गर्भपूर्वको परामर्श तथा हेरचाह किन आवश्यक छ ?
गर्भपूर्व स्वास्थ्य, जसलाई अंग्रेजीमा प्रिकन्सेप्सनल हेल्थ भनिन्छ, जुन गर्भ रहनुभन्दा अगाडिको स्वास्थ्य भन्ने बुझिन्छ । प्रजनन् उमेरका महिला, पुरुष दुवैको स्वास्थ्य अवस्था राम्रो भएको समयमा बच्चा पाउने योजना बनाउँदा आमा र बच्चा स्वस्थ हुन्छन् । साथै स्वस्थ बच्चा भोलिको उत्पादनमूलक नागरिक बन्नसक्छ । विश्वको तथ्याङ्क हेर्ने हो भने अन्दाजी ४० प्रतिशत गर्भधारणविना योजना भइराखेको पाइएको छ । हाम्रो जस्तो देशमा बच्चा पाउने इच्छा गरेका महिला, पुरुषको जोडी थोरैले मात्रै योजना बनाएर गर्भधारण गर्छन् । महिला गर्भवती भएपछि गर्भ जाँच गराउन आवश्यक छ भन्ने कुरा प्रायःजसोलाई थाहा छ, तर गर्भवती हुनु अगाडि स्वास्थ्य अवस्था थाहा पाएर गर्भधारण गर्नुपर्छ भन्ने कुरामा सचेतनाको कमी छ ।
प्रजनन् उमेरका इच्छुक महिला र पुरुषको जोडीलाई गर्भ राख्नु अगाडि डाक्टर, मिडवाइफ, नर्स आदिबाट परामर्श र उपचार प्रदान गर्नु गर्भपूर्व हेरचाह भनिन्छ । यसलाई अंग्रेजीमा प्रिकन्सेपसनल केयर एण्ड काउन्सेलिङ पनि भनिन्छ । यो सेवाको मुख्य उद्देश्य स्वस्थ आमाबाट स्वस्थ बच्चा जन्माउनु र आमा र बच्चाको स्वास्थ्यमा जटिलता आउन नदिनु हो । यस्ता सेवाले महिलालाई गर्भधारण हुनुअघि पूर्ण स्वस्थ अवस्थामा पुग्न सहयोग गर्छ र त्यस्तो महिलाबाट गर्भको परिणाम राम्रो हुन्छ भनेर अपेक्षा राख्न सकिन्छ ।
विकसित देशहरुमा यस्तो प्रकारको सेवा विशेष प्रिकन्सेप्सनल केयर क्लिनिकबाट दिइन्छ । नेपाल जस्तो देशमा यस्तो सेवाको लागि छुट्टै क्लिनिकको व्यवस्था छैन । हामीकहाँ यी सेवा मातृशिशु, प्रसूति तथा महिला स्वास्थ्य क्लिनिकबाट प्राप्त गर्न सकिन्छ । यो सेवा लिन आएका प्रजनन् उमेरका महिला, पुरुषलाई आधारभूत परीक्षण गरी स्वास्थ्य समस्या केही छ कि भनेर पत्ता लगाइन्छ । आवश्यक स्वास्थ्य सल्लाह र परामर्शमा विशेषतः जीवनशैली सुधार, खानपानमा परिवर्तन, हानिकारक बानी हटाउन, तौल नियन्त्रण गर्न, अनावश्यक औषधि तथा हानिकारक चिजहरुको प्रयोग नगर्न आदि कुरामा ध्यान दिइन्छ ।
साथै आधारभूत परीक्षण जस्तै रगत, पिसाबको जाँच गरिन्छ, जुन जाँचमा रगतको मात्रा, सुगरको लेभल, मृगौलाको काम, रगतको समूह, यौन रोगसँग सम्बन्धित जाँच आदि गरिन्छ । पिसाबको जाँचमा संक्रमण, सुगर र प्रोटिन छ कि भनेर हेरिन्छ । यदि पहिलाको बच्चा खेर गएको अथवा जन्मेको बच्चामा केही समस्या छ भने के कारणले हो भनी पत्ता लगाउन थप जाँच गर्नुपर्ने हुन्छ । जस्तैः सुगर, टर्च संक्रमण (TORCH Infection) र आवश्यकअनुसार अरु गर्नुपर्छ । यदि महिलाको उमेर ३५ वर्ष बढी भएको छ र परिवारमा जेनेटिकसम्बन्धी समस्या छ भने पनि त्यससँग सम्बन्धित जाँच गर्नुपर्ने हुन्छ ।
आवश्यक स्वास्थ्य सल्लाह र परामर्शमा विशेषतः जीवनशैली सुधार, खानपानमा परिवर्तन, हानिकारक बानी हटाउन, तौल नियन्त्रण गर्न, अनावश्यक औषधि तथा हानिकारक चिजहरुको प्रयोग नगर्न आदि कुरामा ध्यान दिइन्छ ।
यो समयमा महिला र पुरुष दुवैलाई सन्तुलित तथा पोषिलो खाना बढाएर खान सल्लाह दिनुपर्छ । पोसिलो खाना भन्नाले अन्न, गेडागुडी, सबै प्रकारका तरकारीसहित हरिया सागसब्जी, मौसमअनुसारका फलफूल, दूध र यसबाट बनेका परिकार र पानी तथा यदि मांसाहारी खानेकुरा खानुहुन्छ भने माछा, मासु र अण्डा हुन् । विशेषतः धेरै प्रोटिन, भिटामिन र खनिजयुक्त खानेकुरा प्रजनन् उमेरका महिला र पुरुषलाई पोषिलो खाना स्वस्थ अण्डा र शुक्रक्रिट बन्न आवश्यक हुन्छ । सकेसम्म घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाल्नुपर्छ, जुन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । बजारमा पाइने जन्क फूड जस्तैः चाउचाउ, कुरकुरे, लेज आदि र प्याकेटयुक्त खानेकुरा सकेसम्म खानुहुँदैन । यस्ता खानेकुरामा चिल्लो पदार्थ धेरै हुनुको साथै पोषणको मात्रा खासै हुँदैन र प्रिजरभेटिभको रुपमा रसायनको पनि प्रयोग भएको हुन्छ । यद्यपि यो उमेर समूहका मानिसहरु बाहिर बजारको खान मन पराउने हुन्छन् ।
पोषिलो खानाको साथै गर्भ राख्ने योजना भएका महिलाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार फोलिक एसिड भन्ने भिटामिन गर्भधारण हुनुभन्दा कम्तीमा तीन महिना अगाडिदेखि र बच्चा बसेको तीन महिना पछिसम्म नियमित रुपमा लिनुपर्छ । विभिन्न अध्ययनको नतिजाअनुसार यस समयमा फोलिक एसिड लिएका महिलाहरुमा बच्चाहरुको दिमाग र स्नायु विकासको क्रममा हुने अपाङ्गता हुनबाट रोक्छ भनेर देखाएको छ । त्यसकारण यस बेलामा महिलालाई फोलिक एसिड पाइने खानेकुरा जस्तैः हरिया सागपात, ब्रोकाउली, कुरिलो, अण्डा, गेडागुडी, अमिला फलफूल, केरा, आँप आदि खान जोड दिनुपर्छ ।
जीवनशैली सुधारको लागि विशेषतः महिलाहरुले तौल नियन्त्रण गर्न आवश्यक छ । यसको लागि सक्रिय जीवनशैली अपनाउनुपर्छ । शरीरको लागि उपयुक्त हुने कसरत जस्तै हिँड्ने, योगा, मेडिटेसन आदि गर्न सकिन्छ । तौल नियन्त्रण गर्न बडी मास इन्डेक्स (Body mass index) लाई १८.५देखि २४.९ प्रतिकेजीएमटू (kg/M2) भित्र राख्नुपर्छ । मोटोपना वा कुपोषणको अवस्थालाई ठीक गराएपछि गर्भधारण गर्ने योजना बनाउनुपर्छ । यदि गर्भधारणअघि महिलामा कुपोषण छ भने गर्भमा बसेको बच्चाको वृद्धि विकास राम्रो हुन सक्दैन । यस समस्यालाई ठीक पार्न सबै प्रकारका स्रोतका खानेकुरासहित सन्तुलित खाना खानुपर्छ । महिलामा मोटोपना भएको अवस्थामा बच्चा नबस्ने सम्भावना हुनसक्छ । दीर्घरोगका स्वास्थ्य समस्याहरु जस्तैः उच्च रक्तचाप, मधुमेह पनि हुने सम्भावना बढाउँछ । यी समस्याले गर्दा महिलालाई गर्भवती हुँदा र बच्चा जन्माउने बेलामा धेरै प्रकारका जटिलता आउन सक्छ । यसको लागि खानामा नियन्त्रण तथा नियमित कसरत गर्नु आवश्यक हुन्छ ।
जीवनशैली सुधारको लागि विशेषतः महिलाहरुले तौल नियन्त्रण गर्न आवश्यक छ । यसको लागि सक्रिय जीवनशैली अपनाउनुपर्छ । शरीरको लागि उपयुक्त हुने कसरत जस्तै हिँड्ने, योगा, मेडिटेसन आदि गर्न सकिन्छ ।
यतिखेर महिलालाई स्वास्थ्य जाँच गरी शरीरमा रोग केही छ कि भनेर हेरिन्छ । विशेषतः गर्भवती अवस्थामा असर गर्ने समस्या जस्तैः उच्च रक्तचाप, मधुमेह, रक्त अल्पता, थाइराइड, मृगौला, मुटु, यौनसम्बन्धी रोग छ कि छैन भन्ने हेरिन्छ । यदि कुनै समस्या पत्ता लाग्यो भने त्यसलाई उपचार गरी आवश्यक सरसल्लाह दिइन्छ । रोग पहिचान र उपचार चाहिएमा डाक्टरको निगरानीमा बसी रोगलाई नियन्त्रित गरेर मात्र बच्चा राख्ने योजना बनाउनुपर्छ । यदि महिलामा रोग छ, तर नियन्त्रित छैन भने बच्चा खेर जाने सम्भावना हुन्छ । रोगको उपचारका क्रममा प्रयोग गरेको औषधि गर्भमा बसेको बच्चालाई असर नगर्ने सुरक्षित खालको हुनुपर्छ । जो महिलाले स्वास्थ्य समस्या भएर औषधि प्रयोग गरिराख्नु भएको छ भने त्यो औषधि गर्भावस्थाको लागि सुरक्षित छ वा छैन डाक्टरलाई देखाएर निधो गरेरमात्र गर्भ राख्ने योजना बनाउनुपर्छ ।
यस समयमा महिलाले जथाभावी स्वास्थ्यकर्मीको सल्लाहविना औषधि लिनुहुँदैन । किनकि गर्भ बसेको शुरु तीन महिना भनेको बच्चाको अंगहरुको विकास हुने महत्वपूर्ण समय हो । यो बेलामा यस्ता चिजहरुको प्रयोगले बच्चालाई असर गर्छ र अपाङ्गता हुन सक्ने सम्भावना हुन्छ । रसायन, कीटनाशक विषादी, रेडियसन, लीड, मक्र्युरी आदिको संसर्गले पनि गर्भमा रहेको बच्चालाई असर गर्ने हुँदा यस्ता कुराहरुबाट टाढा बस्नुपर्छ । यदि स्वास्थ्य समस्या छ र उपचार गराउँदा यस्ता चिजहरुको संसर्ग हुन्छ जस्तो लाग्छ भने पहिला उपचार गराउनुपर्छ । जस्तैः दाँतको समस्या छ भने यसको उपचारमा प्रायः एक्सरे गराउनुपर्ने हुन्छ ।
यदि गर्भ राख्न उपयुक्त छैन भने सो समयको लागि प्रजनन् उमेरका महिला र पुरुषको जोडीलाई परिवार नियोजनका विधि प्रयोग गर्न सल्लाह दिनुपर्छ । यो समयमा हर्मोन नभएका साधनको प्रयोग गर्नु उपयुक्त मानिन्छ । हर्मोन भएका साधनको प्रयोग सकेसम्म यो समयमा नगर्नु राम्रो हो । किनकि हर्मोन भएका साधनको प्रयोगले कतिपय महिलाहरुमा गर्भ रहन समय लाग्छ । यदि गर्भ राख्न महिलाको उमेर २० वर्षभन्दा कम छ अथवा केही स्वास्थ्य समस्या र अन्य कारणले नमिल्ने छ भने सो समयमा स्वास्थ्यकर्मीको सल्लाह लिई उपयुक्त साधनको प्रयोग गर्नुपर्छ ।
गर्भमा रहेको बच्चालाई आमाको केही भाइरल, ब्याक्टेरियल, प्रोटोजवल (TORCH) संक्रमणले असर गर्ने हुन्छ ।
गर्भावस्थामा असर गर्ने संक्रमणमध्येमा विशेषतः रुबेला, साइटोमेगालो भाइरस, हारपिस सीम्पेल्लेक्स, टोक्सोप्लाज्मोसिस, सिफलिस पर्छन् । यी संक्रमण गर्भवती हुँदा खतराजनक मानिन्छ । किनकि यस्ता समस्याले गर्भ खेर जाने, बच्चामा केही अपाङ्गता ल्याउने, बच्चाको विकास राम्ररी नहुने हुन्छ । कतिपय यस्ता संक्रमणहरुको उपचार छैन । त्यसैले रोकथामका उपाय नै उत्तम हो । यसबाट बच्न प्रजनन् उमेरका महिलाहरुले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । आवश्यकअनुसार नियमित हात धुने बानी बसाल्नुपर्छ । भान्साको दैनिक सरसफाइमा पनि जोड दिनु आवश्यक हुन्छ । फलफूल, सलाद र तरकारी सफा पानीले राम्रोसँग धोएरमात्र प्रयोग गर्नुपर्छ । अरुहरुले प्रयोग गरेका भाँडा र कपडा सकेसम्म प्रयोग नगर्ने, यदि गर्नुपर्यो भने राम्ररी सफा गरेरमात्र प्रयोग गर्नुपर्छ ।
यस समयमा महिलाले जथाभावी स्वास्थ्यकर्मीको सल्लाहविना औषधि लिनुहुँदैन । किनकि गर्भ बसेको शुरु तीन महिना भनेको बच्चाको अंगहरुको विकास हुने महत्वपूर्ण समय हो । यो बेलामा यस्ता चिजहरुको प्रयोगले बच्चालाई असर गर्छ र अपाङ्गता हुन सक्ने सम्भावना हुन्छ ।
घरपालुवा जनावर जस्तैः बिरालोको दिसाको संसर्गमा आउँदा टोक्सोप्लाज्मोसिस संक्रमण हुने हुँदा त्यसलाई सफा गर्दा नाङ्गो हातले गर्नुहुँदैन, हातमा पञ्जाको प्रयोग गरेरमात्र सफा गर्ने र त्यसको सावधानीपूर्वक सही व्यवस्थापन गर्नुपर्छ । रुबेलाको संक्रमणबाट बच्न खोप उपलब्ध छ । जसको लागि स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रजनन् उमेरका महिलाहरुले मिजल्स, मम्पस, रुबेला (Measles, Mumps, Rubllea-MMR) भ्याक्सिन लगाउनुपर्छ । यो खोप पहिला लिइसकेको छ भने फेरि लगाउन पर्दैन । त्यस्तै हेपाटाइटिस बी, भेरिसेला (Chicken Pox) भ्याक्सिन पनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार यस समयमा लगाउन सकिन्छ, तर यी भ्याक्सिन लगाइसकेपछि माहिलाले कम्तीमा एक महिना गर्भ राख्ने योजना बनाउनु हुँदैन ।
हानिकारक बानीहरु जस्तैः धूमपान, मद्यपान, लागूऔषध ड्रग जस्ता कुराबाट टाढा बस्न महिला, पुरुष दुबैलाई सल्लाह दिनुपर्छ । यस्ता चिजहरुको प्रयोग आफैंले वा धूमपानको प्रयोग आसपासमा कसैले गरेको छ भने पनि गर्भमा रहेको बच्चालाई असर पुर्याउँछ र गर्भ खेर जान सक्छ । साथै बच्चा गर्भमा रहँदा र जन्मिसकेपछि पनि शारीरिक तथा मानसिक विकासमा असर पुर्याउन सक्छ ।
प्रजनन् उमेरका महिलाको मानसिक स्वास्थ्य पनि त्यतिकै आवश्यक छ । त्यसैले घरपरिवारमा तनावयुक्त वातावरण हुनु हुँदैन । एक-अर्काबीच मेलमिलाप, माया, प्रेम र सद्भावपूर्ण वातावरण हुनुपर्छ । महिलामाथि कुनै प्रकारको हिंसा हुनुहुँदैन । भेदभावरहित वातावरण हुनुपर्छ । महिला मानसिक रुपले स्वस्थ भएको खण्डमा उनको शरीरमा उत्पादन हुने हर्मोनमा पनि सकारात्मक प्रभाव पर्ने हुँदा त्यस्तो अवस्थामा उनको गर्भ बस्ने सम्भावना उच्च हुन्छ।
समग्रमा भन्नु पर्दा बच्चा पाउन इच्छुक महिला र पुरुषको जोडीलाई गर्भपूर्व स्वास्थ्य जाँच, परामर्श र आवश्यकअनुसार उपचार एकदम महत्वपूर्ण छ, जसले गर्दा स्वस्थ आमा र बच्चाको परिकल्पना गर्न सकिन्छ । स्वस्थ आमा तथा बच्चा नै भविष्यमा घरपरिवार, समाज र देशको लागि योगदान गर्ने सक्षम नागरिक बन्न सक्छन् ।
(लेखक घिमिरे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ नर्सिङ एण्ड मिडवाइफरी-ललितपुर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक हुन् ।)