विकास बहस: कटारीमै किन मेडिकल कलेज ?
पूर्वाधारलाई मात्रै विकास देख्ने आँखा अहिले फेरिएका छन् । समाजको विकास शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चिताले मात्रै गर्न सक्छ भन्ने विश्वव्यापी अवधारणा हो । विकासको आधुनिक अवधारणालाई समाजशास्त्री अमर्त्य सेन र महबुब उल हकको दृष्टिले संसारभर हेर्ने गरिएको छ । सेन र हकको मानव विकास सिद्धान्तले आर्थिक वृद्धिलाई मात्र होइन, मानवीय क्षमता र स्वतन्त्रतामा जोड दिँदै शिक्षा, स्वास्थ्य र लैंगिक समानतामा लगानीलाई महत्व दिन्छ । यसको अर्थ सबै नागरिकमा स्वास्थ्य, शिक्षा र अवसरमा समान पहुँचको अवस्थालाई जोड दिएको हो ।
नेपालमा यो अवधारणा सरकारले विभिन्न दस्तावेजमा आत्मसात गर्दै आएको छ । यससँगै समान अर्थ राख्ने दिगो विकास सिद्धान्तलाई अन्तर्राष्ट्रिय रुपमै स्वीकार गरेको छ । नर्वेबाट शुरु भएको यो सिद्धान्तले सामाजिक विकास र समानतालाई मुख्य रुपमा उठान गर्छ । नेपालले दिगो विकास लक्ष्य (सन् २०१६-२०३०) लाई कार्यान्वयन गर्दैछ । यसको आवधिक समीक्षा नेपालले सन् २०२४ मा गर्दैछ ।
दिगो विकास लक्ष्यका १७ उद्देश्य, १६९ लक्ष्य र ४९४ सूचक छन् । १७ मध्ये तेस्रो स्वास्थ्य र चौथो उद्देश्य सबैलाई शिक्षामा समावेशी तथा स्तरीय समान पहुँच, आजीवन सिकाइ प्रवर्द्धन गर्ने उल्लेख छ । यी दुईसहित अन्य उद्देश्य, लक्ष्य र सूचकहरुका आधारमा नेपालको विकासको मूल्यांकन विश्वले गर्नेवाला छ ।
माथि उल्लेखित दुई दिगो विकास लक्ष्य पूरा गर्न शिक्षा र स्वास्थ्यमा समावेशी र समान अवसर पाउने सुनिश्चित गर्न गाउँमा अस्पताल र गुणस्तरीय शिक्षा दिने शिक्षण संस्था हुनु जरुरी छ । दुर्गमको पहुँचमा त्यस्ता संस्था स्थापनाले नागरिकलाई संविधानले मौलिक हकका रुपमा स्थापित अधिकार दिन र दिगो विकास लक्ष्य पूरा गर्न योगदान गर्छ । अहिले शहरमा भन्दा गाउँमा त्यस्तो अवसर एकदम कम छ । यही कारण आन्तरिक बसाइसराइले गाउँ र शहरको बसाइसराइ असन्तुलित भइरहेको छ । विकासमा समानता ल्याउन सिद्धान्त र नीतिले मार्ग निर्देशनमात्रै गर्ने हो । ती सिद्धान्तका आधारमा कार्यान्वयनमा लानु सम्बन्धित क्षेत्र वा सरोकार पक्षको दायित्व हुन आउँछ ।
अघिल्लो वर्ष नै प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेर सम्भाव्यता अध्ययन गरिएको थियो । कोशी प्रदेशको हकमा उदयपुरमा स्थापना गर्ने निर्णय भएको छ । कार्यान्वयन हुनुपर्छ भन्ने माग सुनुवाइ नभइरहेको सन्दर्भमा अहिले यो विषय फेरि चर्चामा आएको छ ।
उल्लेखित विकासका सिद्धान्त चर्चा गर्नुको कारण नेपालमा ती सिद्धान्तका आधारमा बनेका कार्यक्रमहरु छन्, तिनको प्रभावकारी कार्यान्वयन भएमा दिगो विकास र मानव विकास लक्ष्य पूरा गर्न योगदान पुग्छ । अझ दुर्गमको पहुँचमा त्यस्ता काम भएमा थप प्रगति हासिल भएको देखिन्छ ।
समावेशी विकासको पहुँच नपुगेका ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर जस्ता जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक हुनुको कारण रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता सवालमा नागरिकको पहुँच नहुनु हो । गाउँमा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी छैनन् । आर्थिक रुपले विपन्नहरु शहर पसेर महँगा कलेजमा पढ्न सक्दैनन्, शहरमा पढेकाहरु गाउँ आउँदैनन्, त्यही भएर प्राविधिक शिक्षाका लागि स्वास्थ्य तथा अन्य प्राविधिक क्षेत्रका कलेजहरु गाउँको पहुँचमा स्थापना गर्नुपर्छ भनेर धेरै आन्दोलन भएका छन् ।
सरकारले पनि त्यस्ता नीतिहरु ल्याएको छ । अघिल्लो वर्ष नै प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेर सम्भाव्यता अध्ययन गरिएको थियो । कोशी प्रदेशको हकमा उदयपुरमा स्थापना गर्ने निर्णय भएको छ । कार्यान्वयन हुनुपर्छ भन्ने माग सुनुवाइ नभइरहेको सन्दर्भमा अहिले यो विषय फेरि चर्चामा आएको छ ।
भौगोलिक हिसाबले सगरमाथाका पहाडी जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र सिन्धुली तथा सिरहासमेतलाई उदयपुरको कटारी भूगोल उपयुक्त हुने देखिन्छ । स्थलगत अध्ययनमा आएको टोलीले समेत कटारी नगरपालिका- ३ मा प्रदेशस्तरको मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने राय दिएको अवस्थामा अहिले फेरि गाईघाटतिर लैजान लविङ शुरु भएको छ ।
स्थलगत अध्ययनमा आएको टोलीले समेत कटारी नगरपालिका- ३ मा प्रदेशस्तरको मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने राय दिएको अवस्थामा अहिले फेरि गाईघाटतिर लैजान लविङ शुरु भएको छ ।
यस सन्दर्भमा स्वास्थ्य र शिक्षा क्षेत्रका लागि निकै महत्वपूर्ण मानिएको प्रदेशस्तरीय मेडिकल कजेल स्थापना कहाँ गर्ने भन्ने विषयमा उदयपुर दुई भागमा बाँडिएको छ । एउटा समूहले सदरमुकाम गाईघाट लाने र अर्को समूहले कटारीमा स्थापना गर्नुपर्ने माग गरिरहेको सन्दर्भमा यसको मुख्य सेवा क्षेत्रका पहाडी जिल्लाहरुको धारणा र औचित्यका बारेमा विकासका समसामयिक सिद्धान्त र नेपालले अवलम्बन गरेका नीतिको समेत सन्दर्भ जोडेर यस आलेखमा चर्चा गर्न खोजिएको छ ।
कटारीमै मेडिकल कजेल किन ?
