबन्धनका विरुद्धमा उभियो । प्रत्यक्ष र समानुपातिक दुवै मतको भारलाई हेर्दा कांग्रेसको नेतृत्वमा उभिएको कम्युनिष्ट शक्तिलाई जनताले स्वीकार गरेको देखिएन, तर एमाले एक्लै लोकप्रिय मतमा सबैभन्दा अगाडि आयो ।

दोस्रो- भर्खरै वैशाखमा इलाममा प्रतिनिधिसभा सदस्यको लागि र बझाङमा प्रदेशसभा सदस्यको लागि भएको उपनिर्वाचनको मत परिणाम वा सन्देशलाई लिनुपर्ने हुन्छ । सत्ता सहकार्यको हिसाबले इलामको निर्वाचनमा माओवादीले एमालेको उम्मेदवारलाई समर्थन गरेको थियो भने एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएको थियो । तर, २०७९ सालको निर्वाचनमा माओवादीले प्राप्त गरेको मतसँग हिसाब गर्न नमिल्नेगरी एमालेका उम्मेदवारले थप लोकप्रिय मत प्राप्त गरेर विजयी भए । जहाँ एकीकृत समाजवादीका उम्मेदवारले आफूलाई प्रतिस्पर्धीको रुपमा समेत उभ्याउन सकेनन् ।

२०७९ सालमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जितेको बझाङमा सबै दलको तर्फबाट एकल उम्मेदवार हुँदा एमालेसँग माओवादी र एकीकृत समाजवादी प्रतिस्पर्धी नै बन्न नसक्ने अवस्था बन्यो । जहाँ एमालेले कांग्रेसको उम्मेदवारलाई पराजित गर्ने अवस्था बन्न पुग्यो ।

अबको निर्वाचनसम्म अर्थात् २०८४ सालसम्म पुग्दा विशेषगरी दक्षिणपन्थी र वामपन्थी वा कम्युनिष्ट र गैरकम्युनिष्ट ध्रुवीकरण आवश्यक रहेको सवाल जनस्तरबाट उठ्न थालेको छ, तर यहीनेर विगतका एकता र विभाजनको तीतो अनुभव गरिसकेका स्वार्थरहित कार्यकर्ताको तहले भने ‘जोड-घटाउ’ एकताको अपेक्षा गरेको छैन ।

यी चुनावी मत परिणामका संकेतहरु होइनन्, २०७९ को निर्वाचनपश्चात एमालेले देशव्यापी विशाल संगठन परिचालन अभियान सञ्चालन गर्‍यो । संगठनलाई सुदृढ गर्ने कार्यलाई निरन्तरता दियो । सोही क्रममा देशव्यापी रुपमा विशेषगरी एकीकृत समाजवादी र माओवादीकै नेता तथा कार्यकर्ता एमालेमै ध्रुवीकृत हुने प्रक्रिया देखियो, तर सोही अवधिमा माओवादी र एकीकृत समाजवादीले पनि सञ्चालन गर्न खोजेको संगठनात्मक अभियान भने सफल हुन सकेन । साथै ती पार्टीहरु ध्रुवीकरणको केन्द्र पनि बन्न सकेनन् ।

त्यस्तै ध्रुवीकरणको अर्को महत्वपूर्ण आधारको रुपमा सत्ता समीकरणका घटनाक्रमलाई पनि लिन सकिन्छ । कांग्रेसको योजनाबद्ध कदम वा एमालेको योजनाबद्ध कदमले नै तत्कालीन सत्ताका समीकरणमा राष्ट्रिय राजनीतिक शक्तिलाई ध्रुवीकृत गर्ने गरेको छ । जहाँ अन्य कम्युनिष्ट वा वामपन्थी वा देशभक्त शक्तिहरु पूरक शक्तिको रुपमा सहभागी हुने गरेका छन् ।

अस्थिरताको निकास एउटा कम्युनिष्ट पार्टी

विशेषगरी संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थिरता पैदा हुने, योजनाबद्ध विकास सुरु हुने र मुलुक समृद्धिको मार्गतर्फ प्रवेश गर्ने धेरै नेपालीको आकांक्षा थियो, तर निर्वाचनमार्फत् सरकार निर्माण तथा नीति निर्माणको तहमा पैदा हुने असंगतिपूर्ण अंकगणितले नेपालीको आकांक्षालाई सम्बोधन गर्नेभन्दा पनि तुषारापात गर्ने काम भयो । जुन कुरा आज हामीले देखेका र भोगेका छौं, जसले गर्दा नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण उपलब्धिको रुपमा मानिएको वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न उठाउनेसम्मको अवस्था सिर्जना हुन पुगेको छ ।

अबको निर्वाचनसम्म अर्थात् २०८४ सालसम्म पुग्दा विशेषगरी दक्षिणपन्थी र वामपन्थी वा कम्युनिष्ट र गैरकम्युनिष्ट ध्रुवीकरण आवश्यक रहेको सवाल जनस्तरबाट उठ्न थालेको छ, तर यहीनेर विगतका एकता र विभाजनको तीतो अनुभव गरिसकेका स्वार्थरहित कार्यकर्ताको तहले भने ‘जोड-घटाउ’ एकताको अपेक्षा गरेको छैन । जसले भोलि फेरि समस्या सिर्जना गर्नसक्छ । बरु वर्तमानमा प्राकृतिक रुपमा सिर्जना भएको ध्रुवीकरणको बहावलाई रोक्न हुन्न भनेर नेतृत्वतर्फ आशा गरेका छन् ।

(लेखक नेकपा एमाले स्याङजाका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

One thought on “कम्युनिष्टहरुमा अघोषित, तर तीव्र ध्रुवीकरण

  1. bisleshan thik laagyo.tar amerika ra bharat kmyunist milchhnki bhaner thaadaa kaan garer baseko bela arthat kamyunist ekta sanga bisw patnkari punjibaad daraaeko bela nepali netako dimaag kasari chalchh hern dherai baanki chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *