सुदूरपश्चिम : सदनमा नाउपाको प्रश्न- हाम्रो दलको नेता को हो ?
मन्त्री फिर्ता बेलाएको पत्र कार्यान्वयन नहुँदासम्म सदन चल्न नदिने चेतावनी
कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद प्रदेशसभामा बैठकमा पनि देखिएको छ । नाउपाका प्रमुख सचेतक खुसीराम चौधरीले आफ्नो पार्टीको दलका नेता निर्धारण गरिदिन सभामुख भीम भण्डारीलाई आग्रह गरेका छन् ।
प्रदेशसभा बैठक सुरु भएलगत्तै कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू उभिएर विरोध जनाएका थिए । सभामुख भण्डारीले आफ्नो धारणा राख्न भनेपछि नाउपाका प्रमुख सचेतक चौधरीले आफ्नो संसदीय दलले सरकारलाई समर्थन नगरेको भन्दै दलको नेताबारे प्रश्न गरेका थिए ।
‘१८६ को उपधारा २ बमोजिम बनेको सरकार आफैमा असंवैधानिक छ। दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्नु पर्ने प्रावधान रहेको हुँदा यसमा हाम्रो नागरिक उन्मुक्ति पार्टीको वैधानिक समर्थन छैन । आफैमा असंवैधानिक र कानुनको मर्म र भावना अनुसार यो सरकार बनेका छैन’ उनले भने, ‘संसदीय दलको नेता को भन्ने सवाललाई लिएर हाम्रो सदन प्रभावित भइरहेको छ । त्यस कारणले गर्दा सभामुखज्यूले आजैको दिनमा संसदीय दलको नेता को हुनुहुन्छ स्पष्ट पर्ने पर्छ ।’
उनले संसदीय दलको विधान नभएको भन्ने कुरा पनि झुटो रहेको बताए ।
उनले भने, ‘पार्टीले संसदीय दलको नेता बनाउँदैन त्यो स्पष्ट छ । तर हाम्रो पार्टी केन्द्रले लेखेको चिठ्ठी प्रदेशसभामा दर्ता भएको छ । त्यो पत्रमा कुनै दम छैन । त्यो टोकरीमा फाल्दिनु पर्ने त्यो पत्र नै प्रदेश प्रमुख कार्यालयमा पठाएको पायौँ । दलको नेता घनश्याम चौधरी नै हुन । हामीहरू कसैलाई दलको नेता बनाएका छैनौँ ।’
उनले सरकारमा पठाउने बारे पनि आफ्नो संसदीय दलले कुनै निर्णय नगरेको भन्दै आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको र उनीहरू फिर्ता नहुँदासम्म बैठक चल्न नसक्ने जिकिर गरे ।
‘हाम्रो सरकारमा पठाउने कुनै छलफल भएको छैन । वैधानिक तवरले मन्त्रीज्यूहरू यो सरकारमा सहभागी हुनु भएको छैन उहाँलाई फिर्ता बोलाएको पत्र यहाँ पनि दर्ता भएको होला त्यसमा के कति छलफल गर्नुभएको छ हामीलाई जानकारी छैन । हामीले बोलाएको पत्र कार्यान्वयन नहुँदासम्म सदन अगाडी बढ्न दिँदैनौँ ’ उनले भने ।
मुख्यमन्त्री दीर्घ सोडारीलाई समर्थन गर्दा नाउपाको संसदीय दलको नेता कैलाश चौधरी रहेको भन्दै केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले पत्र पठाएकी थिइन् । अहिले कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी छन् भने अन्य पाँच जना नाउपाकै सांसद प्रतिपक्ष बेन्चमा बसिरहेका छन् । प्रमुख सचेतक चौधरीले त्यस विषयमा धारणा राख्दै सरकारको विरोध जनाएका थिए ।
उनले आफ्नो धारणा राखेपछि फेरि नाराबाजीमा उभिएका थिए । असंवैधानिक सरकार खारेज गर भन्दै नारा लगाउँदै कांग्रेस र नाउपाका सांसदले बैठक बहिस्कार गरेपछि सभामुख भीमबहादुर भण्डारीले बैठकलाई निरन्तरता दिए ।
भण्डारीले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई बजेटसँग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल अघि बढाउन प्रस्ताव पेश गर्न भनेका थिए । कांग्रेस र नाउपामा रेशम पक्षका सांसदले बैठक बहिस्कार गर्दा राप्रपा सांसद भने प्रतिपक्षी बेन्चमै बसिन् ।