सिरोहियालाई हिरासत पुर्याउने डा. इन्द्रजीत महतो को हुन् ? (भिडिओ)
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहियालाई हिजो प्रहरीले पक्राउ गरेपछि उनीविरुद्ध उजुरी दिने युवा चर्चामा छन् । सर्लाही हरिवन निवासी डा. इन्द्रजीत महतोले सिरोहियासँग दोहोरो नागरिकता रहेको भन्दै प्रहरीमा जाहेरी हालेका थिए ।
पेशाले डाक्टर इन्द्रजीत हरिवनमा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन् । यसअघि उनी धरानमा प्रध्यापक थिए । उनी सामाजिक क्रियाकलापमा सक्रिय छन् भने राजनीतिमा समेत आवद्ध छन् । उनको राजनीतिक पृष्ठभूमि भने स्थिर छैन ।
डा. महतोले राजा पृथ्वीनारायण शाहको तस्वीर गाउँ-गाउँमा, घरमा-घरमा राखेर उनको सम्मान गरौं भनेर सार्वजनिक आह्वान नै गरेका थिए । त्यसलाई उनले हरिवनमा अभियानको रूप दिएका छन् । पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा राज्य तहबाट नै मनाउने ब्यवस्था गर्नका लागि सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग संघर्ष गरेका थिए ।
डा. महतो नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा हरिवन वडा नं ९ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए । यद्यपि, उनी कांग्रेसमा धेरै टिक्न सकेनन् । त्यसपछि नेकपा एमाले प्रवेश गरेर केही समय सक्रिय भए । तर, केही समयमा एमाले पनि त्यागे ।
२०७९ को आमचुनावमा डा. महतोले सर्लाही क्षेत्र नं. ३-क बाट प्रदेश सभा सदस्यको निम्ति स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावमा उनले जम्मा ६८६ मत मात्र प्राप्त गरे । चुनाव हारेपछि उनी रास्वपा प्रवेश गरेका हुन् । हाल उनी रास्वपा प्रदेश सदस्य छन् ।
कान्तिपुरले आज पार्टी केन्द्रकै निर्देशनमा डा. महतोले उजुरी हालेको दाबी गर्दै समाचार लेखेको छ । गृहमन्त्री रवि लामिछानले आफ्ना स्वकिय सचिव दीपक बोहरालाई यही प्रयोजनका लागि जनकपुर खटाएको समाचारमा दाबी गरिएको छ ।