कसले बुझाउने देश, कसले भर्ने सपना ? – Nepal Press

कसले बुझाउने देश, कसले भर्ने सपना ?

प्रोफेसर फान ली ३९ वर्षकी भइन् । उनी १० वर्षयता चीनको सेन्जेन विश्वविद्यालयमा अर्थशास्त्र पढाइरहेकी छन् । अघिल्लो साता अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट विद्यावारिधि गरेकी उनै प्रोफेसर लीको क्लासमा बस्ने मौका जुर्‍यो । पेकिङ विश्वविद्यालयमा एक महिने डङफङ छात्रवृत्तिमा अध्ययन गरिरहेका ५६ देशका सहभागी क्लासमा थियौं । हामीलाई विशेष आर्थिक क्षेत्र र क्षेत्रगत विकासको नयाँ शैलीबारे लेक्चर दिँदै थिइन् ।

चिनियाँ अर्थतन्त्र र यसको विश्वमा बढ्दै गएको प्रभावबारे हामी धेरथोर जानकार नै छौं । उनीहरु आफ्नो देशको अग्रगतिको मोडलले विश्वलाई नै चकित गराइरहेका छन् । आफ्नो रैथाने विकास मोडललाई आत्मसात गरेको चीन विकासोन्मुख देशहरुको उन्नयन र विकासमा पनि सहकार्य गरिरहेको छ । अझ भनौं, स्थानीय सीप तथा आवश्यकतामा आधारित विकास मोडल अपनाउन आफ्नै देशको उदाहरण दिएर विश्वलाई नै सचेत गराइरहेको छ । यो विकास प्रक्रियामा आफ्नोपन कायम राख्ने अवसर पनि हो ।

प्रोफेसर ली आफ्नो लेक्चरमा एउटा सानो ‘माझी गाउँ’बाट जम्मा ३० वर्षको अन्तरालमा राज्यको मुख्य आर्थिक क्रियाकलाप हुने शहरको रुपमा सेन्जेन कसरी परिवर्तन भयो सुनाइरहेकी थिइन् । सन् २०२५ सम्ममा आर्थिक रुपमा सक्षम र आर्थिक समृद्धिको हिसाबले विश्वलाई नै नेतृत्व गर्ने शहरको रुपमा सेन्जेनको विकासको गुणस्तरबारे हामीलाई व्याख्या गरिरहेकी थिइन् ।

उनले आफ्नो बाल्यकाल, उच्च शिक्षा र पीएचडीको लागि अमेरिका गएको र पुनः स्वदेश फर्किएको प्रसंग बीचबीचमा जोड्दै आफू हुर्किएसँगै भएको ‘माझी गाउँ’को परिवर्तन सुनाइरहेकी थिइन् । चीनकै पाँच आर्थिक केन्द्र शहरमध्ये एक सेन्जेनको विकासको तथ्यलाई अङ्कमा देखाउँदै गइन् । लेक्चरको लगभग अन्तिममा थियौं, प्रश्नोत्तरको सेसन चलिरहेको थियो ।

युवा प्रोफेसरको आकर्षक लेक्चरले प्रभावित पनि थियौं हामी सहभागी । २९ वर्षकै उमेरमा पीएचडी सकेर अमेरिकाबाट आफ्नै देश फर्किएर श्रममा रमाइरहेकी प्रोफेसरलाई भुटानका सहभागी चेवाङ स्याङ्वेको एउटा प्रश्नले नाजवाफ बनायो । चेवाङको प्रश्न थियो- ‘तपाईंले किन अमेरिका सपना बनाउनु भएन ?’

चिनियाँ अर्थतन्त्र र यसको विश्वमा बढ्दै गएको प्रभावबारे हामी धेरथोर जानकार नै छौं । उनीहरु आफ्नो देशको अग्रगतिको मोडलले विश्वलाई नै चकित गराइरहेका छन् । आफ्नो रैथाने विकास मोडललाई आत्मसात गरेको चीन विकासोन्मुख देशहरुको उन्नयन र विकासमा पनि सहकार्य गरिरहेको छ ।

कहाँ छ हाम्रो सपना ?

सपना के हो ? मान्छेले सपना किन देख्छ ? व्यक्तिले देख्ने सपना राज्यको लागि हुनसक्छ कि सक्दैन ?

चेवाङको प्रश्नपछि मेरो मथिङ्गलमा पनि ‘देश सपना’ सँग जोडिएका अनगिन्ती सोचाइ एकै पटक आए । सपना मानिसको भविष्यको बाटो तय गर्ने आशा अनि खाका हो । आफूलाई अलग देखाउने मार्गदर्शन पनि हो । वर्तमान बनाउने आधार पनि हो, सपना । पछिल्लो करिब तीन साता चीनको विकासका ससाना विम्ब हेरेर आफ्नै सपनालाई राज्यसँग जोड्न खोजिरहेको छु ।

मैले देख्ने सपना र ती प्रोफेसरले देख्ने सपनामा फरक के छ ? उनको सपना देशसँग जोडिएको छ, मेरो सपना एक्लो ! मेरो सपना देशसँग किन जोडिन सकेन ? कि मेरो देशले उसको सपनामा मलाई समेट्न सकेन ? चीनमा प्रोफेसर लीले नदेखेको अमेरिका सपना त एउटा उदाहरणमात्रै हो । यहाँका हरेक व्यक्ति देशको सपनासँग अन्तरनिहित छन् । उनीहरुले देशको सपनालाई आफूमा समाहित गरेका छन् ।

नागरिकविना राज्य हुँदैन र राज्यविना नागरिक । हामीसँग नागरिक, सार्वमौम राज्य, भूगोल, शासन प्रणाली छ, तर नागरिकको सपनाको सहयात्री हुन हाम्रो देशले सकेको छ त ? नागरिकलाई भविष्यको सुखद सपना देखाउन सकेको छ त ?

एउटा उदाहरण

बैशाख २६ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लाइनमा थिएँ । मसँगै लाइनमै थिइन्, मैलो कुर्ता सलवार, चप्पल, राम्ररी सम्हाल्न पनि नभ्याए जस्ता कपालमा पुरानो छड्के झोला भिरेकी एउटी महिला । उनलाई साह्रै हतार थियो । टुकटुके फोनमा कसैले उनलाई कसरी जहाजसम्म आइपुग्ने सिकाइरहेको थियो ।

दुबई उड्नुपर्ने रहेछ । समूहबाट छुटेकी उनी अलमलमा परिछन् । उनले कसरी अगाडि जाने मेसो पाइनन् । उताबाट बोल्ने पुरुषले मलाई फोन दिन अह्रायो । बोलें- ‘प्लेनले बोलाएको बोलाएै छ, उनलाई लाइनमा नबसी छिटो जान भनिदिनुस् न !’ मैले हस् भनें ।

२९ वर्षकै उमेरमा पीएचडी सकेर अमेरिकाबाट आफ्नै देश फर्किएर श्रममा रमाइरहेकी प्रोफेसरलाई भुटानका सहभागी चेवाङ स्याङ्वेको एउटा प्रश्नले नाजवाफ बनायो । चेवाङको प्रश्न थियो- ‘तपाईंले किन अमेरिका सपना बनाउनु भएन ?’

जानुअघि एउटामात्रै प्रश्न सोधें, ‘दिदी कता जाने ?’

‘जाने त कुबेत हो, तर यहाँबाट चैँ दुबई जाने’, उनले यतिमात्रै भनिन् ।

ती महिलाको दुबई हुँदै कुबेत जानुपर्ने बाध्यता किन घटित भयो ? घर छोडेर चप्पल पड्काउँदै विदेशिने उनको सपना थियो होला त ? उनी कुबेत पुगिन् र थप जोखिममा परिनन् भने केही लाख रुपैयाँ पक्कै पठाउलिन् घर । तर, राज्यको सपना उनको जोखिमसँग जोडिएको छ कि उनले पठाउने केही लाख रुपैयाँको विप्रेषणसँग ?

राज्य केबल भूगोल होइन । राज्य धर्म हो, संस्कृति हो, भूगोलभित्रका मानिसहरुको समग्र रुप हो, सत्ता सञ्चालनको प्रणालीको आधार हो र यसलाई हाँक्ने स्वरुप हो शासन प्रणाली । सीमा छुट्टिएका हरेक सार्वभौम राज्यको शासन सञ्चालनका प्रणाली फरक फरक हुन्छ । त्यसो हो भने नागरिकलाई सपना देखाउन शासन प्रणालीले रोक्छ त ? कि सपना देख्न पनि विशिष्ट राज्य पद्धति चाहिने रहेछ ?

परको उदाहरण खोज्नै पर्दैन । आफ्नै वैयक्तिक मनोविज्ञान, भोगाइले पनि भन्छ हामी विथोलिएको सपनाबीचमा छौं । एक त सरकार (राज्य के भनौं दलहरु) कता कता क्षणिक सत्ताको रमाइलोमा हराइरहेका छन् । सरकार, नागरिक होइन व्यक्ति टार्गेटेड योजना छ, दीर्घकालीन योजना छैनन् । सरकारसँगै आउँछन्, आमा, छोरी, मन्त्री प्रधानमन्त्रीका नाममा लेखिएका बजेट सिध्याउने कार्यक्रम । सत्ताको त्यही न्यानोको क्षणिक उन्मादले राज्य दशकौं विकासमा छुटेको किनारामा बसिरहेको छ ।

राज्य केबल भूगोल होइन । राज्य धर्म हो, संस्कृति हो, भूगोलभित्रका मानिसहरुको समग्र रुप हो, सत्ता सञ्चालनको प्रणालीको आधार हो र यसलाई हाँक्ने स्वरुप हो शासन प्रणाली । सीमा छुट्टिएका हरेक सार्वभौम राज्यको शासन सञ्चालनका प्रणाली फरक फरक हुन्छ ।

सही बाटो हिँडाउन खबरदारी गर्नु असल नागरिकको दायित्व पनि हो । यस्तो दायित्व आवधिक निर्वाचनमा निभाउनबाट नागरिक पनि चुकिरहेका छौं । आखिर नागरिक पनि राज्यअनुसारको हुने नै भयौं । बरु हामी ‘अमेरिका सपनामा’ बाँचिरहेका छौं । बौद्धिक दक्ष पनि विदेश हिँडेपछि देश फर्किने कहिल्यै सपना देख्दैन । बरु, विदेशी भूमिबाट देशको थितिबारे प्रश्न गरिरहेकाे हुन्छ ।

नेपालमै बसेर अध्यापनमा लागेका प्राध्यापकहरु पनि लीको उमेरमा आइपुग्दा पछुताइरहेका छन्, किन समयमै विदेशको सपना लिइनँ वा त्यागें भनेर । जनगणनाको तथ्याङ्क हेर्दा नेपाल अहिले सक्रिय जनसंख्याको देशको रुपमा उन्मुख छ । जन्मदर कम हुँदा बालबालिकाको संख्या घटेको छ । ज्येष्ठ जनसंख्याको पिरामिड पनि साँघुरो छ । जनसंख्याको समग्र पिरामिड हेर्दा अहिले नेपाल जनसांख्यिक लाभ लिनसक्ने अवसरमा छ । विडम्बना ! राज्यको सक्रिय जनसंख्याको करिब पूरैजसो हिस्सा राज्यप्रति निराश र देशको सपना त्यागेर बाँचिरहेका छौं । देश छोडेर श्रम बेच्न सीमापारको यात्रा कुरिरहेका छौं ।

१५ लाख ५५ हजारभन्दा बढी परिवारबाट कम्तीमा एक व्यक्ति विदेशिएको तथ्याङ्क लिएर राज्य बसिरहेको छ । यसको अर्थ जनसांख्यिक लाभ राज्यभित्र होइन विप्रेषणउन्मुख छ । के हामीसँग ‘स्वदेश सपना’ हुने आधार छैनन् ?

कहाँ छ राज्य, कहाँ छौं नागरिक ?

फेरि चीनकै कुरा गरौं । मात्रै तीन-चार दशकको यो समयमा राज्यले एउटा सपना देख्यो- देश बनाउने सपना ।

चीनमा सन् १९४९ अक्टोबर १ मा कम्युनिष्ट पार्टी सत्तामा आयो । सन् १९२१ मा स्थापना भएको उसले राज्य र पार्टी संरचनालाई परिचालित गरेर सपना देखाउन सुरु गरेको सरकारमा सहभागिताको हिसाब गर्दा पनि जम्मा ७५ वर्षमात्रै भयो, तर आज विश्वलाई विकासको सपना बाँडिरहेको छ । समाजवादमार्फत आधुनिक समाज स्थापना गर्ने सपनामा सफल भएको छ । आकाशमा देखिएको रातो झण्डा हेरेर खुसीसाथ यहाँका प्रोफेसरदेखि गाइडसम्म, विद्यार्थीदेखि नेतासम्म समृद्ध स्वदेश र शक्तिशाली राज्यको विपनामै बाँचिरहेका छन् ।

हामी ‘अमेरिका सपनामा’ बाँचिरहेका छौं । बौद्धिक दक्ष पनि विदेश हिँडेपछि देश फर्किने कहिल्यै सपना देख्दैन । बरु, विदेशी भूमिबाट देशको थितिबारे प्रश्न गरिरहेकाे हुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यमात्रै कुरा गर्दा ९ करोड ८० लाख छन्, तर आफ्ना पार्टी सदस्यलाई होइन, एक अर्ब ४१ करोड जनसंख्या भएको देशले आफ्ना एकएक नागरिकलाई सपना समृद्ध बनाएर वर्तमान खुसी देखाइरहेको छ । जसरी हाम्रा गाइड माइकलले सपना देखे र तत्कालको विपना त्यागे । माइकल सन् २०१० मा चीनबाट अमेरिका पुगेका थिए । ३० वर्षे जवान केही कमाउन अमेरिका पुगेर दुई वर्ष त्यहाँको विद्यालयमा सांस्कृतिक अभियान चलाए । चीनको संस्कृतिबारे बुझाउँदै हिँडे ।

‘त्यो बेला अमेरिकामा जाँदा चीनबाट आएको भन्यो भने जापानको शहर भन्ठान्थे’, माइकलले देशलाई आफूसँग जोडेर सुनाए, ‘दश वर्षअघि मेरो देश अमेरिकामा चिनिँदैनथ्यो, तर मैले देश छोडिनँ । जहाँ परिवार, मेरो संस्कृति अनि घर छ, यही फर्किएँ ।’

माइकलको भ्याइनभ्याइको काम छ । काम नगरी खान पनि पाउँदैनन्, तर उनीसँग आफू हुनुको र राज्यप्रतिको गौरव छ । अमेरिका सपना कहिल्यै नदेखेकी प्रोफेसर ली अवाक बनेकी थिइन् । त्यसैगरी आफूले अमेरिकालाई कहिल्यै सपना नबनाएको माइकलले सुनाए ।

आफू हुर्किएसँगै अर्थतन्त्रमा दरिँदै गएको शहरको एकएक परिवर्तन अनुभूत गर्दै बसेकी प्राध्यापक ली अमेरिकाको प्रश्नमा अकमकिएपछि पेकिङ विश्वविद्यालयकी ली नामकै अर्की प्रोफेसर सीटबाट उठिन् । अनि भनिन्, ‘हामी सी चिनफिङलाई बुबा झैं मान्छौं । त्यसैले उनको अभिभावकत्व हाम्रो वर्तमान हो, अनि हामी व्यक्तिको होइन, देश बनाउने सामूहिक सपनामा बाचिँरहेका छौं ।’

उनकै शब्दमा- वी ह्याभ कमन ड्रिम !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *