सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध – Nepal Press

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

गोरखा ।  उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ ।  आइतबार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

“पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ,” उनले भने ‘‘पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ ।” पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिए ।

पहिरोले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ । “पहिरो पन्छाउन दुईतीन दिनभन्दा बढी समय लाग्नसक्ने अवस्था छ, गुरुङले भने, “चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ ।” पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति हुन नपाएको हो ।

पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण भने नआएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

“पहिरो खसेको भन्ने सूचना आएको छ,” उनले भने “प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेका छौँ, थप विवरण भने प्राप्त हुन बाँकी नै छ ।” बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाड ब्लास्टिङ गरेर सडक निर्माण गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *