टेस्ट राष्ट्रलाई अत्याउँदै एसोसिएट्सहरु, नेपालको पालो कहिले ? – Nepal Press

टेस्ट राष्ट्रलाई अत्याउँदै एसोसिएट्सहरु, नेपालको पालो कहिले ?

काठमाडौं । आईसीसी टी-२० विश्वकपको पूर्वसन्ध्यामा घरेलु टोली अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा हराएर सनसनी मच्चायो, तर अमेरिकाले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक भने होइन ।

सन् २०२१ को डिसेम्बरमा अमेरिकाले टी-२० अन्तर्राष्ट्रियमै आयरल्यान्डलाई हराएको थियो । अहिले बंगलादेशलाई हराएर उसले विश्वकपका प्रतिद्वन्द्वीलाई कमजोर नआँक्न सन्देश दिएको छ ।

तुलानात्मक रुपमा अमेरिकाभन्दा बलियो देखिने गरेको र टेस्ट राष्ट्र जत्तिकै फ्यान बेस भएको नेपालले भने हालसम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रलाई हराउन सकेको छैन । नेपालले पहिलो पटक सन् २०१४ को टी-२० विश्वकपमा टेस्ट राष्ट्रसँग खेलेको थियो । त्यतिबेला नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो ।

त्यसपछि सन् २०१८ को एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा जिम्बावे र अफगानिस्तानसँग खेलेको थियो । गत वर्ष भएको एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा नेपालले आयरल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे जस्ता टेस्ट राष्ट्रसँग खेलेको थियो । त्यसै वर्ष नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्यो ।

अमेरिकामात्र होइन, यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया जस्ता एसोसिएटले पनि टेस्ट राष्ट्रलाई हराएका छन् । नेदरल्यान्ड्सले बंगलादेश र दक्षिण अफ्रिकालाई एकएक तथा इङ्ल्यान्ड र जिम्बावेलाई २-२ पटक हराएको छ । दक्षिण अफ्रिकालाई सन् २०२२ को नोभेम्बरमा हराएको थियो । यूएईले अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाएयता दुवैलाई हराएको छ ।

यस्तै न्युजिल्यान्डलाई गत अगष्टमा हराएको थियो । स्कटल्यान्डले बंगलादेशलाई २ पटक तथा वेस्ट इन्डिज र जिम्बावेलाई एकएक पटक हराएको छ । सन् २०२१ मा जिम्बावे र एक वर्षपछि वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

ओमानले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गत वर्ष आयरल्यान्डलाई निराश बनाएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । नामिबियाले तीन वटा टेस्ट राष्ट्रलाई टी-२० अन्तर्राष्ट्रियमा हराएको छ । त्यसमा पनि जिम्बावेमाथि ७ पटक जीत हात पारेको छ । सन् २०२१ मा आयरल्यान्ड र सन् २०२२ मा जिम्बावे र श्रीलंकालाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर