बजेट भाषण : गृहप्रदेशलाई अर्थमन्त्रीका के-के छन् कोसेली ?
रुपन्देही । संघीय सरकारले मंगलबार ल्याएको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना आयोजनालाई निरन्तरता दिइएको छ । अर्थमन्त्री वर्षमान पुनको आफ्नै प्रदेशमा धेरै नयाँ आयोजना नआएर पुरानै अधिकांश आयोजनालाई निरन्तरता दिइएको हो ।
२५६८ औं बुद्ध जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्ध जन्मस्थलमा आएर बोलेर लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा बर्थिङ हबको रुपमा विकास गरिने विषय आगामी बजेटमा समेटिएको छ । अर्थमन्त्री वर्षमान पुनले यसलाई बजेटमै समेटेर अगाडि बढाउने घोषणा गरेका छन् ।
विश्व शान्तिको केन्द्र मानिएको लुम्बिनीलाई बच्चा जन्माउने केन्द्र बनाएर विश्वका पर्यटक भित्राउन सकिने भन्दै सरकारलाई यो योजना अगाडि बढाउन सबै क्षेत्रबाट सुझाव आएको थियो ।
लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमको हव बनाउने बजेटमा घोषणा गरिएको छ । अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा अनुरुप लुम्बिनीलाई साना तथा मझौला उद्यमको हव बनाउने घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेशमा कृष्ण सेन इच्छुक संचारग्राम बनाउने घोषणा भएको छ । यसैगरी बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत र सुरक्षा लगायतका पूर्वाधारका लागि सूचना प्रविधि पार्क बनाइने भएको छ।
अर्थमन्त्री पुनले बुटवल र काठमाडौँमा सूचना प्रविधि पार्क बनाउने बताएका हुन्। जसमा ३ वर्षसम्म निशुल्क वर्क स्टेसन बनाइने छ।
त्यसैगरी रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्र चलाउने कार्यक्रम बजेटमा समेटिएको छ । यसअघि एमाले नेतृत्वको सरकारले यी दुवै स्थानमा औद्योगिक क्षेत्र संचालन गर्न शिलन्यास नै गरेपनि मोतीपुरमा स्थानीयसँगको जग्गा विवादका कारण अलपत्र परेको थियो ।
त्यसैगरी यस क्षेत्रको मुख्य राजमार्गको रुपमा रहेको बुटवल–गोरुसिंगे र भालुवाङ लमही राजमार्ग स्तरोउन्नतिका लागि बजेटले समेटेको छ । यसअघि पनि यो योजना अगाडि बढिसकेको थियो ।
रोल्पाको बडाचौर, बाँकेको नेपालगन्ज र दाङको टरिगाउँ विमानस्थल स्तरोउन्नति गर्ने बजेटमा राखिएको छ । लुम्बिनीमा भैरहवामा र नेपालगन्जमा मात्रै नियमित उडान भइरहेको छ । तर भैरहवाको विमानस्थललाई केही उल्लेख गरिएको छैन ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीका क्षेत्रलाई समेटेर बुद्ध परिपथ बिस्तार गरिने योजना बजेटमा समेटिएको छ । कालीगण्डकीतिनाउ डाइभर्सन र नौमुरे बहुउद्देश्यीय आयोजनालाई पनि बजेटमा निरन्तरता दिइएको छ ।
त्यसैगरी सिक्टा सिंचाई आयोजना बिस्तारका लागि १ अर्ब ६० करोड, बबई सिंचाई आयोजना बिस्तार, भेरी बबई डाइभर्सनलाई पनि बजेटमा समेटिएको छ । त्यसैगरी बुटवलमा मेडिकल कलेज संचालन गर्ने प्रकृयार्लाइ अगाडि बढाउने विषय पनि समेटिएको छ ।
सहिद मार्ग अन्र्तगत होलेरी–दार्बोट २० किमी पक्की सडक, दार्बोट–घर्तीगाउँ दुई खोलीमा ग्राभेल गर्ने, घोराही होलेरी सडक कालोपत्रे गर्न १ अर्ब २५ करोड छुट्टाइएको छ । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्ने, भैरहवा एकीकृत जाँच चौकीमा सुरक्षा बन्दरगाहा निर्माण सुरु गरिने, सिद्धबाबा सुरुङमार्ग निरन्तरता, राप्ती प्रादेशिक अस्पताल ५ सय सैयामा पुराइने, स्वर्गद्धारी दर्शन धार्मिक यातायात सुरु गरिने, न्यू बुटवल–गोरखपुर ४ सय केभी प्रशारण लाइन सुरु गरिने योजना बजेटमा परेका छन् ।
नारायणी र तिनाउमा सिग्नेचर पुल बनाउन २ अर्ब ४६ करोड रकम बिनियोजन भएको छ । नारायणीमा शिलन्यास भएपनि तिनाउमा सुरु भएको छैन । यसैगरी भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने घोषणा गरेका हुन् ।
यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने, गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने, बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने, त्रिभूजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले भने, ‘बजेट सन्तोषजनक छ, कार्यान्वयनमा चुनौती छ । प्रेसरमा बजेट छ, हिजोको मोडालिटी त्रुटिपूर्ण छ परिवर्तन गर्नुपर्छ ।निजी क्षेत्रलाई चिढाउने खालको छैन, सुरुवाती चरणबाट कार्यान्वयनमा लैजानुपर्छ ।’ आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले बजेटमा अधिकांश पुराना आयोजनालाई निरन्तरता दिइएको बताए ।
‘सार्वजनिक खर्च र आयको असन्तुलन चुलिएको अवस्था र देश चरम आर्थिक सङ्कटमा परिरहेको तथा वैदेशिक अध्ययनका नाममा फैलिएको प्रतिभा र पुँजी पलायन बढिरहेको अवस्थामा आएको बजेट सम्रगमा सबै क्षेत्रमा सन्तुलित बन्न खोजेको भएता पनि सर्वसाधारण जनताको जीवनस्तरमा परिवर्तनको आभाष दिलाउने प्रकृतिको छैन’ उनले भने–‘संविधानले समाजवादी अर्थतन्त्रको आधार सिर्जना गर्ने बताएको भए पनि बजेट पूर्णरूपमा त्यसको विपरीत दृष्टिकोणले निर्माण भएको तथ्य राजस्व नीतिले प्रमाणित गरेको छ ।
यसकारण बजेट धार्मिक ग्रन्थमा उल्लेख्य गरिने वायुपख्खी यान जस्तो सुन्दर र शक्तिशाली तर व्यहारिक रुपमा कसैले महशुस गर्न नसक्ने जस्तो छ ।’