बजेट पढ्न तयार अर्थमन्त्री, ब्रिफकेसको ढाँचा फेरियो
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले केहीबेरमा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैछन् । दिउँसो ३ बजेदेखि बस्ने संयुक्त सदनको बैठकमा उनले बजेट सार्वजनिक गर्नेछन् ।
बजेटको ब्रिफकेस बोकेर उनी क्याविनेट बैठकमा छिरेका छन् । मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ । यसपटक नेपाली ढाका र अल्लाेबाट निर्मित ब्रिफकेस प्रयोग गरेर उनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।
योसहित २ पटक अर्थमन्त्री बनेका पुनले पहिलो पटक पूर्ण बजेट ल्याउँदैछन् । झण्डै १३ वर्ष अगाडि पनि अर्थमन्त्री भएका पुनले त्यति बेला बजेट ल्याउन पाएका थिएनन् ।
२०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भएका पुनले तरल राजनीतिका कारण २ पटक पूरक बजेट मात्र ल्याएका थिए । पुनले झन्डै १८ महिना अर्थमन्त्री हुँदा पनि पूर्ण आकारको बजेट ल्याउन सकेका थिएनन् ।
१८ खर्बको सिलिङको सीमितता भएपनि केही पपुलिष्ट कार्यक्रमका कारण बजेट १९ खर्ब हाराहारीमा पुग्ने मन्त्रालय स्रोतले बताएको छ ।