एमाले लुम्बिनीमा जिल्ला अधिवेशनः शीर्ष नेताहरुका गृहजिल्लामा सहमति, ४ जिल्लामा कसरी छानिन्छ नेतृत्व ? – Nepal Press

एमाले लुम्बिनीमा जिल्ला अधिवेशनः शीर्ष नेताहरुका गृहजिल्लामा सहमति, ४ जिल्लामा कसरी छानिन्छ नेतृत्व ?

रुपन्देही । जेठ मसान्तसम्म लुम्बिनी प्रदेशका सबै जिल्लामा अधिवेशन सकाउने मिति तोकेको नेकपा एमालेले केही मुख्य नेताहरुको गृहजिल्लामा सहमतिबाट नेतृत्व छानेपनि अन्य जिल्लामा भने निर्वाचनको विधिबाट नेतृत्व छनौट भएको छ ।

१२ जिल्ला भएको लुम्बिनी प्रदेशमा एमालेको ८ वटा जिल्ला अधिवेशन सकिँदा ४ वटामा सर्वसम्मत र ४ वटामा निर्वाचनबाट नेतृत्व छानिएको छ । अधिवेशन भएका दाङ, रुकुमपूर्व, पाल्पा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व छनौट भएको छ भने रोल्पा, बर्दिया, बाँके र कपिलवस्तुमा निर्वाचनबाट नेतृत्व छानिएको छ  ।

दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो भने पाल्पा नेताहरु दलबहादुर राना, ठाकुर गैरे, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको गृहजिल्ला हो । बाँकी रहेका ४ वटा जिल्लामा अधिवेशनको तयारी भइरहेको छ ।

पार्टीको केन्द्रीय तालिका अनुसार जेठ मसान्तभित्र सक्ने गरी धेरै जिल्लामा अधिवेशन सकिएको र बाँकी रहेका ४ जिल्लाले पनि निर्धारित समयमै अधिवेशन गरिसक्ने नेकपाए माले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । रुपन्देही, गुल्मी, अर्घाखाँची र प्यूठानमा अधिवेशनको तयारी चलिरहेको छ ।

रुपन्देहीमा यसअघि १६ र १७ गते निर्धारण गरिएको अधिवेशन मिति सारेर जेठ २३ र २४ गते गर्ने तयारी गरिएको छ भने प्युठानमा जेठ २१ र २२ गते, अर्घाखाँचीमा जेठ २६ र २७ गते, गुल्मीमा २९ र ३० गते अधिवेशन गर्ने तयारी भइरहेको छ ।

बाँकी जिल्लामा को को छन् आकांक्षी

रुपन्देही एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मासहितका धेरै नेताहरुको गृहजिल्ला हो । रुपन्देहीमा हालका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, सैनमैना नगरपालिका पूर्व मेयर एवं पार्टीका जिल्ला उपसचिव चित्र कार्की, उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए निर्वाचन हुने बताए । रुपन्देहीमा पनि सर्वसम्मत नेतृत्व छान्ने तयारी नेताहरुले गरेका छन् तर आकांक्षी बढी भएकाले समस्या आउनसक्ने नेताहरुको भनाइ छ ।

नेकपा एमाले रुकुमपूर्वको अध्यक्षमा लीलामणि गौतम निर्वाचित भएका छन् । ९ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गौतम सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र कुमार अधिकारी सर्वसम्मत भए । जिल्लाको नवौँ अधिवेशनबाट अधिकारी लगायत १०५ जनाको सिङ्गो कमिटी नै सर्वसम्मत चयन गरिएको हो ।

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित भएका छन् । बहालवाला अध्यक्ष डम्मर शर्मालाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन्। बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भए ।

दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् । यस्तै रोल्पामा भएको निर्वाचनमार्फत अध्यक्षमा अमृत बुढा निर्वाचित भएका थिए । पाल्पामा यसअघि सचिव बनेका ओमबहादुर गुरु सर्वसम्मत भएका छन् भने बाँकेमा निरक गुरुङ विर्नचनबाट निर्वाचित भएका हु्न् । दाङमा शिवकुमार आचार्य निर्वाचित भएका छन् ।

गुल्मीमा २९ र ३० गते हुने अधिवेशनमा अहिलेका अध्यक्ष बालसिंह काउछा र प्रदेश कमिटी सदस्य हिरा एसी प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन् । यहाँको अधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले धेरै चासो दिने भएकाले यहाँको नेतृत्व चयन पेचिलो हुने देखिन्छ । तर नेताहरुले गुल्मीमा पनि सर्वसम्मत बनाउने दावी गरेका छन् ।

प्युठानमा जेठ २१ र २२ गते हुने निर्वाचन अध्यक्षको लागि हालका अध्यक्ष विजय विराट विष्टबाहेक अन्यले अझै मुख खोली सकेका छैनन् । विष्ट पनि सकेसम्म सर्वसम्मत रूपमा आफू दोहोरिने दाउमा छन् ।

अर्घाखाँचीमा हालका अध्यक्ष पीताम्बर भुसाल दोहोरिने तयारीमा छन् । अन्य पदाधिकारीहरूमा अरू दाबेदार देखिए पनि अहिलेसम्म अध्यक्षमा भुसालको बाहेक अन्य नेता खुलेर नआएको कार्यकर्ताहरू बताउँछन् ।

रुपन्देहीमा हालका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, सैनमैना नगरपालिका पूर्व मेयर एवं पार्टीका जिल्ला उपसचिव चित्र कार्की, उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।

एमाले नेताहरुले केही जिल्लाको अवस्था हेरेर पनि अब सर्वसम्मत नेतृत्व छान्ने विषयमा ध्यान केन्द्रीत बनाएको जनाएका छन् । बर्दिया र कपिलवस्तुमा उम्मेदार बनेरै निर्वतमान अध्यक्ष पराजित भए भने बाँकेमा उम्मेदारी दर्ता गराएका निर्वतमान अध्यक्षले पछि उम्मेदारी फिर्ता लिुनपरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर