पर्यटन पूर्वाधार विकासको लागि साढे ५ अर्ब विनियोजन – Nepal Press

पर्यटन पूर्वाधार विकासको लागि साढे ५ अर्ब विनियोजन

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड छुट्याएको छ ।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले नेपालमा विवाहको लागि आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए ।

जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रूपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको छ । मे २९ लाई सगरमाथा दिवसलाई विशेष रूपमा मनाइने अर्थमन्त्रीले बताए । भरतपुर विमानस्थलको स्तरोन्नति आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ। त्यसको लागि ३६ करोड छुट्याइएको छ ।

अर्थमन्त्री पुनले नागरिक उड्यन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरेको बताएका छन् । आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवर्द्धन गरिने भन्दै पुनले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटन प्रोफाइल तयार गरिने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने प्रवर्द्धन मिलाइने बताए ।

पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुक प्रमुख शहरमा पर्यटकीय पर्यटक लक्षित रोड शो, मेला महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताए । पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रूपैयाँ विनियोजन गरेको बताए ।

सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर