‘योर्कर विशेषज्ञ’ अविनाश: जाे डेथ ओभरमा अक्सर चुक्छन् – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- १०

‘योर्कर विशेषज्ञ’ अविनाश: जाे डेथ ओभरमा अक्सर चुक्छन्

काठमाडौं । योर्कर स्पेसलिष्ट भएकै कारण अविनाश बोहरा नेपाली टोलीमा नियमित स्थान बनाइरहेका छैनन् मात्र प्लेइङ सेटमा पनि पर्ने गरेका छन् ।

तर, ५ वर्ष पुरानो आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा अविनाश अझै पनि निर्णायक प्रदर्शनमा पछाडि छन् । उनलाई अक्सर डेथ ओभरमा बलिङमा ल्याइन्छ । १० ओभरपछि उनको प्रायः स्पेल सुरु हुन्छ, तर डेथ ओभरमा उनी प्रायः सधैं महँगो बन्ने गरेका छन् ।

गत नोभेम्बरमा घरेलु मैदानमा भएको टी-२० विश्वकपको एसियाली छनोटको फाइनल सुपर ओभरमा पुगेर नेपाल पराजित भएको थियो ।

२० औं ‌ओभरमा ओमानलाई जीतका लागि केवल ८ रन चाहिएको थियो भने दुई बलिङ अलराउन्डर मोहम्मद नदिम र आयान खान २० रनको साझेदारी गर्दै खेलिरहेका थिए । त्यही ओभरमा सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै खेल सुपर ओभरमा पुर्‍याएका थिए ।

उनले केवल ७ रन खर्चिएका थिए भने ओमानले तीन विकेट गुमाएको थियो, तर अविनाशले सुपर ओभरमा २१ रन खर्चिएपछि नेपाल उपविजेतामा सीमित हुन पुगेको थियो । अविनाशलाई ओमानका ब्याट्सम्यानले तीन छक्का प्रहार गरेका थिए । नेपालले केवल १० रनमात्र जोड्न सकेको थियो ।

हाल विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टोलीमा अविनाश पनि छन् । सोमबार क्यानडाविरुद्ध भएको वार्म अप खेलको डेथ ओभरमा पनि अविनाश महँगो बने । ७ विकेट गुमाएर खेलिरहेको क्यानडाले १९औं ओभरमा अविनाशको बलिङबाट १८ रन जोडेको थियो । उनले सुरुका दुई ओभरमा ९ रनमात्र खर्चिएर २ विकेट लिएका थिए ।

सल्यानमा जन्मिएका अविनाशले सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको ५ वर्ष भएको छ । सन् २०१९ को जनवरीमा यूएईविरुद्ध खेल्दै अविनाशले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले ५९ खेल खेल्दै ७४ विकेट लिएका छन् । उनी नेपालका लागि तेस्रो सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने बलर हुन् ।

अविनाशले एकै खेलमा ६ विकेटसम्म लिएका छन् । गत अक्टोबरमा उनले माल्दिभ्सविरुद्ध ११ रन खर्चिएर ६ विकेट लिएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको बलिङ इकोनोमी ७.३१ छ ।

उनले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा एक पटक कम्तीमा ५ विकेट र २ पटक कम्तीमा ४ विकेट लिएका छन् । ब्याटिङमा भने उनले कमै मौका पाउने गरेका छन् । नेपाली टोलीमा ब्याटिङ गर्न नसक्ने बलरमा उनी पनि पर्छन् । उनले जम्मा १५ इनिङ खेल्दै कुल २३ रन जोडेका छन् । उनी १० खेलमा नटआउट रहेका थिए ।

अविनाशले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने कमै अवसर पाएका छन् । उनले हालसम्म २ खेल खेले पनि विकेट लिन सकेका छैनन् । त्यसमा उनले कुल ११ ओभर बलिङ गरेका थिए । अविनाशले ठूला टीमविरुद्ध उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन् ।

अविनाशले घरेलु मैदानमा २६ टी-२० अन्तर्राष्ट्रिय विकेट लिएका छन् भने बाँकी ४८ विकेट विदेशमा लिएका हुन्, तर उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म एसिया बाहिर खेलेर विकेट लिएका छैनन् । नेपालले पहिला बलिङ गरेका खेलमा मात्रै अविनाशले ४९ विकेट लिएका छन् ।

उनले ५२ विकेट लिएका ३८ खेल नेपालले जितेको छ । सन् २०२४ मा उनले ९ इनिङ्समा ३१ ओभर बलिङ गर्दै ९.२२ को बलिङ इकोनोमीमा १० विकेट लिएका छन् । सन् २०२३ मा उनले १२ इनिङ्समा ४४.४ ओभर बलिङ गर्दै ७.३८ को इकोनोमीमा २४ विकेट लिएका थिए ।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर