थिम्पुकी पत्रकार भन्छिन्- सगरमाथा आधार शिविर पुगेपछि भुटान सरकार सही लाग्यो – Nepal Press

थिम्पुकी पत्रकार भन्छिन्- सगरमाथा आधार शिविर पुगेपछि भुटान सरकार सही लाग्यो

काठमाडौं । छेन्चो देमा भुटानकी गिनेचुनेकी पत्रकार हुन् । सन् २०२३ की वर्ष पत्रकार महिला भएकी उनी भुटानको मूलधारे अंग्रेजी अखबार कुन्सेलमा काम गर्छिन् । भुटान बाहिरका विश्व अखबारहरुमा उनको नामरेखा आएका छन् । डिप्लोम्याट, थर्ड पोल, निक्की एसियादेखि न्यू योर्क टाइम्ससम्ममा उनका समाचारका नामरेखा आएका छन् ।

उनै देमा हालसालै नेपालमा थिइन् । नेपालको सगरमाथा क्षेत्रमा थिइन् । सगरमाथा आधार शिविरमा पुगेकी थिइन् । उनले सगरमाथा आधार शिविरसम्मको आफ्नो यात्रा नेपाल प्रेससँग खुलेर सुनाएकी छन् ।

श्रीमान र साथी कसैले नपत्याएको उनको सगरमाथा आधार शिविर सपना

सगरमाथा आधार शिविरको यात्रामा जाने कुरा देमाले सुनाउँदा उनका श्रीमानले पत्याएनन् । देमाले जाने बलियो इच्छाशक्ति देखाएपछि निरुत्साहित पनि पारेनन् । श्रीमानले उनलाई बिहान व्युँझाउन थाले, उनलाई हिँडाउन थाले । २ हजार ३०० मिटर बढीको उचाइको थिम्पुमा जन्मेकी देमालाई ५ हजार ३०० मिटर बढीको उचाइको यात्रामा जानु सजिलो थिएन ।

भुटान प्रहरीका अधिकारी उनका श्रीमान छादोर नाम्गेले उनलाई जबरजस्त बिहान हिँडाउने अभ्यास गराउन थाले । हिँड्न अनकनाउँदा उनले व्यङ्ग्य गर्दै भन्थे, ‘सगरमाथा क्षेत्रमा हिँड्नै नसकेर नमर । बीमाको रकम कम छ ।’

एक दिन देमालाई श्रीमानले सोधे, ‘तिमी लुक्ला विमानस्थल भएरै जाने हो ?’ देमाले ‘हो’ भनेपछि उनले थपिहाले, ‘यो त नेपालको मात्रै होइन विश्वकै जोखिमपूर्ण विमानस्थल हो ।’ श्रीमानलाई थर्काउँदै देमाले भनिन्, ‘मलाई थाहा छ त म त्यहाँ नपुग्दै यहाँ डर नदेखाउ न ।’

अप्रिल २९ (वैशाख १७) मा भुटानको अन्तर्राष्ट्रिय पारो विमानस्थलबाट नेपालको त्रिभुवन विमानस्थलसम्मको एक घण्टाको यात्रामा सँगै थिइन् देमाकी साथी ल्हामो । एकै गाउँका हुन उनीहरु । केही समय अगाडिको सामान्य पहाडको हाइकिङ गर्दा देमालाई गाह्रो भएको देखेकी थिइन् उनले । देमा अरुभन्दा विलम्ब भएको देखेकी थिइन् । उनै देमा नेपाल आउने कारण सगरमाथा आधार शिविर क्षेत्रको यात्रामा जान लागेको सुनेर उनले पत्याइनन् । हाइकिङमा पोख्त उनले सीधै भनिन्, ‘तिमी हिमालयन बुट क्याम्पमा जाने गलत मान्छे हौ ।’

श्रीमानको हौसलाको बीच सगरमाथा आधार शिविर नपुग्ने शंका र साथीको पुग्न योग्य नै नभएको टिप्पणीले देमालाई गलाएन । उनमा पनि एकखाले शंका चैं थियो । त्यही भएर उनले सगरमाथा आधार शिविरमा पुगेर फरफराउन बोकेको भुटानको झण्डाको कुरा कसैसँग गरिनन् । गुपचुप बोकिन् । जसै उनी वैशाख २७ गते सगरमाथा आधार शिविरमा पुगिन्, उनी भावुक भइन् ।

काठमाडौंबाट सुरु भएको यात्राको आठौं दिनमा आधार शिविर पुगेकी थिइन् उनी । काठमाडौंबाट लुक्ला उडान र बाँकी पैदल यात्रा गरेकी थिइन् । भावुक भएरै भुटानी झण्डा निकालिन् । केही तस्बिर लिइन् । भिडिओ लिइन् । पछि त्यही तस्विर सामाजिक सञ्जालमा राखेर लेखिन्, ‘म प्रथम होइन । म अन्तिम पनि होइन, तर म सगरमाथा आधार शिविरको ५ हजार ३६४ मिटर उचाइमा पुगें ।’

यस्तै उनले भुटानी झण्डा फहराएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले सगरमाथा आधार शिविरमा पुगेर भुटानी झण्डा फहराउनेबारेमा कहिल्यै सोचिनँ । सामान्यतया १२ दिनको यात्रा आठ दिनमा पार गरेकोमा ज्यादै गौरवान्वित भएको छु । मेरो खुशीको सीमा छैन ।’

मन कुँडाउने बाबु उमेरका भरिया र भारी बोक्ने जनावरलाई दिइने यातना

खुम्बु यात्रामा पहिलो दिन लुक्ला, दोस्रो दिन मोन्जो, तेस्रो दिन नाम्चे र चौथो दिन खुम्जुङ पुगिन् देमा । पाँचौं दिन दिङबोचे पुगिन् । पाँचौं र छैटौं दिन दिङबोचे । दिङबोचेबाट सातौं दिन पिरामिड ल्याब अनि आठौं दिनमा आधार शिविर । यसरी सगरमाथा आधार शिविरसम्म यात्रा भयो देमाको ।

सगरमाथा आधार शिविरबाट भने उनी घोडा चढेर पिरामिड ल्याब आइन् । त्यसपछि हिँडेर फेरिचे पुगिन् । फेरिचेबाट हेलिकप्टर चढेर लुक्ला आइन्, लुक्लाबाट हवाईजहाज चढेर काठमाडौं । खुम्बुको एक फन्को लाएर काठमाडौं आउन उनले ११ दिन खर्चिन् । हिमालयन बुट क्याम्पकी सहभागी उनले व्यक्तिगत खर्च पनि धेरै गरिन् । जस्तोः स्वास्थ्यमा समस्या भएपछि आधार शिविरबाट पिरामिट ल्याबसम्म आउँदा १५० अमेरिकी डलर तिरिन् । फेरिचे अस्पतालमा ५० डलर । ठमेलमा ट्रेकिङ सामान किनमेलमा १५० डलर । जम्माजम्मी ३५० अमेरिकी डलर यात्रामा निजी खर्च भएको यात्रा उनलाई महँगो लाग्यो । तर, अनुभव भने ज्यादै सुन्दर भएको उनी सुनाउँछिन् ।

उनलाई दुई कुराले धेरै मन दुःखायो । पहिलो- झण्डै ७० वर्षका पाका भारिया देख्दा । उनले लुक्ला जाने उकालोमा हिलारी पुल पार गरेपछि देखिको भरिया देख्दा उनले एक भरियामात्रै देखिनन् । उनले आफ्ना बाबु देखिन् । यसले उनको चित्त दुःखायो, तर एक किलो पनि भारी नहुने देमाभन्दा उनी छिटो हिँडेको देख्दा उनलाई लाजमर्दो भयो ।

दाेस्राे- पाङबोचेको उकालोको घटनाले उनलाई झनै तनाव दियो । देमाहरु ओरालो लागिरहेका थिए । भारी बोकेका याकहरु उकालो आइरहेका थिए । त्यसै क्रममा भारी धेरै भएर एक याक लड्यो । याक ल्याउने युवा शेर्पाले याकको हेरचार गर्नुको साटो लात्तैलात्ताले टाउको, छाती, पेटमा हाने । त्यसको प्रतिकारमा देमा जान खोज्दा अरुले रोके । उनले भिडियोमात्र खिचिन् ।

यो सम्झँदै देमा भन्छिन्, ‘विश्वभर पशु अधिकारको कुरा गर्नेहरुले खुम्बुको त्यो कुरामा किन चुइक्क नबोलेका ?’

