बाबुराम आचार्य सगरमाथा अवार्ड खिमलाल गौतमलाई
काठमाडौँ । नेपाल सरकारले बाबुराम आचार्य सगरमाथा अवार्ड खिमलाल गौतमलाई प्रदान गरेको छ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा गौतमलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सगरमाथाको नामकरण गरेका आचार्यको नाममा स्थापित अवार्ड नेपालको प्रथम सगरमाथा मापन कार्यक्रम अन्तर्गत समिट अब्जरभेसनमा सगरमाथाको चुचुरोमा पुगेका सर्वे इन्जिनियर गौतमलाई प्रदान गरिएको हो ।
अवार्डको राशि ७५ हजार रुपैयाँ रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतको उपस्थितिमा आयोजित समारोहमा गौतमले अवार्ड पाएका हुन् ।
यो पनि पढ्नुहोस्- अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारको रकममा एक लाख थपेर आरोही उद्धार कोषमा दिने ल्हाक्पा सोनामको घोषणा (भिडिओ)
गौतमले सगरमाथा मापनको समिट अब्जरभेसनको अनुभव जोडेर ‘पन्ध्रौँ चुली’ पुस्तक समेत लेखेका छन् ।
उनले नेपालका कर्मचारीहरूको तर्फबाट भएको प्रथम सगरमाथा आरोहण दलको सदस्य भएर चुचुरो पुगेको पनि अनुभव लिएका छन् ।