चतरा आश्रममा बस्दै आएकी हिंसा पीडित महिलाद्वारा सुरक्षा माग – Nepal Press

चतरा आश्रममा बस्दै आएकी हिंसा पीडित महिलाद्वारा सुरक्षा माग

विराटनगर । सुनसरी वराहक्षेत्रकी हिंसा पीडित महिला सुरक्षाका कारण विस्थापित भएकी छन् । वराहक्षेत्रमा रहेको चतरा आश्रममा बस्दै आएकी ३३ वर्षीया महिला पीडकका परिवार र स्थानीयको दबाबका कारण विस्थापित भएकी हुन् ।

उनी वराहक्षेत्र स्थित चतराबाट विस्थापित भएर इटहरी इनरुवा लगायतका आफन्तका घरमा बस्दै आएकी छन् । उनले असुरक्षा भएको भन्दै प्रहरीसामु जाँदा समेत सुरक्षित भएर बस्नु भन्ने जवाफ पाएपछि आफ्नो सुरक्षा माग गरेकी छन् ।

सङ्खुवासभा घर भएकी परिवर्तित नाम (वराहक्षेत्र ए)ले गएको फागुन ३० गते चतरा स्थित चतरा आश्रममा जबरजस्ती करणी भएको भन्दै चैत्र १२ गते प्रहरीमा किटानी जाहेरी दिएकी छन् । बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेले आफूमाथि जबरजस्ती करणी गरेको वराहक्षेत्र ए को किटानी जाहेरीमा उल्लेख छ ।

चतरा आश्रममा बस्ने (वराहक्षेत्र ए) ले घिमिरेले साँझ ८ बजे आश्रमको कोठामा आएर जबरजस्ती करणी गरेको दाबी सहित किटानी जाहेरी दिएपछि प्रहरीले घिमिरेलाई पक्राउ गरेको छ । पक्राउ परेका घिमिरे अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनीविरुद्धको दर्ता भएको जबरजस्ती करणीको मुद्दाबाट होस्टाइल हुन भन्दै घिमिरेका परिवार, आफन्त र स्थानीयले दबाब दिएपछि पीडित वराहक्षेत्र ए ले सुरक्षाको माग गरेकी हुन् ।

उनलाई मुद्दाको बयान फेर्न भन्दै आर्थिक प्रलोभन समेत बाँड्ने गरिएको छ । आर्थिक प्रलोभनमा नपरेपछि दबाब दिन थालेको पीडित महिलाले नेपाल प्रेसलाई बताइन् ।

पीडित वराहक्षेत्र ए माथि चतरा आश्रममा रहेको रामचन्द्र आश्रमको लक्ष्मण सदन नाम गरेको धर्मशाला भवनको भुईँ तल्लामा रहेको १०८ नम्बर कोठामा जबरजस्ती करणी भएको अभियोजन पत्रमा उल्लेख छ । अभियोजन पत्रमा आश्रममा सबै भजन किर्तनमा सहभागी भएको बेला घिमिरेले जबरजस्ती करणी गरेको उल्लेख छ ।

अभियोग लागेका घिमिरेले भने आफूलाई (वराहक्षेत्र ए) ले नै कोठामा बोलाएको बयान दिएका छन् । उनले बयानमा भनेका छन् ‘जरुरी काम छ भनेर बोलाएर कुटपिट समेत गराइयो । कुटपिटबाट उनको खुट्टा समेत भाँचिएको छ ।’

घिमिरे यस अघि सोही रामानन्दचार्पिठका महासचिव थिए । महासचिवबाट राजीनामा दिएका घिमिरे वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष हुन् । स्थानीय विद्यालयका शिक्षक समेत रहेका घिमिरे जेल चलान भएपछि स्थानीयले सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या समेत गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर