कानूनमन्त्रीको प्रष्टीकरण- सरकारको कुनै दल फुटाउने नियत छैन, संशोधन गर्न विधेयक फिर्ता लिएको हो (भिडिओ)
काठमाडौं । कानूनमन्त्री पदम गिरीले कुनै दल विभाजन गराउने नियतले सरकारले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएको प्रस्ट पारेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदमा दर्ता भएको विधेयक संशोधन गर्न सरकारले फिर्ता लिएको बताए ।
उनले भने, ‘दल फुटाउन होइन, राजनीतिक दलसम्बन्धी जुन विधेयक दर्ता भएको थियो, त्यसलाई थप परिमार्जन गर्नुपर्ने, केही संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएकाले फिर्ता लिइएको हो । त्यो कुनै दलसँग लक्षित पनि छैन । कुनै दल फुटाउने भन्ने उद्देश्य पनि छैन । त्यस ढंगले सरकार अगाडि बढ्दैन ।’
तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दल विभाजन गराउने नियतले सरकारले विधेयक फिर्ता लिएको भन्दै आपत्ति जनाएको छ ।