आईटी क्षेत्रमा कस्तो बजेट आवश्यक छ ? – Nepal Press

आईटी क्षेत्रमा कस्तो बजेट आवश्यक छ ?

काठमाडौं । सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा छ । भोलि आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक हुँदैछ । जसका लागि राष्ट्रिय योजना आयोगले १८ खर्बको सिलिङ तोकेको छ । तर, बजेटको आकार भने योजना आयोगको सिलिङ भन्दामाथि नै जाने आंकलन गरिएको छ ।

यता सरकारको नीति तथा कार्यक्रमलाई हेर्दा ठूलै आकारको बजेट चाहिने देखिन्छ । तर, बजेटमा साधन स्रोतको सीमितता छन् । स्रोत र साधनको पिँधमा उभिएको नेपालको आइटी क्षेत्रका लागि कस्तो खालको बजेट आउनुपर्छ ? आईटी क्षेत्रका लागि कस्तो बजेट आवश्यक हो र के के कुरालाई समेट्नुपर्छ भन्ने विषयमा व्यवसायीहरूले धारणाहरू राख्दै आएका छन् । सरकाले सूचना तथा सञ्चार प्रविधिमैत्री दशक नै घोषण गरिसकेको छ ।

यस वर्ष नीति तथा कार्यक्रमले पनि आइटी क्षेत्रका थुप्रै विषयहरूलाई प्राथमिकताका साथ अगाडी सारेको छ । नीति तथा कार्यक्रमले समेटेका विषयहरूलाई बजेटले सम्बोधन गर्नुपर्ने कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) महासंघ अध्यक्ष रञ्जित कुमार पोदार बताउँछन् ।

सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेर मात्रै नहुने बजेट पनि छुटाउनुपर्ने अध्यक्ष पोदारको भनाई छ ।

अध्यक्ष पोद्दार भन्छन्, ‘भरखरै नीति तथा कार्यक्रमबाट आइटी क्षेत्रले माग गरेका विषयलाइ स्थान दिइएको छ । जुन समग्र नेपालको आइटी क्षेत्रका लागि एकदमै राम्रो पनि हो । नीति तथा कार्यक्रमले समेटेका विषयहरूलाई चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटले सम्बोधन गर्नै पर्छ । नेपालले पनि सञ्चार तथा प्रविधिलाई प्राथमिकता दिएको देख्न सकिन्छ । धेरै कुराहरु प्रतिबद्धता मात्रै जनाइने गरेको छ । नीति तथा कार्यक्रम पनि प्रतिबद्धता जस्तै हो । त्यसको कार्यान्वयनका लागि बजेटबाटै सम्बोधन हुनुपर्छ । बजेट हाल्नै पर्छ, उल्लेख गरेर मात्रै हुदैन् । नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट नहालेर कामै छैन । सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई प्रोत्साहन गर्ने भनेर सरकारले बारम्बार भनिरहेको छ । त्यसका लागि सहुलियत तथा अनुदान दिन बजेट नै न छुटाएर हुदैन् । बजेटले नै स्टार्टअप तथा उद्यमीहरूलाई सम्बोधन गर्नुपर्छ ।’

आइटी पार्कका लागि बजेट छुटाएर मात्रै नहुने आइटी पार्कको लागि आवश्यक सेवा तथा सुविधाहरू पनि उपलब्ध गराइदिनुपर्ने अध्यक्ष पोदारको भनाई छ ।

‘नेपालमा सफ्टवेयरको डेभलप्मेन्टमा कुनै सम्स्या छैन । नेपालकै कम्पनीहरूले विदेशमा पनि अर्बैको सफ्टवेयर बेचिरहेका छन् । त्यसका लागि नेपालमा कुनै समस्या छैन । नेपालको जनशक्ति पनि आशा लाग्दो छ । तर, नेपालमा हार्डवेयर उत्पादनका लागि अलिक गह्रो छ । किनभने हार्डवेयरका लागि सबै पाट्स बाहिरबाट आयात गर्नुपर्ने हुन्छ । ठुलो मात्रामा हार्डवेयर उत्पादन गर्नका लागि विदेशी लगानी नै आवश्यक रहेको छ । किनभने, नेपालमा हार्डवेयर उत्पादन गरेर विदेश बेच्न सम्भव हुदैन । विदेशी लगानीमा हार्डवेयर उत्पादन गर्ने कम्पनीलाई आकर्षित गर्न सकेमा धेरै ठूलो मात्रामा हामीले आइटी क्षेत्रलाई अगाडी बढाउन सक्छौँ । यसका लागि सरकारले बजेट छुटाएर यस्ता खालका कम्पनीहरुलाई भित्र्याउने कार्यक्रमहरू ल्याउनुपर्छ । बजेटबाटै यस्ता ठुला कम्पनीको लगानी भित्र्याउन सकिन्छ । यसका साथै नयाँ लगानी पर्वद्धनका लागि नयाँ कार्याक्रमहरु गर्न बजेट छुटाउनुपर्छ । अर्को सबैभन्दा महत्त्वपूर्ण विषय भनेको साक्षरताका लागि पनि बजेट छुटाउनै पर्छ । सामान्य कर्मचारीदेखि सेवाग्राहीका लागि डिजिटल साक्षरता आवश्यक छ’, अध्यक्ष पोदार भन्छन् ।

नेपाललाई ग्लोबल टेक हबको रूपमा विकासको गर्ने खालको आगामी चालू आर्थिक वर्षको बजेट आउनुपर्ने नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज(नास आइटी) का कोषाध्यक्ष अभया पौडेल बताउँछन् ।

पौडेल भन्छन्, ‘आइटी कम्पनीहरूको संस्थाका रूपमा नास आईटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने खालेको बजेट आउनुपर्छ भन्दै आएको छ । आइटी पार्क तथा आइटी हब सञ्चालनका लागि कुरा आए तापनि बजेटले त्यसलाई स्थान दिनुपर्छ । सरकारले कुनै स्थानमा थोरै बजेट छुटाएर भए पनि आइटी पार्कको लागि काम सुरु गर्नै पर्छ । आइटी क्षेत्रलाई हेर्नका लागि आइटी बोर्डको स्थापना आवश्यक छ । त्यसमा पनि आइटी बोर्ड स्वायत्त निकाय हुनुपर्ने हुन्छ । जसका लागि सरकाले नै पहिलो कदमका रूपमा सम्बोधन गरिदिनुपर्छ । बजेटमार्फत सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पु¥याउन कर्जाको व्यवस्था गर्नुपर्छ भनेका छौँ । जसका लागि बजेट नै छुट्ट्याइनुपर्छ ।’

‘बजेटको आकार अलिक ठूलो नै आवश्यक देखिन्छ । अन्य क्षेत्रभन्दा आइटी क्षेत्र सरकारले थोरै लगानी गर्दा मात्रै धेरै लाभ राज्यले लिन सक्छ । नास आइटीले आगामी १० वर्षमा नेपाली आइटी उद्योग निर्यात ७ खर्बको बनाउने लक्ष्य लिएको छ । उक्त हाम्रो लक्ष्य पूरा हुनका लागि सरकारले आइटी पार्कका बनाउनै पर्छ’, पौडेल भन्छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर