दोस्रो पटक अर्थमन्त्री बनेका वर्षमान पुनको पहिलो बजेट
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले आफ्नो जीवनकालमा पहिलो पटक पूर्ण बजेट ल्याउँदैछन् । झण्डै १३ वर्ष अगाडी पनि अर्थमन्त्री भएका पुनले त्यति वेला बजेट ल्याउन पाएका थिएनन् ।
२०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भएका पुनले तरल राजनीतिका कारण २ पटक पूरक बजेट मात्र ल्याएका थिए । पुनले झन्डै १८ महिना अर्थमन्त्री हुँदा पनि पूर्ण आकारको बजेट ल्याउन सकेका थिएनन् ।
पूरक बजेटमार्फत उनले काममा हुने सरकारी ढिलासुस्तीलाई छरितो बनाउने, एकद्वार प्रणालीबाट वैदेशिक लगानी भित्र्याउने पहल गरे । पुनकै पालामा २१ ठूला परियोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखिएको थियो । ती आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।
तर यो पटक बजेट ल्याउन पाएका अर्थमन्त्रीले आफ्नो जीवनकालको पहिलो बजेटलाई निकै पपुलिस्ट बजेटको रूपमा परिचित गराउँदैछन् । १९ खर्ब हाराहारीमा बजेट ल्याउन लागेका पुनले विभिन्न लोकप्रिय कार्यक्रमहरू समेटेका छन् ।
सूचना प्रविधि, कृषि, स्टार्टअप, भूमिहीनलाई लालपुर्जा वितरण गर्ने, सशस्त्र द्वन्द्धका नाममा लडाकुलाई आर्थिक सहायता उपलब्ध गराउन कोषको व्यवस्था गर्ने लगायतका कार्यक्रमलाई बजेटमा समेटेका छन् ।
झलनाथ खनाल र बाबुराम भट्टराईको मन्त्रिमण्डलमा सहभागी हुँदा उनले चाहेर पनि खासै नयाँ काम गर्न पाएका थिएनन् । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी २०६७ माघ २३ मा खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।
नेपालले वैदेशिक ऋण विश्व बैंक र एसियाली विकास बैंकबाट मात्रै लिइरहेको अवस्थामा मन्त्री पुन पहिलो पटक अर्थमन्त्री हुँदा चीन, युरोपियन युनियन, जापान, कुवेती फण्ड, साउदी फण्ड लगायतका नयाँ माध्यमबाट पनि ल्याउन सकिने व्यवस्था गरेका थिए । यो पटक पनि उनले यस्तै सम्झन लायक काम गर्ने देखिएको छ ।