खुम्बुले भुटान र भुटानले खुम्बुबाट सिक्ने कुरा

खुम्बुमा देखिने छोर्तेन र गुम्बाहरुले देमालाई खुम्बु होइन भुटानमा हिँडेको भान पर्‍यो । भाषा नमिले पनि जीवनशैली हेर्दा भुटानको आफ्नो डुक्पा समुदाय जस्तै लाग्यो खुम्बुका शेर्पा समुदाय । बुखारी भनेर भुटानमा आगो बाल्ने र शेर्पाको आगो बाल्ने तौरतरिका एकै लाग्यो । एउटामात्रै फरक थियो- खुम्बुमा दाउरा होइन गुइँठा धेरै बालिन्छ ।

भुटानमा जतिजति अग्लो क्षेत्रमा पुगिन्छ, त्यत्ति त्यत्ति जनजीवन कमजोर देखिन्छ । खुम्बुमा चै जत्ति माथि गयो उत्ति सुविधासम्पन्न लाग्यो देमालाई । भुटानमा उच्च क्षेत्रमा विद्यार्थी कम हुन्छन् । शिक्षक झनै कम । खुम्जुङको एडमण्ड हिलारी विद्यालयमा ३०० बढी विद्यार्थी र ९० शिक्षकशिक्षिका देख्दा देमा चकित भइन् । एउटामात्रै हेलिकप्टर चालू भएको भुटानबाट आएकी देमाले खुम्बुमा ट्रयाक्सी जत्तिकै हेलिकप्टर प्रयोग हुँदा फरक अनुभूति भयो । भुटानका घरहरु उच्च भागमा छरिएका देखेकी देमाले खुम्बुमा झुरुप्प देखिन् । फोहोर व्यवस्थापन पनि राम्रो लाग्यो ।

उनी भन्छिन्, ‘भुटान फोहोर छ भनेको होइन, तर भुटानले सिक्ने कुरा धेरै छ खुम्बुबाट ।’

खुम्बुको जति जति मुनि यात्रा हुन्थ्यो देमालाई नेपाल सरकार सही लाग्यो । जस्तै धेरै पर्यटक । धेरै पर्यटकीय कमाइ । धेरै सुविधा । यो कुराले उनलाई सोच्न बाध्य बनायो, ‘आखिर भुटान सरकारले पनि नेपाल जस्तै किन गर्दैन ?’

७० देशका आरोहीहरु भेला भएको आधार शिविरमा जम्माजम्मी २० मिनेट बिताएपछि भने देमालाई लाग्यो- भुटान सरकार नै सही छ । आधार शिविरभन्दा टाढा हुँदाको उत्साह आधार शिविर पुगेपछि मर्‍यो । हिमनदीहरुमा गाडिएका टेन्टहरु र बर्सेनि हिमनदीको ह्रासको तथ्यांक सगरमाथा क्षेत्रमा खटिएका नेपाल सरकारका अधिकारीहरुको कुरा सुनेपछि उनलाई फेरि लाग्यो- पर्यटनमा भुटान सरकार सही छ ।

देमा भन्छिन्, ‘मान्छेले वातावरणमा भन्दा पर्यटक र पैसामा मात्रै ध्यान दिएको पाएँ ।’

पर्यटनको नाममा सबैलाई सहज आउन दिएर वातावरण बिगार्नुभन्दा नियन्त्रण गर्नु नै राम्रो लाग्यो देमालाई सगरमाथा आधार शिविरमा पुगेर । त्यो कुराले उनले भुटान सरकारको कम संख्याका गुणस्तरीय पर्यटक ल्याउने नियम सही लाग्यो । उनी भन्छिन्, ‘जब आधार शिविरमा पुगेर मैले खुम्बुका हिमनदीहरु देखें, मलाई मेरो सरकार (भुटान)को दृष्टि दीर्घकालीन लाग्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *