सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं ल्याउने तयारी, अस्पतालले दियो सिफारिस – Nepal Press

सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं ल्याउने तयारी, अस्पतालले दियो सिफारिस

जनकपुरधाम । प्रहरीको न्यायिक हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लगिने भएको छ ।

नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया अहिले जनकपुरधामको काब्या अस्पतालमा उपचाररत छन् । सो अस्पतालका डा. एसके सिंह र डा. पंकज कुमार साहले सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौ लैजान सिफारिस गरेका हुन् ।

सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले जेष्ठ ८ मंगलबार काठमाडौंस्थित ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरी जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३÷३ दिनको म्याद थपेको छ ।

दोस्रो पटक म्याद थपेकै दिन साँझमा सिरोहिया थुनुवा कक्षमा रहेको बेला बिरामी परे । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले उनलाई प्रादेशिक अस्पताल लगियो । तर त्यहाँ उपचार सम्भव नदेखिएको भन्दै चिकित्सकले रेफर गर्दा काब्या अस्पताल लगिएको थियो ।

हिजो सोमबार तेस्रो पटक म्याद थप्न प्रहरीले सिरोहियालाई अस्पतालबाट एम्बुलेन्समै अदालत पुर्याइएको थियो । अदालतले तीन दिनको म्याद थप्दै स्वास्थ्य अवस्था प्रतिकुल देखिए उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो ।

अदालतको सोही आदेश टेक्दै अस्पतालले सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौ लग्न सिफारिश गरेको छ । यसको पुष्टि धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले गरे । उनका अनुसार मेडिसिटी अस्पताल लग्ने तयारी भइरहेको छ ।

सिरोहिया उपचारका लागि काठमाडौं पुगेपनि अनुसन्धान प्रभावित नहुने बताए । उनले भने, ’अहिले पनि हाम्रै नियन्त्रणमा छन् । काठमाडौं उहाँसंगै हाम्रो प्रहरी पुग्छन् । त्यहाँका प्रहरीको पनि सपोर्ट हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर