कीर्तिमानी आरोही फुञ्जो लामाको स्वागत
काठमाडौं । १५ घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।
आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी हुन् । उनी २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल भएकी हुन् ।
विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनले १४ घण्टा ३१ मिनेटमा शिखर चुमेकी हुन् । सन् २०१८ मा उनले ३९ घण्टा ६ मिनेटमा शिखरमा पुगेकी थिइन् । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उनको कीर्तिमान भङ्ग गरेकी थिइन् ।
विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गरेकी उनले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गरेकी छन्। उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् ।
आरोही फुञ्क्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्दै आएकी छन् । उनले सोलुखुम्बुको खुम्बु र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आएकी हुन् ।
सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताइन् ।
विमानस्थलमा उनलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए ।