टुँडिखेलमा गणतन्त्र दिवस समाराेह (तस्बिरहरु/भिडिओ)
काठमाडौं । १७ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।
गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्याधीश विश्म्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समारोहलाई सम्बोधन गरेका थिए । सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो । यस्तै विविध जाजातिगत झाँकी र प्रदर्शनी गरिएको थियो र
उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा बलिदानी गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । विसं २०६२–६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भएको थियो ।
विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।