कटारी सगरमाथाका पहाडी जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बुको प्रवेशद्वार र व्यापारिक केन्द्र पनि हो । यसका साथै छिमेकी जिल्लाहरु सिन्धुली र सिरहाको अधिकांश भूभागको केन्द्रमा पर्छ कटारी ।
सरकारले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्दा यसको सेवा क्षेत्रलाई स्वाभाविक रुपमा हेर्नुपर्छ । उदयपुरको कटारीमात्रै यस्तो ठाउँ हो, जुन पाँच जिल्लाको लागि केन्द्रमा छ । यी जिल्लाबाट अहिले पनि बसोबासदेखि अध्ययन अध्यापनका लागि केही व्यक्तिहरु कटारी झर्ने क्रम वर्षौंदेखि चलिरहेको छ । यही कारण स्थलगत अध्ययन टोलीले कटारी सिफारिस गरेकोमा दुई मत छैन । यद्यपि अहिले यो मुद्दा बिल्कुल उदयपुरको मात्रै सवाल जसरी कहाँ राख्ने या नराख्ने तहमा बहस शुरु हुनु दुखद छ ।
यस सम्बन्धमा यस क्षेत्रका सांसद र पालिका अध्यक्षहरुको पनि धारणा के छ भनेर जान्न आवश्यक छ । उदयपुरको क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यले समेत उदयपुरको कटारीमा मेडिकल कलेज स्थापना गर्न माग गरेर शिक्षामन्त्रीसमक्ष ज्ञापन बुझाइसकेका छन् । त्यसमा ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र सिन्धुलीका प्रतिनिधिसभा सदस्यहरुले साथ दिएका छन् ।
सुनसरी र विराटनगरबाट ४ घण्टाको दुरीमा रहेको गाईघाट सेवा क्षेत्र नै अति न्यून छ । सुनसरी र मोरङमा दर्जन बढी मेडिकल कलेज छन् । पहाडका अतिरिक्त उदयपुरकै छिमेकी जिल्लाहरुका लागि पनि गाईघाट सदरमुकाम भएर पनि अपायक क्षेत्र हो ।
उक्त कलेजको सेवा क्षेत्र पनि यही हो । तसर्थ जनप्रतिनिधिहरुको यसमा साथ रहनु स्वाभाविक छ । यस क्षेत्रका नागरिकहरुको पनि माग कटारीमै स्थापना गर्नु रहेको छ । जनप्रतिनिधिहरुले लिखित रुपमै यसबारे माग पेश गरेका छन् । कटारीले पहाडका ३ र भित्री मधेश तथा तराईका २ जिल्लाको प्रतिनिधित्व गर्छ ।
अब अर्को तर्क गाईघाट हुनुपर्नेतर्फ विचार गरौं । यो स्थान उदयपुरको सदरमुकाम भए पनि सुनसरी र मोरङको नजिक पर्छ । यहाँ मेडिकल कलेज स्थापना हुँदा सेवा क्षेत्र उदयपुरको आधा जिल्लामात्रै समेट्छ । मेडिकल शिक्षा पढ्न पहाडी ३ जिल्ला सिन्धुली तथा सिरहाका लागि समेत गाईघाट अपायक क्षेत्र हो । अर्को कुरा सुनसरी र विराटनगरबाट ४ घण्टाको दुरीमा रहेको गाईघाट सेवा क्षेत्र नै अति न्यून छ । सुनसरी र मोरङमा दर्जन बढी मेडिकल कलेज छन् । पहाडका अतिरिक्त उदयपुरकै छिमेकी जिल्लाहरुका लागि पनि गाईघाट सदरमुकाम भएर पनि अपायक क्षेत्र हो । जिल्लाको सदरमुकाम र प्रदेशस्तरको कलेज स्थापना हुने कुरामा जिल्लाको सरोकार हुनु स्वाभाविक छ, तर त्यहाँबाट सेवा कसले लिन्छ भन्ने चाहिँ महत्वपूर्ण छ ।
त्यसैले अबको बहस मेडिकल कजेल जिल्लाको कुन क्षेत्रमा लाने भनेर दाउपेचमा लाग्नुभन्दा उदयपुरको कटारी क्षेत्रलाई मेडिकल हब र गाईघाटलाई औद्योगिक हबका रुपमा विकास गर्न त्यस क्षेत्रका जनप्रतिनिधि र सरोकारवाला लाग्न जरुरी छ । यसले उदयपुरका अतिरिक्त छिमेकी जिल्लाको समेत हितमा हुनेछ । रोजगारी प्रवर्द्धन र मेडिकल शिक्षामा दुर्गमको पहुँच स्थापित गर्नु भनेको दिगो विकास लक्ष्य हासिल गर्न र संविधानमा लेखिएका शिक्षा र स्वास्थ्य जस्ता मौलिक हक कार्यान्वयनमा योगदान पुर्याउने काम गर्नु हो भन्नेमा दुई मत छैन ।