हरेक मूल्य चुकाउन तयार छु, ब्यागमा लुगाफाटो-औषधी बोकेर हिँडेको छु : कैलाश सिरोहिया – Nepal Press

हरेक मूल्य चुकाउन तयार छु, ब्यागमा लुगाफाटो-औषधी बोकेर हिँडेको छु : कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् । मूल मुद्दा विषयान्तर गर्न आफूलाई सामान्य सोधपुछसमेत नगरी पक्राउपूर्जी जारी गरिएको उनको टिप्पणी छ ।

एक विज्ञप्ति जारी गर्दै सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर विचलित नहुने उल्लेख गरेका छन् ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्की समेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षडयन्त्र भएको थियो । म अहिले पनि व्यक्तिगतरुपमा हरेक मूल्य चुकाउन तयार छु । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,’ उनले भनेका छन् ।

कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफैँ उजुरी गर्न लगाएर बिना सोधपुछ पक्राउपूर्जी जारी गरिएको सिरोहियाको आरोप छ ।

उनले भने, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोच्न जरुरी छ, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ? अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?’

आज आफूलाई भेट्न कान्तिपुरमै आएका कांग्रेस सांसदहरूसँग पनि सिरोहियाले ब्ल्याकमेलिङसँग नडराउने बताए ।

उनले भने, ‘यस्ता कुनै पनि ब्ल्याकमेलिङबाट कान्तिपुर आफ्नो काम कर्तव्यबाट विचलित हुँदैन । व्यक्तिगतरुपमा म अनुसन्धानमा सघाउन तयार छु । तर राजनीतिक सौदावाजी मान्य छैन । म त बिहान यो कुरा थाहा पाएपछि ब्यागमा लुगाफाटो र औषधी बोकेर हिँडेको छु ।’


प्रतिक्रिया

One thought on “हरेक मूल्य चुकाउन तयार छु, ब्यागमा लुगाफाटो-औषधी बोकेर हिँडेको छु : कैलाश सिरोहिया

  1. काङ्ग्रेस पार्टीका सांसदहरु भेट्न आए। धन्यवाद काङ्ग्रेस जनहरु। गज्जब!

Leave a Reply

Your email address will not be published. Required fields are marked *